विराटनगर । शनिबार सम्पन्न इलाम– २ को उपनिर्वाचनको मत गन्ने तयारीका लागि सर्वदलीय बैठक बसिरहेको छ ।
बैठक सकिएपछि मतगणना शुरू हुने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
सबै मतदान केन्द्रबाट मतपेटिकाहरू भने राति नै इलाम बजारस्थित गौतम बुद्ध सभाहलमा ल्याइसकिएको छ । मतगणनास्थल भने शनिबार नै तयारी अवस्थामा राखिएको थियो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ यादवले बताए । मतगणनास्थलमा तारले घेरेर सीसीटीभी जडानसमेत गरिएको छ ।
जालीबाहिर बसेर उम्मेदवारका प्रतिनिधिले हेर्न पाउने व्यवस्था मिलाइएको उनले बताए ।
शनिबार साँझ ५ बजे सम्पन्न इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।
एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान गर्नेमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र २ जना अन्य छन् । महिलाको तुलनामा मतदान गर्ने पुरुषको संख्या ९८५ जना बढी छ ।
इलाम–२ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए