मलेसियालाई ६ विकेटले हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

विराटनगर । नेपाल जारी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ ।

मङ्गलवार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो ।

टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । टी–२० अन्तर्राष्ट्रियका विश्व कीर्तिमानधारी मल्लको यो तेस्रो अर्धशतक हो । उनले कुल २ चौका र ७ छक्का प्रहार गरे ।

ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए । सन्दीप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्यसअघि टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६५ रन जोडेको थियो । मलेसियाका लागि प्रारम्भिक ब्याट्सम्यान सेयद अजिज एक्लैले ६८ रन बनाएका थिए भने ओपनर जुबाईदी जुल्कीफिलले २४ रन बनाए । कप्तान अहमद फैज ३ रन जोडेपछि रनआउट हुँदा विरनदिप सिंहले पनि ४ रन मात्र बनाउन सके ।

नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले एक–एक विकेट लिए । मलेसियाले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेको थियो भने सुरुको ६ ओभरमा एक विकेट गुमाएर ६० रन जोडेको थियो ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो । नेपालको जितले ओमान पनि सेमिफाइनल पुगेको छ । नेपालले अब बुधबार समूहको अन्तिम खेल ओमानसँग खेल्नेछ । यो खेलले समूह विजेता र उपविजेता तय गर्नेछ ।

मङ्गलबार, १४ कार्तिक, २०८०, दिउँसोको ०४:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर