इलाम उपनिर्वाचन पहिचानवादीलाई सान्त्वना, रास्वपा र राप्रपाको विजोक

विराटनगर । ‘इलाम गएँ भने म एक पैसा पनि खर्च । गर्दिन पानी पनि बरू बोकेर जान्छु…. म इलामे भनेपछि नाम लिन्न,’ राप्रपाका कार्यकर्ता पर्शु सुवेदीले इलामको उपनिर्वाचन लक्षित गर्दै सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेखेका छन् ।

गणतन्त्रात्मक व्यवस्था परिवर्तन गर्ने, राजा ल्याउने र संघीयता खारेज गर्ने एजेण्डा बोकेको राप्रपालाई इलाम र बझाङको उपनिर्वाचनले उल्टो सन्देश दिएको छ । किनकी इलाममा पहिचानवादीले १६.५३ प्रतिशत मत ल्याउँदा राप्रपाले १ प्रतिशत पनि कटाउन सकेन ।
यस्तै प्रदेशप्रति अनुदार देखिँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थ्रेस होल्ड कटाउन पनि सकेन । पहिचानवादी उम्मेद्वार डकेन्द्र सिंह लिम्बू (थेगिम), रास्वपाका मिलन योङहाङ (लिम्बू) र राप्रपाका लक्ष्मी गुरुङले पाएको मतको हिसाव हेर्ने हो भने इलामले पहिचानवादीलाई सम्मानजनक मत दिएको छ । रास्वपाको अनपेक्षित र राप्रपाको भने लज्जास्पद मत परिणाम आएको छ ।

यो मत परिणामले पहिचानको पक्षमा सकारात्मक सन्देश दिएको राजनीतिक विश्लेषक डम्बर खतिवडा बताउँछन् । ‘रास्वपाले राष्ट्रिय राजनीतिमा जुन प्रभाव देखाउन खोजेको थियो । त्यो पुरा भएन । चितवन र तनहुँमा देखाएको जस्तो प्रभाव इलाममा देखिएन,’ खतिवडाले भने, ‘पहिचानवादीहरुले राम्रो भोट ल्याए । त्यहाँ पहिचानवादीले ल्याएको भोट भनेको १६.५३ प्रतिशत हो । त्यो भनेको धेरै भोट हो । राष्ट्रिय राजनीतिमा भन्ने हो भने माओवादीले ११ प्रतिशत र रास्वपाले १० प्रतिशत मात्रै मत ल्याएका छन् ।’

इलामकै हिसावले देशव्यापी पहिचानवादीको मत १७ प्रतिशत हाराहारीमा छ भन्ने मान्ने हो र त्यो एक ठाउँमा हुने भने त्यो त ठूलो राजनीतिक पार्टी बन्ने उनको दाबी छ । ‘अहिले गणितमा उनीहरुले हारेपनि राजनीतिमा पहिचानवादीले जिते जस्तो लागेको छ । कोशीमा पहिचानवादीहरु उत्साहित हुने देखियो,’ खतिवडाले भने । खतिवडाका अनुसार राजावादीहरुले भोट ल्याउन नसक्ने पनि देखियो । ‘राजावादीहरुले त १ प्रतिशत पनि मत ल्याएनन् । यसले संघीयता खारेज गर्ने र राजतन्त्र फिर्ता ल्याउने भन्ने एजेण्डाले काम गर्छ जस्तो लाग्दैन । बझाङ र इलामको उपनिर्वाचनले चाहिँ राप्रपाको हालत एउटै प्रकारको देखिएको छ,’ उनले भने ।

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले पनि यो निर्वाचनले एमालेलाई हौसला मिलेको बताए । ‘यो निर्वाचनले एमालेलाई हौसल्ला दियो । आगामी निर्वाचनमा एक्लै लड्छौं भन्ने काँग्रेस नेता शेखर कोइराला, गगन थापाको सोचलाई यो निर्वाचनले नराम्रोसँग झड्का दियो । बझाङमा त उनीहरुले सिट नै गुमाए,’ पोखरेलले भने ।

उनले उपनिर्वाचनले पहिचान पक्षधरहरुमा राम्रो सन्देश गएको बताए । ‘पहिचान पक्षधरहरुको लागि चाहिं पक्षमा राम्रो सन्देश दियो । पहिचानपक्षधरहरु एक गठ भएर पार्टी बनाएर आए भने कोशी प्रदेशमा राप्रपाभन्दा बढी मतका साथ आउने देखियो,’ पोखरेलले भने, ‘रास्वपालाई नराम्रोसँग झड्का लाग्यो । नागरिकता र पासपोर्टसम्मको इस्युलाई जनताले गम्भीर रुपले लिएनन् । तर, सहकारीको इस्युमा भने जनताले गम्भीर रुपमा लिएको देखियो । उक्त पार्टीको आगामी यात्रा झनै चुनौतिपूर्ण देखियो ।’ राप्रपा अघिल्लो निर्वाचनमा पनि जमानत जफत भएको पार्टी भएको भन्दै बाहिर हो हल्ला गरेर मात्रै नहुने पोखरेलले बताए । ‘राप्रपाको मत एक हजार पनि नपुग्नु भनेको नराम्रो हार हो,’ पोखरेलले भने ।

पहिचानवादी नेता संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले उपनिर्वाचनले आफूहलाई नयाँ लेसन दिएको बताए । ‘पहिचानवादीहरु एकताबद्ध भए जनताले भोट दिँदा रहेछन् भन्ने लेसन भयो । आगामी दिनमा हामी पहिले स्थानीय तह निर्वाचनमा प्रयोग गर्ने र त्यसपछि केन्द्र र प्रदेशको निर्वाचनमा प्रयोग गर्ने भन्नेतिर हामी गयौं,’ लिङ्देनले भने, ‘यो मत सम्मानजनक हो । जनतालाई हामीले धेरै धन्यवाद दिन्छौं । पहिलो चरणमा, कम समयमा १० हजार प्लस भोट दिनु भनेको राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पनि हामीलाई ठूलो सम्मान र इज्जत दिएको छ । अब एकताबद्ध र मोर्चाबन्दी भएर हामी जान्छौं । हामीलाई उत्साहित बनाएको छ ।’

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका संयोजक समेत रहेका उपनिर्वाचनका उम्मेद्वार थेगिमले पनि उपनिर्वाचनको परिणामलाई आफूले सकारात्मक ढंगले लिएको बताए । ‘यसलाई मैले एकदमै सकारात्मक रुपले लिएको छु । पहिचानको मुद्दा स्थापित भएको छ । ६०–७० वर्ष पुराना पार्टीसँग प्रतिस्पर्धा गर्दै तेस्रो स्थान ल्याउनु भनेको ठूलो कुरा हो । त्यो पनि १५ दिनको तयारीमा हामी लडेका हौं,’ थेगिमले भने, ‘हामी यसलाई उत्साहपूर्ण ढंगले एउटा लेसन लिएर अगाडि बढ्छौं । आगामी दिनमा समीक्षा गर्दै अझै मत बढाउने ढंगले हामी अगाढि बढ्छौं । हामी राष्ट्रियस्तरको पार्टी निर्माणको दिशामा अगाडि बढ्छौं । पहिचानको विषय पूर्वदेखि पश्चिमसम्मै रहेको छ । त्यहाँका पहिचानवादीहरुलाई समेटेर हामी नयाँ पार्टी निर्माणको दिशातर्फ जाने प्रयास गर्नेछौं ।’

बुधबार, १९ बैशाख, २०८१, बिहानको ०७:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर