काठमाडौं । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपाललाई ओमानले जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।
नेपालका बलरहरूले उत्कृष्ट बलिङ गर्दै ओमानलाई सामान्य योगफलमा रोकेका हुन् । खेलको विजेता समूह विजेता बनेर सेमिफाइनलमा पुग्नेछ ।
समूह ‘ए’ विजेताको टुंगो लाग्ने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १४५ रन जोडेको हो । नेपालले ओमानको पहिलो ओभरमै विकेट लिएको थियो । ओमानका ओपनर कश्यप प्रजापतिलाई करण केसीले पहिलो ओभरको पाँचौ बलमा विकेट पछाडि विकेटकिपर आसिफ शेखबाट ८ रनको व्यक्तिगत स्कोरमा आउट गरेका थिए ।
सोमपाल कामीले ओमानका अबिक इल्यासलाई चौथो ओभरको पहिलो बलमा २ रनमा बोल्ड गरे भने नेपालका लागि तेस्रो विकेट गुल्सन झाले पाँचौ ओभरको अन्तिम बलमा लिए । उनले प्रतिक अथाभलेलाई २४ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए ।
छैटौं ओभरमा सोमपाल कामीले सोएब खानलाई शून्यमा बोल्ड गरे । यससँगै नेपालले पाँच बलको बीचमा दुई विकेट लिन सफल भएको थियो ।
नेपालका लागि पाँचौ र छैटौं विकेट सन्दीप लामिछानेले लिए । सन्दीपले १४औं ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका थिए । सन्दीपले आयान खानलाई १८ रनमा बोल्ड गर्दा मोहरान खानलाई शून्यमा आउट गरे ।
अभिनास बोहराले ओमानका कप्तान जीशन मक्सुदलाई ३२ रनमा विकेटकिपर आसिफबाट क्याच गराए । उनले २६ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए । १८औं ओभरको दोस्रो बलमा छक्का प्रहार गरेका ओमानका नीशन खुसीलाई २५ रनमा करण केसीले सन्दीपबाट क्याच गराए । करणले अन्तिम ओभरमा कलिमुल्लाहलाई ५ रनमा आउट गरे । ओमानका सकिल अहमद २२ रनमा नटआउट रहे ।
बलिङमा नेपालका करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिन सफल भए । गुल्सन झा र अभिनास बोहराले १–१ विकेट हात पारे ।
समूह ‘ए’ का नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन् । नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।
समूह ‘ए’ को विजेताले समूह ‘बी’को उपविजेता र समूह ‘ए’को उपविजेताले समूह ‘बी’ को विजेतासँग सेमिफाइनल खेल्नेछन् । समूह ‘बी’ बाट युएई सेमिफाइनल प्रवेश गरिसकेको छ । बाँकी एक टिमको टुंगो आजको खेलबाट लाग्नेछ ।
एसिया छनोटको फाइनल पुग्ने २ टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्नेछ।