विराटनगर । सरकारले नागरिकलाई सुलभ दरमा औषधि उपलब्ध गराउन ल्याएको कार्यक्रम हो, स्वास्थ्य बिमा योजना । तर, स्वास्थ्य बिमामार्फत पाइने औषधि नै बजारमा भन्दा चार गुणाभन्दा महँगोमा विरामीले लिनुपरेको छ ।
स्वास्थ्य बिमा अन्तरगतको औषधि खरिद गर्दा विरामीहरु ठगिने गरेको पाइएको छ । बिरामीलाई बिमाबाट औषधि उपलब्ध गराउँदा बजार मूल्यभन्दा चारगुणा बढीसम्म रकम लिएर ठगी गर्ने गरेको पाइएको हो ।स्वास्थ्य बिमा बोर्डले ११०० भन्दा धेरै औषधि सूचिकृत गरी स्वास्थ्य बिमा सेवा अन्तरगत विरामीहरुलाई उपलब्ध गराउँदै आएको छ । त्यसरी उपलब्ध गराउने कतिपवय औषधिको बजार मूल्य र बिमा मार्फत भुक्तानी हुने मूल्यमा ठूलो अन्तर भेटिएपछि सर्वसाधारणहरु ठगीमा परिरहेको खुलेको हो ।
केही दिनअघि कोशी अस्पतालमा उपचारका लागि गएका एक जना बिरामीबाट अस्पतालकै फार्मेसीले दूई हजार ३०० रुपैयाँमा पाइने औषधि बिमा सुविधाबाट बिक्री गर्दा १० हजार रुपैयाँभन्दा बढी लिएको भेटिएपछि विरामीहरुमाथि ठगी हुने गरेको खुलेको हो ।
स्वास्थ्य उपचारका लागि कोशी अस्पतालमा भर्ना भएका तेह्रथुम जिल्लाका एक जना शिक्षकले अस्पतालको फार्मेसीबाट खरिद गरेको औषधि बजार मूल्यभन्दा निकै महंगो परेको फेला पारेका थिए ।
क्यान्सर रोगको उपचार गराइरहेका शिक्षकले विराटनगरको रंगेली रोडमा रहेको शान्ति फार्मेसी एण्ड एड्भान्स डेन्टल केयरबाट साउन ९ गते जालोप्लट (१०० मिलिग्राम) नामक इन्जेक्सन प्रतिगोटा ६ हजार ९६० रुपैयाँका दरले किनेर प्रयोग गरेका थिए । त्यसको ठीक एक महिनापछि उनलाई पुनः सोही औषधि आवश्यक प¥यो । कोशी अस्पतालमा भर्ना भएर स्वास्थ्य बिमा सुविधा उपयोग गर्ने क्रममा भदौ ५ गते उनले अस्पतालको फार्मेसीबाट उक्त इन्जेक्सन खरिद गरे । फार्मेसीले बिमितको खाताबाट दुई थान इन्जेक्सनको २० हजार ५९० रुपैयाँ लिएको बिल दियो । फार्मेसीले उक्त इन्जेक्सन प्रतिगोटा १० हजार २९५ रुपैयाँको दरले बिक्री गरेको थियो ।
बाहिरको फार्मेसीम एक महिनाअघि तिरेको मूल्य भन्दा धेरै नै बढी रकम अस्पतालको फार्मेसीले लिएपछि उनले औषधिमा ठगी भएको आशंका गरे । लगतै उनले थप दुई थान इन्जेक्सन नगदमा खरिद गर्न अस्पतालको फार्मेसीमा पठाए । फार्मेसीले उक्त इन्जेक्सन प्रतिगोटा २ हजार १९६ रुपैयाँ प्रतिगोटाका दरले उपलब्ध गरायो । उनले दुई थान जालोप्लट (१०० एमजी) का लागि ४ हजार ३९२ रुपैयाँ भुक्तानी गरेपछि क्यान्सरका विरामीको जीवनदायिनी औषधिमा व्यापक घोटला भइरहेको महशुस गरे र अस्पताल प्रशासनलाई त्यस बारेमा जानकारी गराए ।
अस्पतालको फार्मेसीले स्वास्थ्य बिमा बोर्डले निर्धारण गरेको मूल्य अनुसार नै उक्त औषधिको बिल काटेको प्रष्टीकरण दिएको छ । स्वास्थ्य बिमा बोर्डले बिमितहरुलाई उपलब्ध गराउन सूचिकृत गरेको ११०० भन्दा बढी औषधिको मूल्य पनि निर्धारण गरेको छ । त्यसमा जालोप्लट (१०० एमजी) को मूल्य १० हजार २९५ नै सूचिकृत भएको फार्मेसीले दाबी गरेको छ ।
कोशी अस्पतालको फार्मेसी सञ्चाल रञ्जन साहले स्वास्थ्य बिमा बोर्डमा औषधि आपूर्ति गर्न आपूर्तिकर्ताले प्रस्ताव गरेको मूल्य बोलपत्र मार्फत सम्झौता भएका कारण उक्त मूल्य सूचिकृत भएको हुनसक्ने जानकारी दिइन् । स्वास्थ्य बिमा सुविधामा देशभरका सबै अस्पतालका फार्मेसीहरुले यो इन्जेक्सनको एउटै मूल्य लिने उनले बताइन् । तर बजारमा औषधिको मूल्य फेरबदल भइरहने भएकोले नगदमा बिक्री गर्दा भने खरिद मूल्यमा अधिकतम २० प्रतिशत मुनाफा राखेर बिक्री गर्ने गरेको उनले बताएकी छन् । ‘बिमा सुविधामा खरिद गर्ने औषधिको छुट्टै मूल्य राखिएको हुन्छ, बजारमा मूल्य तलमाथि भइरहन्छ तर स्वास्थ्य बिमा बोर्डले २०७४ देखि एउटै मूल्य चलाइरहेको छ फेरबदल गरेको छैन, त्यसैले पनि केही फरक परेको हुनसक्छ ।’ तर, एउटै फार्मेसीले नगदमा बिक्री गरेको र बिमाबाट भुक्तानी लिएको औषधिको मूल्यमा चार गुणा फरक पर्नु स्वभाविक देखिदैन । कोशी अस्पतालको फार्मेसी सञ्चालक साहले यो औषधिमा मात्र नभएर अरु थुप्रै औषधिमा यस प्रकारको मूल्यान्तर हुने गरेको जानकारी दिइन् । यद्यपि अहिलेसम्म यो इन्जेक्सनमा बाहेक अरुमा गुनासो नआएको उनले बताइन् ।
स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले सूचिकृत औषधिमा बोर्डले नै मूल्य निर्धारण गरेको र फार्मेसीहरुले तोकिएको भन्दा बढी मूल्य लिन नमिल्ने बताए । उनले कोशी अस्पतालको फार्मेसीबाट बिक्री भएको जारेप्लट नामक इन्जेक्सनको मूल्यमा त्यतिधेरै फरक पर्नु स्वभाविक नदेखिएको र त्यस्तो हुनै नसक्ने प्रतिक्रिया दिएका छन् । यद्यपि उक्त औषधिको बिल उपलब्ध भए त्यस विषयमा अनुसन्धान गर्ने उनले बताए ।