कोशी प्रदेशको कृषि व्यापार रणनीति बनाउन छलफल

विराटनगर । कृषि क्षेत्रमा धेरै ठुलो समस्या रहेकोले त्यसको समाधानको लागि कृषि व्यापार रणनीति आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मंगलबार विराटनगरमा आयोजित कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् ।

कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोले प्रदेशमा कृषि उत्पादनमा संलग्न किसानहरुलाई आत्मनिर्भर बनाउँदै कृषि क्षेत्रको समस्या समाधान गर्न सरकारले योजना बनाउनुपर्ने बताए । कृषि क्षेत्रको नशाहरु नै बिग्रिएकोले त्यसको उपचार गर्दै आफूले नेतृत्व गरेको मन्त्रालयबाट सकेसम्म किसानहरुलाई अघि बढाउन र व्यवसायिक रुपमा उत्पादन क्षेत्र विस्तार गर्न लागिपर्ने प्रतिवद्धता उनले जनाए ।

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जबसम्म व्यापारयोग्य वस्तु तथा सेवा उपलब्ध हुँदैनन् तबसम्म व्यापार सहजीकरण प्रयासले खासै अर्थ नराख्ने बताए । कृषि क्षेत्रको पनि व्यापार सन्तुलनमा महत्वपूर्ण भूमिका रहने भएकोले उत्पादन र उत्पादन मूल्य श्रृंखला बढाउने कार्य गर्दै कृषि उपजमा प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए । कोशी प्रदेशले उपयुक्त कृषि व्यापार प्रर्वद्धन रणनीतिमार्फत आयात प्रतिस्थापनमा टेवा दिन लागेको उनले बताए । अध्यक्ष राउतले कृषि उत्पादनलाई तुलनात्मक लाभ प्राप्त गर्नसक्ने हैसियत प्रदान गर्न वस्तुमा केन्द्रीत रहि निर्यात बृद्धिमा जोड दिनुपर्ने उल्लेख गरे ।

महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले कृषि क्षेत्रलाई इमान्दारिताका साथ अघि बढाउन सबै क्षेत्रको सहयोग रहनुपर्ने बताए । आवश्यकता परेको खण्डमा अप्रिय निर्णय लिएर भएपनि काम गर्नुपर्ने भन्दै उनले छिमेकी मुलुकबाट आयातमा भइरहेको सहजताका कारण मात्रै विभिन्न क्षेत्रले सुरक्षित महसुस गरेको उल्लेख गरे ।

प्रदेश लगानी प्राधिकरण बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.सरोज कोइरालाले कृषिमा लगानी बढाउने गरी सरोकारवाला क्षेत्रहरुले काम गर्नुपर्ने सुझाव दिए । कृषि उत्पादनको लागत कम गर्नका लागि सरकारले नै ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले व्यापार प्रबद्र्धन रणनीतिमा प्रस्तुत गरिएको विषयहरुलाई तथ्यांकको तथ्यगत विश्लेषणबाट यथार्थपरक बनाउनुपर्ने सुझाब दिए । सहज परियोजनाका परामर्शदाता रामचन्द्र बस्ताकोटीले कोशी प्रदेशमा मूल्य श्रृंखलाका लागि बालीहरुको पहिचान गर्नुपर्ने सुझाव दिए । कृषिविज्ञ डा.राजेन्द्र उप्रेतिले नेपालमा ठुलो खालको गोदाम घरहरुको निर्माण हुन सके उत्पादनले बजार सुनिश्चितता प्राप्त गर्नसक्ने बताए ।

कार्यक्रममा सुन्दरहरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल, कृषि अभियानकर्मी मधु राई, इनरुवा उद्योग बाणिज्य संघका अध्यक्ष विरेन्द्रकुमार साह, स्नातकोत्तर क्याम्पस विराटनगरका अर्थशास्त्र विभागका प्राध्यापक रामकुमार ढुंगेलसहितले किसानको प्रतिव्यक्ति आयस्तर बृद्धि, रोजगारी सिर्जना र लगानीकर्ताको सुरक्षालाई केन्द्रीत गरेर कृषि व्यापार रणनीति बनाउनु पर्ने सुझाब दिएका थिए ।

मङ्गलबार, १६ असोज, २०८०, साँझको ०६:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर