बितेका ३३ बसन्त र अलिखित इतिहास

  मणि दाहाल

निर्दलियताको अन्त्य र दलियताको उदय भएको अवधिले ३३ बसन्त पार गरिसकेको छ । यस अवधिमा गणतन्त्र आयो । अधुरो रुपमै भएपनि संविधान आयो । सुरक्षणहिन तथा महेन्द्रवादी मोडेलकै भए पनि आरक्षण प्रणालीले खास नश्ल र लिङ्गलाई शासकमा विराजमान गराउने अवसर दिलायो । जनताको छोराछोरीले राष्ट्र प्रमुखमा बिराजमान हुने अवसर पाए । सिंहदरबार दुर दराजसम्म विस्तार भयो । यातायात र सञ्चारको क्षेत्रको विकासमा उल्लेखनीय प्रगति भयो ।
यातायात र सञ्चारको विकासले शहरीकरण र गगनचुम्बि महलको विकास गरायो । पहँुचवान लम्पट सर्वहाराहरुलाई सम्भ्रान्त वर्गमा स्थापित गरायो । कारण जे भए पनि समयको गति, परिवेश र मागसँगै विकास हुँदै आएका उल्लेखित सवालहरु राजनीतिक आन्दोलनकै देन हुन । तर ८४ वर्ष लामो राजनीतिक यात्राको मर्म यति मै सीमित थियो त ? राज्य व्यवस्थाको गति मर्म अनुरुपको छ त ? अनि शहिदको बलिदान र जनताको कुर्वानी मुताबिकको सामतामूखी समाज निर्माण भएको छ त ? यस्ता सवालमा समीक्षा जरुरी छ ।

राजनीतिक आन्दोलन पछिको पहिलो कार्यभार पश्चमनकारी शतिmको निस्तेजीकरण हो । दोस्रो कार्यभार सामाजिक तथा सांस्कृतिक रुपान्तरण हो । त्यसपछि मात्र बाँकी कार्यभार अघि बढ्दै जान्छन् । पञ्चायतको अन्त्य भएर बहुदल आगमन भै सकेपछि बहुदलबादीहरुले पश्चगमनकारी शतिmहरुलाई निस्तेज बनाउन चाहेनन् । पञ्चायती भूतहरुलाई नयाँ आवरणमा उदाउने अवसर दिए । उनीहरूका अपराधहरु सबै मिनाहा भए । उनीहरुलाई नयाँ ज्वाँइ बनाउन बहुदलबादीहरुको प्रतिस्पर्धा चल्यो । बहुदलवादीहरुको सत्तालिप्सा र मूल्यहिन प्रतिस्पर्धाले पञ्चायतका अपराधिहरु सिंहदरबारमा पालैपालो बिराजमान भए ।

प्रजातन्त्रको आगमन पछि सामाजिक तथा सांस्कृतिक आन्दोलनको आवश्यकता महशुस गरिएन । सामन्तवादी संस्कार र संस्कृतिलाई रुपान्तरण गरिएन । प्रगतिशिलता व्यवहार बनेन । सनातनी संस्कृतिलाई आधुनिकताको साँचोमा ढाल्न सकिएन । आयतित छाडावादले मौलिक संस्कृति धरासायी बनायो । अन्य क्षेत्रमा झै उदारीकरणले संस्कृतिक मूल्य मान्यता समाप्त बनायो । नीतिगत तहमा आसिनहरु आयतित संस्कृतिका बाहक बने । रुपान्तरणकारी शतिmहरु आयतित जलमा नुहाउन पुगे । यसो भै सकेपछि सांस्कृतिक भ्रष्टीकरणले समाजमा डेरा जमायो । संस्कृतिक भ्रष्टीकरण आम क्षेत्रको पथभ्रष्टताको कारक बन्यो ।

राजनीतिक व्यवस्थालाई कस्तो साँचोमा ढाल्ने भन्ने कुरा विद्यमान राजनीतिक दल, राजनेता र कार्यकर्तामा भर पर्छ । गणतन्त्रपछिको विकसित राजनीतिले कार्यकर्ता जन्माउन सकेन । दाश र अपराधका सर्जक मात्र जन्मायो । दलीय गलत तौर तरिकालाई जनताले खबरदारी गर्न सकेनन् । नेतृत्व स्वेच्छेचारी बन्दै गयो । राजनीतिक दलहरूमा क्रमशः दाश माथि दाश थपिदै गए । परजीविको बाहुल्यता भयो । यति भै सकेपछि गतिहीनता राज्यको दैनिकी बन्यो ।

गणतन्त्र स्थापना पछि वैचारिक गतिहीनताले घर जमायो । जिम्बेबारहरू विधि र बिचारबाट निर्देशित भएनन् । राजनीतिक दलहरु सिद्धान्त र कार्यभार दुबै क्षेत्रबाट बिमुख बने । दलहरूले जस्तालाई पनि माला पहि¥याउन पछि परेनन् । राजनीतिक दलहरुमा भीड मात्र जम्मा भयो । तर भीड गुणमा रुपान्तरण भएन । विचार शून्य व्यक्तिवाद हाबी भयो । नेत्ता गुटको थाँग्रो बने । कार्यकर्ता थाँग्रोमा लहरिए । राजनीति पेशा बन्यो । पञ्चायतको अङ्ग बनेको भ्रष्टाचार बहुदलीय शासनको मूल मन्त्र बन्यो ।
राजनीतिक आन्दोलनले पञ्चायत फाल्यो, राजतन्त्र फाल्यो । एकात्मक शासन प्रणलीलाई फाल्यो । तर, जनताको भोक, रोग र अभावग्रस्त जीवनशैली फाल्न सकेन । यो अवधिमा देशले अतुलनीय प्रगति गरिसक्नु पर्ने हो । आर्थिक, सामाजिक र संस्कृतिक रुपमै सम्बृद्ध नेपाल र सुखी नेपाली बन्नु पर्ने हो । सरोकारी निकायका जिम्मेवारहरू इमान्दार र कर्तव्यनिष्ट बन्नुपर्ने हो । तर यसो हुन सकेन । यसको कारण खोतलेर त्यसलाई निस्तेज बनाउने प्रयास अझै गरिएको छैन ।

राजनीति गन्तव्यको मार्गदर्शक हो । आसा भरोसाको निर्देशक हो । भरोसाले आत्मविश्वास र आत्मविश्वासले नागरिकलाई कर्तव्यबोध गराउँछ । कर्तव्यनिष्टताले अमन चैन र सुशासनपूर्ण समाजको निर्माण गर्छ । अनि सुशासनपूर्ण समाजमा सम्वृद्धिका अवसरहरू एक से एक रूपमा देखा पर्छन् । राजनीतिक निष्ठा, आदर्श र व्यवहारसँग जोडिएका उल्लेखित सवालहरु जीवन र जगतका आधारहरु हुन । राजनीतिको सहि गोरेटोले मात्र यूगको आवश्यकतालाई सम्बोधन गर्छ । तर पाका र अनुभवले खारिएका राजनीति दल भित्र हाबी भएको कुमतीको आहालले राजनीतिलाई कुबाटोमा अग्रसर गरायो ।

जनताअघि राजनीतिपछिको अराजक अवस्थाले देशलाई बर्बादी शिवाय अरु दिनै सक्दैन । गणतन्त्र स्थापनापछि लोकतन्त्रको छातामा दलीय अराजकता मौलायो । दलीय अराजकताले नागरिक अराजकता सिर्जना ग¥यो । बौद्धिक भनिनेहरुले स्वार्थको आहालमा डुबुल्की मारे । दलका कार्यकर्ताहरू झोले मात्र बने । तर विकृत पक्षको प्रतिरोधी दस्ता बन्न सकेनन् । सर्वव्यापक अनुशासन हिनताले कोही कसैको नियन्त्रण र विश्वासमा भएन र छैनन् ।

पुराना राजनीतिक दलहरुसँग सकारात्मक पक्षको खडेरी छ भनेर मात्र बुझियो भने त्यो पूर्वाग्रही सोच हुन्छ । अझै पनि ति दलहरुसँग राम्रा पक्षहरु छन् । ओझेलमै परेर बसेका भएता पनि राम्रा व्यतिmहरु छन् । इमान्दार शुभचिन्तक छन् । तर, जनतालले तिनीहरुलाई चिन्दैनन र चिने पनि दलभित्रका लुटाहा वर्ग शिवाय जनताले अरु पत्याउँदैनन् । नराम्राबाट शासित हुँदै आएका जनता नराम्रा मात्र चिन्न र नराम्रालाई नै स्वागत सम्मान गर्न बानी परेका छन् । समय नआउँदासम्म परिवर्तनमुखी हुने र समय आउँदा नराम्राकै पक्षमा दौडनु जनताको सनातनी धर्म बनेको छ । स्वार्थ, लोभ र मोहको बन्धक बनेर लैबरी नाचमा नाच्ने जनताको सनातनी संस्कारले गर्दा नराम्रामध्येका अझै नराम्रा दलका प्रिय पात्र बनेका छन् । यसो भइसकेपछि देश कसरी उँभो लाग्छ ? यथार्थलाई स्विकार नगरी सम्मृद्ध नेपाल कसरी बन्छ ?

राजनीतिलाई विचार र विचारलाई व्यवहारले मार्गनिर्देश गर्छ । विचार शून्यताले युगको आवश्यकता र चुनौतिको सामना गर्न सक्दैन । शून्यतामा सामूहिकतावाद हराएर जान्छ । एकाङ्कीवादले व्यक्ति व्यक्ति गरेर समाजलाई नै एकाङ्की बनाउँछ । सामूहिक सोच र दृष्टिकोण बिनाको समाजमा साधु बिरालाहरुले राज गर्छन् । कतै हामी पनि एकाङ्कीवादको दलदलमा फसेका त छैनौं ? जवाफ आफैं खोजौं ।

बुधबार, ०६ असार, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर