विराटनगर । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मौन अबधिमा निर्वाचन आचारसंहिता विपरित गतिबिधि भएको विषयमा सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्दै मौन अबधिमा विराटनगरमा दलहरुले भेला, चियापान र अन्य गतिबिधि गरेको समाचार हाम्रोमतले सार्वजनिक गरेपछि निर्वाचन आयोगले त्यसबारे प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।
मौन अविधमा राष्ट्रियसभा सदस्य निर्वाचनसँग सम्वन्धित प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था भएकोमा त्यसविपरित विराटनगरमा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको जानकारी आएको भन्दै आयोगले त्यसबारे प्रतिवेदन पेश गर्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्यभएको हो वा होइन ? सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
निर्वाचन आयोगले मतदान हुनुभन्दा ४८ घण्टा अगाडिबाट चुनाब प्रचारप्रसारमा रोक लगाएकोमा विराटनगरमा दलहरुले आचारसंहिता विपरीत चुनावी गतिबिधि गरिरहेका छन् । आयोगले माघ ८ गते राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्मका लागि मौन अबधि तोक्दै राजनीतिक दलका पदाधिकारी, उम्मेद्वार, दलको भातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रसारप्रसार लगायत कुनैपनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नहुने यसअघि नै जनाएको थियो ।
राष्ट्रियसभाको निर्वाचनको प्रचारप्रसार अवधि सकिएपछि नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले बुधबार विहान चियापान गरेका थिए भने नेकपा एमाले र राप्रपाले भेला गरेका छन् । मौन अवधिमा नेकपा एमाले र राप्रपा गठबन्धनले उम्मेदवार र मतदाताहरू बोलाएर विराटनगरको होटल ह्यारिसनमा भेला गरे । सो होटल एमाले केन्द्रीय सदस्य मोती दुगर्डको होटल हो । एमालेले मंगलबार नै निर्वाचनको सन्दर्भभा प्रदेशका सबै सांसदलाई विराटनगर केन्द्रित गरेको थियो ।
एमाले र राप्रपाका उम्मेदवार तथा मतदाता सहभागी भेलालाई नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरुले सम्बोधन गरेका थिए । यसअघि एमाले अध्यक्ष केपी ओली नै विराटनगर आउने तय भएको थियो । तर, निर्वाचन आचारसंहिताको कारण ओली आफू नआएर पोखरेललाई पठाए ।
यस्तै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै मौन अवधिमा विराटनगरस्थित निवासमै चियापान कार्यक्रम गरे । चियापानमा राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि सहभागी निम्त्याइएका थिए । कार्यक्रममा काँग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईंलगायत सहभागी थिए ।
राष्ट्रिय सभाको निर्वाचनमा कोशीको अन्य कोटामा राप्रपाका उद्धब पौडेल र काँग्रेसका कृष्णप्रसाद सिटौला तथा महिलामा एमालेकी रुक्मिणी कोइराला र माओवादीका चम्पा कार्की उम्मेदवार छन् । एमालेले राप्रपासँग गठबन्धन गरेपछि यसअघि उम्मेद्वार बनाइएका पर्शुराम अधिकारीको उम्मेद्वारी भने निस्क्रिय गराएको छ ।
सत्तारुढ गठबन्धनभन्दा विपक्षी गठबन्धनको मत करिब ८ सय कम छ । तर, सत्तारुढ गठबन्धनभित्रको असन्तुष्टिलाई क्यास गरेर निर्वाचन जित्ने भन्दै एमाले र राप्रपाका नेताहरुले रणनीति बनाइरहेका छन् ।