माथिको आदेशको भरमा नलाग्न मुख्यमन्त्री कार्कीको आग्रह

पाँच अग्रज पत्रकार सम्मानित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले काठमाडौंमा हाछ्युँ आउँदा प्रदेशका नेताहरू अस्पताल भर्ना हुने गरेको व्यङ्ग्य गरेका छन् । विराटनगरमा सोमबार आयोजित पत्रकारिता दिवस तथा पत्रकार सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले माथिको आदेश मात्रै पालना गर्ने हो भने नेताहरु डाइनोसर हुने दाबी गरे ।

‘यस्तो तरिका अपनाउने हो भने डाइनोसर जस्तो नाश भइन्छ,’ उनले भने, ‘संघीयतालाई बलियो बनाउने हो भने आदेश र परमादेशलाई भन्दा आफ्नो विवेकका अधारमा अगाडि बढ्नुपर्छ ।’ उनले सहमतिको सरकार गठन गर्न पनि आफू तयार रहेको बताए । ‘मुख्यमन्त्री अहिले पनि तयार छ । आउनुहोस् म खुल्ला छु । प्रदेशको समृद्धि, विकास र जनताको चाहनामा परिवर्तन गर्ने कुरामा एकरुपता दिएर अगाडि बढौं,’ उनले भने । उनले श्रमजीवि पत्रकारको क्षमता विकासका लागि प्रदेश सरकार लाग्ने बताए । उनले कोशी प्रदेश आमसञ्चार विधेयक पारित गर्न सरकार तयार रहेको उनले बताए ।

सो अवसरमा बोल्दै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले लोकतन्त्र र गणतन्त्र ल्याउन पत्रकारले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रमको अवसरमा अग्रज पत्रकारहरु मोरङका अनन्तराज न्यौपाने, उदयपुरका महेश्वर चाम्लिङ राई, धनकुटाका रमेशचन्द्र अधिकारी, झापाका भीम नेम्वाङ र सुनसरीका पिबी दियालीलाई जनही १ लाख रुपैयाँ सहित सम्मान गरिएको थियो । प्रत्येक वर्ष पत्रकारिता दिवसको अवसर पारेर प्रदेश सरकारले उक्त पुरस्कार अग्रज पत्रकारहरुलाई समर्पण गर्दैै आएको छ । कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्यमन्त्री प्रदिपकुमार सुनुवार, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी पौडेल, पत्रकार महासंघ कोशी प्रदेशका कार्यबहाक अध्यक्ष लवदेव ढुंगानालगायत कर्मचारी तथा संचारकर्मीहरू सहभागी थिए ।

सोमबार, २४ बैशाख, २०८१, साँझको ०६:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर