कोशी सरकार परिवर्तनको प्रक्रिया तीन दिनभित्र सुरु हुने, यस्तो छ तयारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार परिवर्तनको प्रक्रिया अगाडि बढ्ने भएको छ । नेकपा एमाले र नेकापा माओवादी केन्द्रबीच आइतबार भएको छलफल सरकार परिवर्तनको प्रक्रिया अगाडि बढाउन सकारात्मक भएको नेताहरुले बताएका छन् ।

आइतबार दुई पार्टीका नेताहरु हिक्मतकुमार कार्की र इन्द्रबहादुर आङ्बोबीचको छुट्टाछुट्टै छलफलपछि अन्य नेतासहित सामुहिक छलफल भएको थियो । छलफलमा एमालेबाट कार्कीसहित उपनेता रामबहादुर राना मगर र दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी तथा माओवादी केन्द्रबाट नेता आङ्बोसहित सांसदहरु जीवन आचार्य, दुर्गाप्रसाद चापागाईं र बाबुराम गौतम सहभागी थिए । नेताहरुबीच शुक्रबार पनि छलफल भएको थियो ।

आइतबार प्रदेश सरकार परिवर्तनको लागि चाल्ने कदमको विषयमा छलफल भएको नेताहरुले बताएका छन् । ‘नयाँ सरकारमा आलोपालो कसरी गर्ने ? बजेट, नीति तथा कार्यक्रम, सरकारका विभिन्न निकायमा हुने राजनीतिक नियुक्तिको भागबण्डा र संसदीय समितिको सभापति चयनलगायतका विषयमा छलफल भयो,’ माओवादी नेता आङ्बोले भने, ‘निष्कर्ष निकाल्न प्रदेशका पार्टीका इञ्चार्ज र अध्यक्षहरुसहित बैठक बस्ने सल्लाह भएको छ ।’

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने आलोपालोको कुरा शीर्ष नेताहरुले टुंग्याउने विषय भएकोले यहाँको नियुक्ति, बजेटलगायतका विषय छलफल गरेरै टुंगो लाग्ने बताएका छन् । आइतबारको छलफलमा नेकपा (एकीकृत समाजवादी), जसपा लगायतका साथीहरु आउन नभ्याएकोले सोमबार अर्को छलफल हुने उनले जानकारी दिए ।

बैठकमा सहभागी एक नेताका अनुसार केदार कार्की नेतृत्वको सरकार ढाल्नका लागि एकैपटक चार कदम चाल्ने सहमति भएको छ । ‘हामीले एकैपटक चार कदम चाल्ने तयारीमा छौं’ ती नेताले भने, ‘केदार कार्कीको नेतृत्वको सरकार अब लामो जाँदैन ।’ उनका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने, नयाँ मुख्यमन्त्रीसहितको दाबी प्रदेश प्रमुखसमक्ष पेश गर्ने, संसदको विशेष अधिवेशन बोलाउने र मन्त्रीहरुले राजीनामा दिने सबै काम एकै दिन हुनेछ ।

चार कदमा गठबन्धनले चालेपछि काँग्रेसको संसदीय दलले मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गर्र्ने सम्भावना रहेको गठबन्धनको दावी छ । मुख्यमन्त्री कार्कीले भने आफूले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने बताउँदै आएका छन् ।

केन्द्रीय सत्ता गठबन्धनले कोशी प्रदेशमा एमाले नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेको छ । गठबन्धनको सहमति अनुसार कर्णाली, बाग्मती, लुम्बिनी र गण्डकीमा सरकार निर्माण भइसकेकोले कोशीमा छिटोभन्दा छिटो नयाँ सरकार निर्माण गर्न एमालेको दबाब छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार विस्थापित गरेर पुनः सोही उपधारा अनुसार सरकार गठन गर्ने विषयमा दलहरुबीच लगभग सहमति भइसकेको स्रोतले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयले पनि सरकार फेरबदलका लागि हुनसक्ने विभिन्न प्रयासको विषयमा छलफल गरिरहेको छ ।

स्रोतका अनुसार समर्थन फिर्ता लिएको रेकर्ड कायम भएपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिन प्रदेश प्रमुखको कार्यालयले पत्र पठाउने र सो अबधिभित्र मुख्यमन्त्रीले विश्वासको मत नलिएमा ३१ औं दिनमा नयाँ मुख्यमन्त्री नियुक्त गर्नुपर्ने दलहरुले प्रदेश प्रमुखलाई अडान राखेका छन् । प्रदेश प्रमुखले नयाँ मुख्यन्त्रीलाई नियुक्ति दिएको खण्डमा हालका मुख्यमन्त्री केदार कार्की सर्वोच्च जानने निश्चित छ । त्यो बेला कोशी प्रदेशसभाकै भविश्य के हुने भन्ने सर्वोच्चको हातमा पुग्नेछ ।

आइतबार, २५ चैत, २०८०, साँझको ०७:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर