विराटनगर । मोरङको बुढीगंगामा स्थापना भएको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत आयोजना’ले सात महिनाको अवधिमा ७० लाख युनिट बिजुली नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरेको छ ।
प्रतिमहिना कम्तिमा १० लाख युनिट विद्युत बिक्री गर्ने सम्झौता गरेको आयोजनाले वैशाख १ गतेदेखि नियमितरुपमा सौर्य उर्जा उत्पादन गर्दै आइरहेको छ । बुढीगंगा ४ स्थित नेमुवामा झण्डै १६ बिघा क्षेत्रफलमा स्थापना गरिएको सौर्य विद्युत प्लान्टले दैनिक १२ घण्टा उर्जा उत्पादन गर्दै आएको छ । गर्मीयाममा ११ लाख ५० हजार युनिटसम्म विद्युत उत्पादन गरेर प्राधिकरणलाई बिक्री गरेको प्रोजेक्ट मेनेजर इन्जिनियर जितेन्द्र तिवारीले जानकारी दिए ।
सौर्य विद्युत आयोजनाबाट ६.२ मेघावाट विद्युत उत्पादन भइरहेको छ । नेपाल विद्युत प्राधिकरणसँग प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले विद्युत बिक्री सम्झौता गरेको र सञ्चालन भएको सात महिनाको अवधिमा ५ करोड रुपैयाँ भन्दा बढीको विद्युत बिक्री गर्न सफल भएको आयोजनाले जनाएको छ ।
सौर्य विद्युत र कृषि उत्पादन सँगसँगै गर्ने उद्देश्यले स्थापना गरिएको आयोजना साना बुट्यान प्रकृतिका (हर्ब र सर्व) बाली लगाउन सकिने गरी डिजाइन गरिएको छ । इन्जिनियर तिवारीले भने ‘प्यानलहरुबीचको खाली ठाउँमा खेती गर्नसकिने गरी प्लान्टको डिजाइन गरिएको छ र त्यसमा कस्तो खेती लगाउने भन्ने विषयमा ‘नार्क’को टोलीले भर्खरै विस्तृत परियोजना अध्ययन गर्ने काम सम्पन्न गरेको छ, उसको सिफारिस अनुसार हामी त्यहाँ खेती गर्ने तयारीमा छौं ।’
कृषियोग्य जमिनमा विद्युत उत्पादनका लागि उपयोग गर्दा कृषि उत्पादनलाई ठूलो नोक्सानी पर्दैन भन्ने उदाहरणीय परियोजनाको रुपमा ग्रिड कनेक्टेड सौर्य विद्युत आयोजना रहेको तिवारीले बताए । परियोजनामा मोड्युलको उचाइ कृषि गर्न मिल्ने गरी तयार गरिएकोले त्यहाँबाट व्यवसायिक कृषि उत्पादन लिन सकिने अवस्था रहेको र नेपालमा यो अहिलेसम्मको एकमात्र त्यस्तो प्लान्ट भएको उनले बताए ।
अमेरिकामा बस्दै आएका विराटनगरका उद्योगी गालबबहादुर ढुंगानाले ६५ करोड रुपैयाँ लगानी गरेर स्थापना गरेको सौर्य विद्युत आयोजनामा चिनमा निर्मित उच्चस्तरीय सोलार प्यानलहरु जडान गरिएका छन् । ती प्यानलहरुबाट २५ वर्षसम्म उत्पादन लिन सकिने इन्जिनियर तिवारीले जानकारी दिए ।
अब हिउँद याम सुरु भएको र छोटा दिन तथा मौसम धुम्मिने भएकोले आयोजनाको उत्पादन केही मात्रामा घट्ने तिवारीले बताए । ‘सौर्य विद्युत उत्पादन मौसममा निर्भर हुन्छ, जाडोयाममा मौसम सफा नहुने भएकोले उत्पादन केही घट्छ तर धेरै फरक पर्दैन, बढीमा १० प्रतिशत उत्पादन कम हुने अनुमान गरेका छौं,’ उनले भने । नेपाल विद्युत प्राधिकरणलाई वार्षिक १ करोड ३० लाख युनिट विद्युत बिक्री गर्ने सम्झौता भएकोले सम्झौता अनुसारको विद्युत आपूर्ति गर्न कुनै समस्या नहुने उनले बताए ।
कोशी प्रदेशमा यस बाहेक झापाको भद्रपुरमा यस्तै प्रकृतिको सौर्य विद्युत आयोजना निर्माणाधीन छ । त्यहाँ १० मेघावाट क्षमताको प्लान्ट निर्माण भइरहेको र यसै महिना विद्युत उत्पादन गर्ने तयारी गरिरहेको बताइएको छ । विद्युत अभाव झेल्दै आएको कोशी प्रदेशमा यी दुई आयोजनाबाट दिनभर उत्पादन हुने १६ मेघावाट विद्युतले औद्योगिक क्षेत्रलाई हिउँदमा ठूलो राहात पुग्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।