काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि रिक्त १९ पदका लागि ५२ जनाको उम्मेदवारी परेको छ । सोमबार सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
राष्ट्रियसभामा कुल २० सदस्य पद रिक्त छ । १९ पदका लागि निर्वाचन हुने छ भने एक सदस्यको मनोनयन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।
कोशी प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन् भने मधेश प्रदेशमा पनि पाँचै जनाले उम्मेदवारी दर्ता गराएका छन् । बागमती प्रदेशमा भने १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
गण्डकी प्रदेशमा आठ जनाले उम्मेदवारी दिँदा लुम्बिनी प्रदेशमा सात जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । कर्णाली प्रदेशमा ६ जना उम्मेदवार बन्दा सुदूरपश्चिम प्रदेशमा पनि ६ जना उम्मेदवारकै मनोनयनपत्र दर्ता भएको छ ।
समग्रमा सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१, गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
अब, मंगलबार (भोलि) उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुने छ ।