विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ५० करोड ८२ लाखको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले बिहीबार दोस्रो अधिवेशनको पाँचौ गाउँसभामा सो बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेट वक्तव्यमा प्रशासनिक तथा संचालन खर्च ११ करोड ६८ लाख ८४ हजार र पूँजीगत ३८ करोड ३१ लख ९८ हजार बिनियोजन गरिएको छ । आम्दानीतर्फ आन्तरिक आय ५ करोड २० लाख, संघीय सरकारबाट समानीकरण अनुदान १२ करोड ८३ लाख, संघीय सरकारबाट सशर्त अनुदान १५ करोड ६४ लाख २० हजार, संघीय सरकारबाट राजश्व बाँडफाँड ९ करोड ७२ लाख, संघीय सरकार समपुरक अनुदान १ करोड ५० लाख, तराई मधेश समृद्ध कार्यक्रम अनुदान ९० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकार समानीकरण अनुदान ८० लाख ५३ हजार, प्रदेश सरकारबाट सशर्त अनुदान १ करोड ९१ लख ८८ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड ४९ लाख २१ हजार र प्रदेश सरकार समपुरक अनुदान १ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
गाउँपालिकाले कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । गाउँपालिकाले पूर्वाधार विकासको क्षेत्रमा ८ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरी सामाजिक विकासको क्षेत्रमा ४ करोड ८२ लाख ७५ हजार ८३०, संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनको क्षेत्रमा १ करोड ७२ लाख ८५ हजार, आर्थिक क्षेत्रको विकास एवम् उन्नतिका लागि १ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसैगरी संस्कृति प्रवद्र्धनको लागि २२ लाख ७० हजार, खेलकुद तथा मनोञ्जनमा २४ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
सोही अवसरमा गाउँपालिकाले ७ जना कर्मचारीलाई पुरस्कृत गरेको छ । सर्वोत्कृष्ट कर्मचारीबाट सव इन्जिनियर खेमराज सुवेदी पुरस्कृत भएका छन् । यसैगरी उत्कृष्ट कर्मचारीहरुमा प्रशासन शाखा प्रमुख जानकीप्रसाद अधिकारी, वडा सचिव भानुभक्त खनाल, सहायक पाँचौं ओम विक्रम कटुवाल, कार्यालय सहयोगीहरुमा नन्दन भट्टराई, सोफिन्द्र्र कामत र रिता गिरीलाई पुरस्कृत गरिएको छ ।
७८ बुँद्धे नीति तथा कार्यक्रम
कटहरी गाउँपालिकाले शिक्षा, कृषि, उद्योग र पूर्वाधारलाई मुख्य प्राथामिकतामा राखेर आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले ७२ बुँदे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिहीबार दोस्रो अधिवेशनको पाँचौं गाउँसभामा प्रस्तुत गरेका हुन् । उनले कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई मुख्य प्राथामिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको बताए ।
गाउँपालिकाले सबै बालविकास कक्षाहरुमा एलसिडी टिभी व्यवस्था गरी प्रविधिमैत्री शिक्षण शिक्षालाई अगाडि बढाउने भएको छ । यसैगरी विद्यालय उमेरका सबै बालवालिकाहरुको लागि सहज गुणस्तरीय शिक्षा उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले आगमी आर्थिक वर्षमा १५ शैय्याको अस्पताल निर्माण गर्ने भएको छ । १५ शैय्याको अस्पताल निर्माणको लागि न्यूनतम १५ कठ्ठा जग्गा निःशुल्क प्राप्त गर्ने प्रक्रिया सम्पन्न गरी संघीय सरकारसँगको सहकार्यमा अस्पताल निर्माण गरिने अध्यक्ष चौधरीले बताए । कृषकहरूलाई पशुहरूको विरामीको अवस्था जाँच गरी जुकाको औषधीदेखि एन्टिबायोटिक्स औषधीसम्म निःशुल्क वितरण गर्ने भएको छ ।