नेकपा सचिवालय बैठक सुरु

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सुरु भएको बैठकमा नेकपामा उत्पन्न पछिल्लो विवादबारे छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डलाई समानान्तर कुर्सीको व्यवस्था गरिएको छ । यसअघिका बैठकहरुमा प्रचण्डलाई अरु नेताहरुसँगै राखिएको थियो ।

प्रचण्ड कार्यकारी अध्यक्ष भएपनि पछिल्लो समयमा बालुवाटारमा उहाँलाई अपमान गर्ने उद्देश्यले अन्य नेताहरुको लहरमा राख्ने गरिएको थियो । पछिल्लो समयमा पार्टीमा चेपुवामा पर्दै गएपछि ओलीले नेताहरुलाई विश्वासमा लिने प्रयास गरिरहनुभएको छ ।

गत बुधबार बसेको बैठकमा बहुमत सदस्यले ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेपछि प्रधानमन्त्रीले कोरोना संक्रमण सकिएपछि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राख्नुभएको थियो । आजको बैठकमा त्यसबारे थप छलफल हुने बताइएको छ ।

सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नुभएको थियो । राष्ट्रपतिलाई भेट्नुअघि प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गर्नुभएको थियो ।

शनिबार, २० बैशाख, २०७७, साँझको ०६:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर