विराटनगर । प्रचारप्रसारको समय दुई दिन बाँकी छँदा वैशाख १५ गते हुने उपचुनावको रौनकले इलाम–२ छोपिएको छ । १२ दलका र ७ स्वतन्त्र गरी १९ जना चुनावी मैदानमा रहेको इलाम २ मुख्यतयः चार उम्मेदवारको चर्चा छ ।
नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बर खड्का, पहिचानवादी स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिं थेगिम र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूबाहेक अरु चर्चामा छैनन् । चिया पसल र चौतारामा हुने जितहारको बहसमा चार उम्मेदवारकै चर्चा छ । बाँकी उम्मेदवारको न प्रचार देखिन्छ न चर्चा ।
इलाम बजार र गाउँबस्तीमा पुग्दा अधिकांश मान्छेको बुझाइ र विश्लेषण मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुने सुनिन्छ । तर, पहिचानवादी नेता स्वतन्त्र उम्मेदवार थेगिमको ‘मुढा’ र रास्वपाको ‘घण्टी’ को पनि चर्चा कम छैन ।
इलाम बजारमा घण्टीको चर्चा रहेपनि गाउँबस्तीमा ‘मुढा’ माहोल छ । कांग्रेस र एमालेको हाराहारी नै देखिन्छ भने मुढाको माहौल भने रास्वपाले पनि सबै नेताहरु मैदानमा उतारेर चुनाबी प्रचार गरिरहेको छ ।
एमाले उम्मेदवार सुहाङलाई इलाम २ मा एमालेको सांगठनिक शक्ति, बाबु सुवास नेम्बाङको विरासतसँगै माओवादी केन्द्र र नेकपा विप्लव समूहको साथ छ । विगतको निर्वाचनको अंकगणित हेर्दा स्थानीय तहको निर्वाचनको वडाको मतमा काँग्रेस र एमाले बराबरी अवस्थामा देखिन्छन् भने प्रतिनिधिसभाको समानुपातिक मतको आधारमा एमाले धेरै अगाडि छ । वडामा कांग्रेसले ३२ हजार ९७८ र एमालेले ३२ हजार ५२७ मत पाएकोमा गत वर्ष मंसिरको आम चुनावमा समानुपातिकतर्फ एमालेको २६ हजार ५६२ र कांग्रेसले २२ हजार ३३३ मत छ ।
२०७९ को चुनावमा एमालेका सुवास नेम्वाङसँग कांग्रेस डम्बर खड्का ११४ मतले पराजित भएका थिए । त्यसबेला खड्कालाई माओवादी र एकीकृत समाजवादीको साथ थियो । अहिले खड्का एक्लै मैदानमा छन् भने सुहाङलाई माओवादीले साथ दिएको छ । एकीकृत समाजवादी भने आफ्नै उम्मेदवारसहित चुनाबी मैदानमा छ ।
एमाले उम्मेदवार ३४ वर्षीय सुहाङप्रति युवा पुस्ताको राम्रो आकर्षण देखिन्छ । प्रचार अभियानमा सुहाङसँग फोटो खिच्नेको लाम लाग्ने गरेको छ । तर, चुनावी मैदानमा सुहाङ स्वर्गीय सुवासको ब्राण्डले थिचिएको देखिन्छ । सुहाङको परिचयन एमाले उम्मेदवार भन्दा सुवासका छोरा भन्ने छ ।
एमालेलाई एमाले पृष्ठभूमिका डेकेन्द्रसिं थेगिमको मुढा र एकीकृत समाजवादीले आफ्नो मत काट्ने डर छ । एमालेको जनमत रहेको माङ्सेबुङ फाकफोकथुम, चुलाचुली माई नगरपालिकाको को ६, ७, ८ नम्बर वडामा थेगिमले मुख्य प्रभाव छ । उनलाई किराँत याक्थुङ चुम्लुङ र किराँत राई यायोक्खासहित ४१ वटा जातीय संस्थासहित जसपा नेपाल समाजवादी पार्टीको समर्थन छ । धरानमा स्वतन्त्र निर्वाचित मेयर हर्क साम्पाङदेखि जनजाति कलाकर्मीको पनि उनलाई साथ छ ।
एमालेलाई पछिल्लो समय कांंग्रेसमा देखिएको एकताको सन्देशले तर्साएको छ । एमाले इलामका अध्यक्ष महेश बस्नेतले कांग्रेसमा एकता देखिनुले चुनौती बढेको स्वीकार गर्छन् । काँग्रेस सभापति शेरबहादुर देउवा निकट खड्कालाई उम्मेदवार बनाउन नहुने भन्दै डा.शेखर कोइराला समूहले अन्तिमसम्म प्रयास गरेको थियो । तर, उनैलाई टिकट दिएका देउवा चुनाबी प्रचारमा आएका छैनन् ।
बरु डा.कोइरालादेखि गगन थापालगायतका नेता र कार्यकर्ता खड्को चुनाबी अभियानमा सक्रिय छन् । आर्थिक रुपमा सबल रहेका खड्कालाई कतिपय पुराना आफ्नै समस्याले भने पिरोलेको देखिन्छ ।
निर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमको चर्चा ग्रामिण क्षेत्रमा धेरै छ । २०७९ को प्रतिनिधि सभा निर्वाचनलाई आधार मान्ने हो भने सो क्षेत्रमा थेगिमलाई समर्थन गर्ने दलहरूको समानुपातिकतर्फ करिब ४ हजार मात्र मत छ । तर, उनको आक्रामक चुनाबी प्रचारले एमाले र काँग्रेसलाई पनि झस्काएको छ ।
थेगिमले मतदाता तान्न कलाकारहरू उत्तिकै प्रयोग गरेका छन् । कार्यक्रमहरूमा कलाकारको प्रस्तुति र जनजाति संस्कृति झल्किने पोसाक अनिवार्यजस्तै देखिन्छ । पहिचान आन्दोलनका लागि युवा दस्ताको मार्चपास नियमित छ । थेगिमको चुनावी अगुवाहरूमा आत्मविश्वास र ऊर्जा देखिन्छ ।
आन्दोलनकै झल्को दिने गरी पहिचानको मुद्दालाई सशक्त पारिएको छ । आदिवासी र मूलवासीहरूको आत्मसम्मानमा चोट पारिएको उनीहरूको तर्क छ । हरेक कार्यक्रममा पहिचानको आन्दोलनमा सहिद भएकाहरूको नाम लिइन्छ र राज्यविरुद्ध विद्रोही आवाज मुखरित गर्ने गरिएको छ । उनलाई सहयोग गर्न १४ वटै जिल्लाका पहिचानवादीहरू खटिएका छन् । तर, आफ्नै संगठन नहुनु उनको चुनौती रहेको देखिन्छ । पहिचानलाई जातीय राज्यको रुपमा बुझ्ने भाष्य चिर्न नसक्नु उनको अर्को चुनौती हो ।
पहिचान र संघीयताबारे रास्वपाको कमजोर प्रतिवद्धताले थेगिमलाई फाइदा पुग्ने देखिन्छ । रास्वपाका उम्मेदवार मिलन लिम्बू स्पष्टिकरण दिनमा हैरान छन् । पार्टी परिवर्तन, पहिचानबारे उनले दिएको उग्र अभिव्यक्ति, संघीयता र पहिचानबारे रास्वपाको अस्पष्टता मात्र नभएर पार्टी सभापति रवि लामिछानेसहितका नेताहरु मुछिएका विभिन्न काण्डबारे उनले मतदातामाझ स्पष्टिकरण दिनुपरेको देखिन्छ ।
इलाम २ मा इलाम नगरपालिकाको वडा १० बाहेक सबै, देउमाई नगरपालिकाका सबै वडा र माई नगरपालिकाका ६, ७ र ८ वडा छन् भने चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिकाका सबै वडा गरी ६ वटा पालिकाका ४२ वटा वडा छन् । इलाम नगरपालिकामा (१० वडा बाहेक) ३४ हजार ४५, देउमाई नगरपालिकामा २६ हजार ३६५ र माई नगरपालिकाका ६, ७ र ८ वडामा ८ हजार ९६ मतदाता छन् । यसैगरि चुलाचुली गाउँपालिकामा १८ हजार ५४५, माङसेबुङ गाउँपालिकामा १२ हजार ५३६, फाकफोकथुम गाउँपालिकामा १६ हजार ३०२ गरी कुल १ लाख १५ हजार ८८९ मतदाता सो क्षेत्रमा छन् ।
चुनाबी प्रचारमा देखिएको मनोविज्ञान र अहिलेसम्मको अवस्थाले इलाम–२ को मतपरिणाम अनपेक्षित आउने अनुमान धेरैले गरेका छन् । ‘पुरानो मतको तथ्यांक हेरेको भरमा निष्कर्ष निकाल्न सम्भव छैन । जनताले परिवर्तन चाहेको संकेत मिलेको छ’ इलाम क्याम्पसका एक प्राध्यापकले भने, ‘जित्न त कसले जित्छ, यकिन छैन । तर, रिजल्ट हिजोको जस्तो चाहिँ नआउन सक्छ ।’
चार उम्मेदवारबीचको चर्चामा मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेसबीच हुने धेरैको बुझाइ छ । एमाले र काँग्रेसले पनि एकअर्कालाई प्रतिस्पर्धी ठानेका छन् । तर, घण्टी र मुढाले दबाबमा राखेको उनीहरु स्वीकार गर्छन् । यो पृष्ठभूमिमा नयाँ दल र स्वतन्त्र उम्मेदवारप्रति मतदातामा बढ्दो आकर्षणले नतिजामै नयाँपन देखिने संभावना नकार्ने अवस्था देखिन्न ।