विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले १२ औं राष्ट्रिय कर दिवसको अवसरमा बिहीबार तीन उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।
कर दिवस एवं कर सप्ताहको समापन समारोहमा आर्थिक वर्ष २०७८–७९ मा सबैभन्दा बढी कर तिर्ने तीन करदातालाई उत्कृष्ट करदाता घोषणा गर्दै सम्मान गरिएको हो ।
कार्यालयले श्री एसजेबीउन अरुण थ्रि पावर डेभलपमेन्ट कम्पनी प्रा.लि. का आरपी सिंह, विराट नर्सिङ होमका अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्की र अन्नपूर्ण केबल ईण्डष्ट्रिजका जितेन्द्र राठी र श्याम राठीलाई सम्मान गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, निमित्त कार्यालय प्रमुख कर अधिकृत प्रेमप्रकाश मण्डलले सम्मान गरेका थिए ।
सो कार्यक्रममा कार्यालयका कम्प्युटर अधिकृत हरि सेढाईलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरियो । आन्तरिक राजश्व कार्यालय विराटनगर गत वर्ष आन्तरिक राजश्व विभागद्वारा देशभरीका कार्यालयको मूल्यांकनमा उत्कृष्ट भएकोले सम्मानित भएको कार्यक्रममा जानकारी दिइयो । सो सम्मान ग्रहण गर्न कार्यालयका प्रमुख कर अधिकृत डा. डिबि क्षेत्री भने काठमाडौंमा पुगेका छन् । विभागले देशभरी रहेका आन्तरिक राजश्व कार्यालयहरूमध्ये आन्तरिक क्षेत्रीलाई उत्कृष्ट प्रमुख कर अधिकृतको रुपमा बिहीबार काठमाडौंमा सम्मान गरेको हो ।
कर कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल, नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका उपाध्यक्ष अनिलकुमार साह, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुभाष आचार्यसहितको सहभागिता थियो ।
मंसिर १ गतेदेखि सुरु भएको १२औं राष्ट्रिय कर दिवस एवं करसप्ताह मंसिर ७ गते बिहीबार समापन भएको छ ।