विराटनगर आफूले खाइ–नखाई थोरै–थोरै गरेर बचत गरेको पैसा सहकारीका सञ्चालकहरुले अपचलन गरेको भन्दै निक्षेपकर्ताहरुले उनीहरुविरुद्ध कारवाही माग गरेका छन् ।
विराटनगरस्थित माछापुछ«े सहकारीका निक्षेपकर्ताहरुले सहकारीका अध्यक्ष अमलेश कर्णसहितका ४ जना सञ्चालकले ९ करोडभन्दा बढी रकम अपचलन गरेको छानविन प्रतिवेदनमा उल्लेख छ । विराटनगर – ७ मा रहेको माछापुच्छ«े बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष अमलेशकुमार कर्णसहित चार जना संचालकलाई कारवाहीको माग गरिएको हो ।
सहकारीमा निक्षेप गर्ने बचतकर्ताहरूले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी सहकारीको अनियमितता गरेको ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ तिर्न आलटाल गर्ने सञ्चालकहरूलाई कारवाहीको माग राखेका हुन् । यसअघिको छानविन समितिले तयार पारेको रिपोर्ट अुनसार सहकारीका अध्यक्ष कर्ण, सहकारीका पूर्व सचिव तथा व्यवस्थापक अमित कार्की, कोषाध्यक्ष राधादेवी लिम्बु र सहकारी सचिव तथा संचालक समिति सदस्य प्रभाकर थापाले पाँच सय बढी बचतकर्ताहरूको ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामनिा गरेको खुलेको छ ।
बचतकर्ताहरूले निक्षेप गरेको उक्त रकम फिर्ताको लागि वर्षौदेखि हारगुहार गरेका छन् । त्यसको लागि उनीहरुले स्थानीय प्रशासन र सहकारी हेर्ने प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका प्रमुखहित विभिन्न सरकारोवाला नियकाहरूसँगको रोहबरमा छलफल पनि गरिसकेका छन् । तर, अनियमितता गरेको रकम फिर्ता गर्ने छाँट नदेखाएपछि आजित भएका सहकारी पीडित बचतकर्ताहरूले कारवाहीको माग राखेका हुन् ।
जिल्ला सहकारी संघ मोरङका सञ्चालक समिति सदस्य उमेश गुरूङको संयोजकत्वमा गठित चार सदस्य समितिले तयार पारेको छानविन प्रतिवेदन अनुसार सबैभन्दा बढी घोटाला सहकारीका पूर्व सचिव तथा व्यवस्थापक अमित कार्कीले गरेको देखिएको छ । कार्कीले सहकारीको ४ करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ हिनामिना गरेको छानविन प्रतिवेदनले देखाएको छ ।
उनीपछि सहकारी सचिव तथा संचालक समिति सदस्य प्रभाकर थापाले सहकारीको सबैभन्दा धेरै रकम हिनामिना गरेको देखिएको छ । थापाले सहकारीको १ करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ घोटला गरेको खुलेको छ । थापा नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दल मोरङका पूर्व सभापति पनि हुन् ।
यसैगरी सहकारीका अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ हिनामिना गरेको देखिएको छ । कर्ण साझा बिवेकशील पार्टीका नेता हुन् । यसैगरी सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बूले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ घोटला गरेको छानविन प्रतिवेदनमा उल्लेख छ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशले असार २५ गते दुई हप्तभित्रमा सहकारीको हिसाब छानविन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो । उक्त समितिले समयमै छानविन प्रतिवेदन बुझाएको थियो । पछि सहकारीको सबैभन्दा बढी अनियमितता गरेको आरोप लागेका अमित कार्की र प्रभाकर थापाले निष्पक्ष छानविन नभएको भन्दै प्रतिवेदन माथि प्रश्न उठाए ।
छानविन समितिमा सहकारीको वर्तमान पदाधिकारी रहेको र निष्पक्ष छानविन नभएको भन्दै पुनः विज्ञ टोली अडिटर माग गरेपछि दोस्रो चरणको तीन सदस्यीय समिति गठन भएर छानविन सुरु गरेको छ ।समितिमा सहकारी विज्ञ (आर.ए) रामचन्द्र गौतम, नरबहादुर कार्की र व्यवस्थापक प्रकाश सापकोटा रहेका छन् । समिति गठन भएको दुई हप्ता भन्दा बढी बितिसक्दा पनि सहकारी रजिष्ट्रारको कार्यालयलाई प्रतिवेदन बुझाएको छैन । जसले गर्दा सहकारीको करोडौं रुपैयाँ घोटाला गर्ने संचालकहरू कानुनी कारवाहीबाट जोगिएको बचतकर्ता विराटनगर ११ का कुन्दनकुमार साहले बताए ।
साहले माच्छापुछ«े सहकारीमा निक्षेप गरेको ११ लाख ७७ हजार रुपैयाँ फिर्ता पाउनुपर्नेछ । ‘निक्षेप फिर्ता गर्ने पटकपटक छलफल भयो । पैसा फिर्ता गर्ने कयौंपटक मौखिक र लिखित प्रतिवद्धता जाहेर भयो । तर, अहिलेसम्म फिर्ता पाउने कुनै छाँटकाँट छैन । बाध्य भएपछि सहकारीको घोटाला गर्ने सञ्चालकहरूलाई कानुनी कारवाहीको लागि हामीले माग गरेका छौं,’ उनले भने, ‘कारवाहीको लागि मोरङ प्रहरी कार्यालय जाँदा पनि अहिलेसम्म उजुरी दर्ता भएको छैन । सहकारी अनुगमन र नियामक निकाय सहकारी रजिष्ट्रारको कार्यालयले पनि कुनै पहल गरेको छैन ।’
सयौंको संख्यामा भेला भएका सहकारी पीडितहरूले सहकारीको रकम अपचलन गर्नेलाई मोरङ प्रहरीले पक्राउ गरी कडा कारवाही गर्नुपर्ने र निक्षेप गरेको रकम फिर्ता दिलाइदिनु पर्ने माग राखेका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जनकुमार दाहालले सहकारी पीडितहरुको जाहेरी लिएर कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए । ‘अहिले सहकारी विज्ञ टोलीले छानविन गरी प्रतिवेदन बुझाउने भनिएको छ । उक्त प्रतिवेदन आएर हामीले पाएपछि तत्काल प्रक्रिया अगाडि बढाउनेछौं,’ डिएसपी दाहालले भने, ‘छानविन प्रतिवेदन आउन ढिलो भएको कारणले प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको हो ।’
प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले पटक पटक छलफल गरी निकास दिन खोज्दा पनि नमिलेको कारणले अब कानुनी कारवाहीको लागि अगाडि बढ्ने बताए । ‘छानविन समितिसँग बुझेर तत्कालै मुद्दा चलाउनको लागि प्रहरी प्रशासनलाई पत्र काटनेछु,’ उनले भने ।