विराटनगर । निर्वाचन आयोगका अनुसार इलाम–२ को उपनिर्वाचनमा झण्डै ६० प्रतिशत मतदान भएको छ । प्रनिधिसभा सदस्य उपनिर्वाचनका लागि इलाम नगरपालिकाको ११ वटा वडा, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ३ वटा वडाका १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन् ।
आयोगले दिएको जानकारी अनुसार इलामका ११ वटा वडाका ३२ हजार ४४१ जना मतदातामध्ये २० हजार ६६५ अर्थात् ६३.७० प्रतिशतले मतदान गरेका छन् । यस्तै देउमाई नगरपालिकाका २७ हजार ९६९ मतदातामध्ये १५ हजार ९८० जनाले अर्थात् ५७.१३ प्रतिशतले मतदान गरे ।
यस्तै फाकफोकथुम गाउँपालिकाका १६ हजार ३०२ मतदातामध्ये ९ हजार ६०४ (५८.९१ प्रतिशत), माङ्सेबुङ गाउँपालिकाको १२ हजार ५६३ मतदातामध्ये ७ हजार २०३ (५७.४८ प्रतिशत), चुलाचुली गाउँपालिकाका १८ हजार ५४५ मतदातामध्ये ११ हजार १९८ (६०.३८ प्रतिशत) र माई नगरपालिकाको ६, ७ र ८ नम्बर वडाको ८ हजार ९६ मतदातामध्ये ४ हजार ६३४ (५७.२४ प्रतिशत)ले मतदान गरेका छन् । उपलब्ध तथ्याङ्कले सबैभन्दा बढी मतदान भने इलाम नगरपालिकाबाट भएको छ ।