सम्पादकीय
कोशी प्रदेशमा मनसुन सुरु भएसँगै जनधनको क्षति भइरहेको छ । पूर्वी पहाडी जिल्लाहरु संखुवासभा, तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा परेको अविरल वर्षाको कारण कैयौंको घर बगाएको छ भने सयौं विस्थापित भएका छन् । बाढी पहिरोका कारण चालु आर्थिक वर्षमा नै ७ जनाको ज्यान गइसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपदबाट सबैभन्दा बढी कोशी प्रदेशमा प्रभावित हुने अनुमान गरेको छ । अघिल्लो वर्ष पनि मनसुन सुरू हुनेबित्तिकै ताप्लेजुङ, संखुवासभा र पाँचथरमा बाढीले क्षति पु¥याएको थियो । यसवर्ष पनि मनसुनको क्षतिबाट यि नै जिल्ला प्रभावित हुन थालेका छन् ।
यस वर्ष कोशी प्रदेशमा ४ लाख ९५ हजार ३५२ जना प्रभावित हुने अनुमान छ । एक लाख १३ हजार ३५३ घरधुरी प्रभावित हुने अनुमान छ । जसमध्ये २२ हजार घरधुरी प्रत्यक्ष प्रभावित र ५ हजार घरधुरीलाई उद्धार र राहत दिनुपर्ने गृहमन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । मनसुन प्रणालीको प्रभावले गर्दा नै मध्यमदेखि भारी वर्षा भएको छ । ठाउँठाउँमा पहिरो पनि गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै तीन दिनसम्म कोशी प्रदेशमा केही स्थानमा र मधेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । तथ्याङ्क अनुसार कोशी प्रदेशमा बाढी र पहिरोमा परी चालू आर्थिक वर्षको ११ महिनामा १७ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी ७ जना घाइते भएका छन् भने ४ जनाको अवस्था अझै अज्ञात छ । ७ करोड ६३ लाख ४३ हजार ५ सय रूपैयाँ बराबरको धनमालको क्षति भएको छ ।
यद्यपि कोशी प्रदेश सरकार भने विपद् व्यवस्थापनमा अलमल गरिरहेको पाइएको छ । प्रदेश सरकारले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना’ बनाउनु पर्ने थियो । तर, अहिलेसम्म मुख्यमन्त्री कार्यालयबाट उक्त योजना पारित भएको छैन । कार्ययोजनाको ड्राफ्ट बनाएर विपद व्यवस्थापन कार्यकारी समितिबाट पास गरेको भएपनि मुख्यमन्त्रीको अध्यक्षतामा रहने विपद परिषद समितिबाट पास हुन बाँकी रहेको जनाइएको छ । प्रदेश विपद परिषदमा पठाएर पास गरेपछि मात्रै प्रति कार्ययोजना पास हुनेछ । प्रदेश विपद परिषदको अध्यक्ष भने मुख्यमन्त्री हुनेछन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उक्त योजना पास गर्न तदारुकता देखाउनु जरुरी छ ।
सरकारले विपद्मा परेकाहरुलाई राहत वितरणमा पनि ढिलाइ भइरहेको गुनासो आइरहेको छ । अविरल वर्षाले पहाडी जिल्लामा क्षति पु¥याए पनि उद्धार र राहतलगायत व्यवस्थापनमा प्रदेश सरकारको खासै उपस्थिति नदेखिएको सर्वसाधरण पनि बताउँछन् । मनसुन सुरु मात्रै भएको छ । यसले भयावह रुप देखाउन बाँकी छ । बाढीको कारण खोज्ने, खोला किनारा र जोखिममा रहेका बस्ती सार्नेलगायत नीतिगत व्यवस्था पटकपटक हुने गरेको छ । तर, कार्यान्वयन भइरहेको छैन । जसका कारण प्राकृतिक विपदमा परेर धेरै सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । बर्सेनि आइपर्ने यस्ता प्राकृतिक प्रकोपबाट बच्न बेलैमा ध्यान नदिनु र अहिलेसम्म विपद् व्यवस्थापन सम्बन्धी कार्ययोजना नबनाउनु लज्जास्पद विषय हो । सरकारले आपतकालिन अवस्थालाई ध्यान दिएर बेलैमा नीतिगत व्यवस्था गर्नेतिर ध्यान दिनु जरुरी छ ।