विराटनगर । करोडौं खर्चेर ६ वर्षअघि सञ्चालन गरिएको विराटनगरको फाउण्टेन इको पार्क अहिले झाडीमा परिणत भएको छ । कोरोना कहरका कारण केही समय बन्द भएको पार्क झाडी सफा गरेर पुनः सञ्चालन गर्नुको साटो महानगरले फेरी लाखौं रकम खर्चेर पार्क मास्ने र हेलिप्याड बनाउने तयारी गरेको छ ।
पार्क सञ्चालन गर्न नसकेर करोडौं लगानी खेर भएपछि महानगरले उक्त स्थानमा हेलिप्याड बनाउने भन्दै लहडमा योजना अघि सारेको हो । जग्गाको अवस्थिति, क्षेत्रफल तथा सुरक्षाको दृष्टिकोणले हेलिप्याड बनाउन मिल्ने वा नमिल्ने अध्ययन नगरी महानगरका मेयर नागेश कोइरालाले हचुवामा हेलिप्याड बनाउने तयारी गरेका हुन् ।
ओपन स्पेसको अवधारणासहित आजभन्दा ६ वर्षअघि विराटनगर–७ स्थित विरेन्द्र सभागृह छेउमा महानगरले फाउण्टेन इको पार्क सञ्चालनमा ल्याएको थियो । विरेन्द्र सभागृहसँगै जोडिएको पार्कमा कुनै बेला विराटनगरसहित आसपासका विभिन्न स्थानीय तहका सर्वसाधारण र विशेष गरेर बालबालिकाहरुको चहलपहल हुने गर्दथ्यो । दिनहुँ ठुलो संख्यामा बालबालिकादेखि वृद्धवृद्धासम्म पार्कमा समय व्यतित गर्न पुग्ने गर्दथे । तर, पछिल्लोपटक उक्त पार्कमा झार पलाएको छ । कुनै बेला माल पोखरीको नामबाट परिचित उक्त स्थानमा २०६५ सालतिर ५० लाख रुपैयाँ भन्दा बढी खर्च गरेर पोखरी पुरिएको थियो । त्यसपछि निरन्तर लगानी गरी करोडौंको लगानी गरेर निर्माण गरिएको पार्क संरक्षण अभावमा जङ्गल बनेको छ ।
विराटनगर महानगरपालिका र मोरङ व्यापार संघले २०७४ सालमा पार्क सञ्चालनमा ल्याएका थिए । प्रारम्भिक चरणमा व्यापार संघले नै पार्क चलाउँदै आएको थियो । केही समयपछि पार्क सञ्चालनको सम्पूर्ण जिम्मा महानगर स्वयंम्ले लियो । तर, सञ्चालनको जिम्मा लिएको दुई वर्ष नबित्दै पार्क बन्द भयो । कोरोना महामारीका कारण घुम्न आउने सर्वसाधारणको संख्या क्रमशः घटदै गएपछि महानगरले पार्क चलाउन सकेन् । कर्मचारीहरुलाई समयमा तलबसमेत दिन नसकेपछि पार्क सञ्चालन रोकियो । तर, पछिल्लोपटक आम सर्वसाधारणको जनजीवन सामान्य अवस्थामा फर्किसकेको भए पनि महानगरले पार्क पुनः सञ्चालनको बिषयमा कुनै पहल गरेन ।
सुन्दर र शान्त वातावरणमा निर्मित पार्क पुनः सञ्चालनमा नआउँदा यसले महानगरलाई नै नोक्सान भइरहेको छ स्थानीय बताउँछन् । ‘पार्क सञ्चालनमा आउँदा आर्थिक क्रियाकलापमा वृद्धि भई यसले महानगरलाई नै फाइदा हुने थियो । स्थानीयले पनि घुमफिर गर्ने ठाउँ पाउँथे,’ स्थानीय अर्जुुन भुजेल भन्छन्, ‘तर, करोडौंको योजना बालुवामा पानी खन्याए सरह हुनु हाम्रो लागि नौलो बिषय होइन ।’
वीरेन्द्र सभागृहको छेउमा करिब ५ कठ्ठा जग्गामा फाउण्टेन इको पार्क निर्माण गरिएको थियो । सार्वजनिकनिजी साझेदारी मोडेल अनुसार त्यसमा महानगरको ८५ र व्यापार संघको १५ प्रतिशत लागत साझेदारी थियो । कुल १ करोड ८४ लाख ७ हजार ७४६ रुपैयाँमा पार्कको निमार्ण कार्य सम्पन्न भएको थियो । तर, दीर्घकालीन सोच बेगरै पार्क निमार्ण गरिएपछि सञ्चालन गर्न नसकेर पार्क झाडीमा बदलिन पुग्यो ।
पार्कमा बालबालिकाका लागि चिप्लेटी, पिङलगायतका संरचना कामै नलाग्ने स्थितिमा पुगेका छन् । बाहिर लेखिएको फाउण्टेन इको पार्कको लोगो समेत भाँचिएको छ भने वाटर फाउन्टेनको पानी पनि सुकेको छ । पार्क परिसरभित्र रहेको क्यान्टिनमा अहिले नगर प्रहरी बस्दै आएका छन् ।
पार्क पुनः सञ्चालन गर्ने तर्फ पहल नगरी महानगरले हाल उक्त स्थानमा हेलिप्याडसहितको पार्किङ स्थल बनाउने विषयमा छलफल सुरु गरेको छ ।
वीरेन्द्र सभागृह र कोशी अस्पतालका निमित्त पार्किङ बनाउने योजना निमार्ण भइरहेको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला बताउँछन् । ‘छेउमै विरेन्द्र सभागृह छ । रेनोभेसन सकिएपछि भोलिका दिनमा त्यहाँ विभिन्न कार्यक्रमहरु हुन्छन् । विशिष्ट अतिथिहरु आउँछन् । प्रधानमन्त्री आउनुहोला । त्यसैलाई ध्यानमा राखेर हामीले त्यहाँ हेलिप्याड बनाउने योजनामा गृहकार्य गर्दैछौं’ उनले भने, ‘त्यहाँ हेलिप्याड सँगसँगै कोशी अस्पतालका लागि दुईचक्के सवारी साधन पार्किङस्थल पनि बनाउने सोच छ ।’
वीरेन्द्र सभागृह छेउमा पार्क निमार्ण गर्ने बिषयमा विराटनगर महानगरपालिकाले मोरङ व्यापार संघसँग २०६९ साउन ४ गते नै सम्झौता गरेको थियो । तर, दीर्घकालीन सोचका साथ निमार्ण कार्य अघि नबढाइँदा हाल महानगरको करोडौंको लगानी बालुवामा पानी झैं भएको छ ।