सम्पादकीय
कोशी प्रदेशको नामकरणपछि प्रदेशमा उत्पन्न भएको विवादको कारण पछिल्लो एक वर्ष कोशी प्रदेश असान्त जस्तै रह्यो । आन्दोलन, विरोध, तोडफोड, कालोझण्डा मात्र भएर आन्दोलनको क्रममा पहिचानवादी एक जनाको निधन नै भयो । पहिचानको आन्दोलन चलेकै बेला प्रदेशमा धार्मिक द्वन्द्वका संकेतहरु पनि देखिए । यद्यपी त्यसलाई सरकार र प्रशासनले बुद्धिमतापूर्ण रुपमा सेटल गर्न सफल रह्यो । पहिचानको आन्दोलन पनि सरकारसँगको वार्तापछि सेफल्याण्डिङ भएको छ । यद्यपी चुनौति अझै सकिएको छैन । दुई दिनसम्म चलेको कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा पनि प्रदेशमा अझै धार्मिक र जातीय द्वन्द्वका घटनाको चुनौति रहेको निष्कर्ष निकालिएको छ ।
धर्म र जातको आधारमा द्वन्द्व बढाउने गतिविधि अझै नरोकिएको विषय सुरक्षा निकायका प्रतिनिधिहरुले ठहर गरेका छन् । मंगोल अर्गनाइजेसनको गतिविधि, जसपा विभाजनले पार्नसक्ने असर, पहिचानको मुद्दा उठाउनेहरुको गतिविधि जारी रहेको, राजेन्द्र महतोले थालेको अभियानलगायतका विषयमा केन्द्रीत गरेर सुरक्षा गोष्ठिमा छलफल हुँदा तत्काल यी विषय समाधान गर्न नसके पछि समस्या बढ्ने विषय सहभागीले औल्याएका थिए । ठगी, मिटरब्याजी, लघुवित्त, सहकारीको हिनामिना, दुर्गा प्रसाईको अभियान पनि अझै थ्रेटको रुपमा लिइएको छ । प्रदेशमा भारी वर्षाले हुनसक्ने क्षति र विपद्को व्यवस्थापनको विषयमा पनि छलफल भएको थियो ।
कोशी प्रदेशमा सामाजिक, धार्मिक सद्भाव एवं भाइचारा हिसाबले संवेदनशील रहेको छ । यद्यपी पछिल्लो समय प्रदेशका आम नागरिकले सकारात्मक सहयोग गरेका छन् । जसको कारण विगतमा केही समस्या देखिएको पनि अहिले शान्त छ । अब पनि त्यसखालको घटना हुन नदिनका लागि सुरक्षा निकाय र आम प्रदेशबासी पनि सचेत र सतर्क रहनुपर्छ । प्रदेश सरकारहरुले प्रभाबकारी रुपमा काम गरेपनि प्रदेशमा अझै संघीय सरकारले प्रहरी हस्तान्तरण गरेको छैन । प्रहरी समायोजन ऐन बनाएर प्रहरी हस्तान्तरणको मोडालिटी तयार भएपनि केन्द्रिकृत मानसिकताको कारण प्रहरी हस्तान्तरण हुन नसकेको हो । प्रहरी हस्तान्तरण भएर आएमा प्रदेश सरकारले यहाँको शान्ति सुरक्षाको बहालीमा अझै प्रभाबकारी काम गर्नसक्ने अवस्था रहन्छ । किनकि प्रदेश सरकारले सुरक्षा निकायको सललिकरणको लागि विगतदेखि नै काम गर्दै आएको छ । स्थानीय प्रशासनले कानुन कार्यान्वयनमा पूर्ण सक्रियताका साथ काम गर्ने र तीनै तहका सरकारबीच सहकार्य गरेर अगाडि बढ्ने अवस्था भएमा भोलिका दिनमा देखा पर्ने चुनौतिहरु सहजै पार लगाउन सकिन्छ ।