यूएईलाई हराउँदै नेपाल पुग्यो टी–२० विश्वकपमा

विराटनगर । नेपालले आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

एसियाली छनोट प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार यूएईलाई हराउँदै नेपालले विश्वकपमा सहभागिता निश्चित गरेको हो ।

नेपालले सन् २०१४ मा पहिलो र अन्तिम पटक टी–२० विश्वकप खेलेको थियो । नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म खेलेको यही एकमात्र विश्वकप हो । आगामी टी– २० विश्वकप जुन ३ देखि ३० तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगितामा १२ टेस्ट र ८ एसोसिएट टोली सहभागी हुनेछन् ।

शुक्रबार मुलपानी मैदानमा भएको सेमिफाइनल भिडन्तमा नेपालले युएईमाथि ८ विकेटको सानदार जित निकाल्यो। युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितमा आसिफ शेखले अर्धशतक प्रहार गरे । आसिफले नटआउट ६३ रन बनाए। उनले ५० बलमा ६ चौका र २ छक्का हिर्काए। रोहित पौडेलले २० बलमा नटआउट ३५ रन बनाए । ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भए । उनी तेस्रो ओभरको अन्तिम बलमा निलान्स केस्वानीको बलमा मोहमद वासीमबाट क्याच भए । कुशलले आउट हुनुअघि २ चौका हिर्काए ।

गुल्सन झा दशौं ओभरमा बासिल हमीदबाट २२ रनमा बोल्ड भए । उनले आउट हुनुअघि २४ बलमा ३ चौका प्रहार गरे । त्यसअघि शुक्रबार विहान टस जितेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन जोड्यो ।

युएईका लागि वृत्य अरिवन्दले अर्धशतक प्रहार गरे । अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लबाट क्याचआउट हुनुअघि उनले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए ।

आक्रामक सुरुवात गरेको युएईविरुद्ध नेपालले चौथो औभरमा दुई विकेट लिएको थियो । चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका ओपनिङ ब्याटर खालिद शाहलाई ३ रनमा रनआउट गरे । सोमपालले सोही ओभरको चौथो बलमा मोहमद वासीमलाई २६ रनमा करण केसीबाट आउट गरे।  वासीमले १६ बलमा ३ चौका र २ छक्का हिर्काए ।

नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए । सन्दीपले दशौं ओभरको आसिफ खानलाई १३ रनमा एलबिडब्लूको धरापमा परे ।  नेपालका लागि कुशल मल्लले १४औं ओभरमा चौथो विकेट लिए । उनले अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट गरे ।

नेपालका लागि कप्तान रोहित पौडेलले पाँचौ विकेट लिए । उनले युएईका अली नासीरलाई ४ रनमा कुशल भुर्तेलबाट क्याच गराए। त्यतिबेला युएईले १५.५ ओभरमा ५ विकेटको क्षतिमा १०० रन जोडेको थियो ।

सन्दीपले १८औं ओभरमा मेडन विकेट लिएका थिए । उनले सो ओभरमा बासील हमीदलाई १ रनमा आउट गरेपछि पाँचब लमा कुनै रन दिएनन् ।  बलिङमा नेपालका कुशल मल्लले ३ विकेट लिए । उनले अन्तिम ओभरमा २ विकेट लिएका थिए । कुशलले ३ ओभरमा ११ रन खर्चिए ।

सन्दीप लामिछानेले २ विकेट लिए । सन्दीपले ४ ओभरमा १ मेडन राख्दा १४ रन मात्र खर्चिए। सन्दीपले १४ बल डट फ्याँकेका थिए ।

शुक्रबार, १७ कार्तिक, २०८०, दिउँसोको ०२:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर