विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्मिएको नवजात शिशु हराएपछि उपचारमा संलग्न चिकित्सकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अविवाहित युवतीबाट जन्मिएको नवजात शिशु हस्पिटलबाट हराएपछि मोरङ प्रहरीले स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्ने डा. कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन दाहालले जानकारी दिए । राई २६ बर्सिया किशोरीका प्रेमी हुन् । असार १३ गते किशोरीले ग्रिनक्रस हस्पिटलमा नवजात शिशु छोरीलाई जन्म दिएकी थिइन् । उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिइन् ।
दुई जनाबिचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएका थिए । सुरुमा ग्रीनक्रस अस्पतालनजिकै रहेको दीपेश मेडिकल क्लिनिकमा लिएर आए । उक्त क्लिनिक डाक्टर कर्णको हो । डा. कर्ण विराटनगरस्थित कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्व मेसु) हुन् । सरकारी सेवाबाट अवकाश पाएका उनले दीपेश मेडिकल नामक क्लिनिक चलाउँदै आएका थिए । क्लिनिकमा आएका बिरामी भर्ना गर्नुपर्दा उनले ग्रीनक्रस अस्पतालमा लगेर उपचार गर्दै आएका छन् ।
उनले ती किशोरीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराएका थिए । उनीहरूबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिए । वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । व्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दिएको प्रहरीले जनाएको छ । अस्पतालले बिदा दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन् ।
‘बच्चा बिना नै ट्याम्पोमा राखेर उहाँ९गोविन्द०ले मलाई इटहरी पुर्याउनु भयो । बसपार्क छेउको होटेलमा कोठा लिएर राख्नु भयो । बच्चा खोइ भन्दा अस्पतालमै छ भन्नु भयो । दुई दिनपछि असार १६ गते मेरो काम छ, बस्दै गर्नु भन्दै होटेलबाट निस्किनु भयो । त्यसपछि फर्किएर आउनु भएन । होटेलको नाम मलाई थाहा छैन,’ युवतीले भनिन् ।
होटेलमा अलपत्र छाडेर हिँडेका गोविन्द फर्किएर नआएपछि आफू सुनसरीको सोनापुर आएर बसेको उनले सुनाइन् । उनले गोविन्दले छाडेर गएको खर्च सकिएकाले ८ दिनपछि आफूले होटेल छाडेको र सोनामपुरमा डेरा लिएर बसेको बताइन् । ‘मैले जिउँदै बच्चा जन्माएकी हुँ । छोरी जन्मिएको भनेर नर्सहरूले भने । पछि डिस्चार्ज गर्दा बच्चा दिएनन् । गोविन्दले नै बच्चा राख्ने व्यवस्था मिलाएजस्तो लाग्यो,’ उनले भनिन्, ‘मैले जन्माएको बच्चा अहिलेसम्म मेरो साथमा छैन । अस्पतालबाटै गायब बनाइयो । सुत्केरी अवस्थामा गोविन्दले पनि छाडेर हिँडेपछि अलपत्र परे । धेरै पीडा सहेर बसेँ ।’ बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायब बनाएको गुनासो उनको छ ।
होटेलमा अलपत्र छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् । उपचारमा संलग्न चिकित्सक र प्रेमविरुद्ध साउन ३२ गते बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइन् । प्रहरीले डा. कर्ण र उनका प्रेमी बच्चाको बाबु भनिएका गोविन्दलाई पक्राउ गरेको छ ।
डिएसपी दाहालका अनुसार दुवै जनालाई शुक्रवार साँझ पक्राउ गरिएको हो । प्रहरीले पक्राउ गरेपछि उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै उपचारका लागि डा. कर्ण कोसी अस्पतालमा भर्ना भएका छन् । प्रहरीकै निगरानीमा उनको उपचार भइरहेको छ । ‘उपचाररत रहेका कारण सोधपुछ गर्न र घटनाका बारेमा सबै कुरा बुझ्न पाइएकै छैन,’ डिएसपी दाहालले भने, ‘प्रारम्भिक अनुसन्धानबाट डा। कर्णले नै युवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गरेको भन्ने खुलेको छ ।’
उनका अनुसार डा। कर्णले ८ महिना पूरा भएर ९ महिना लागेको बच्चा अभिभावकलाई बुझाइसकिएको बताएका छन् । तर, पक्राउ परेका गोविन्द र युवतीले बच्चा आफूहरूसँग नरहेको बताएका छन् ।
दाहालका अनुसार चिकित्सकले युवतीलाई असहज भएकाले तत्कालै बच्चा बाहिर निकाल्नुपर्ने अवस्था आयो भनेर भनेका छन् । ‘प्रारम्भिक सोधपुछका क्रममा उपचारका लागि आउँदा युवतीलाई सुत्केरी व्यथा लागेको थियो भनेर चिकित्सकले भनेका छन्,’ उनले भने, ‘बच्चा जन्मिएपछि बाबुलाई नै जिम्मा लगाएको दाबी गरेका छन् ।’ तर, गोविन्दले भने अस्पतालबाट बच्चा आफूले जिम्मा नलिएको र प्रेमिकालाई लिएर इटहरीतिर गएको बताएको दाहालको भनाइ छ ।
उनका अनुसार बच्चा कहाँ पुर्याइयो भन्ने खुल्न बाँकी छ । ‘दुवै जना९चिकित्सक र गोविन्दलाई सँगै राखेर सोधपुछ गर्न पाए वास्तविकता खुल्यो थियो,’ दाहाल भन्छन्, ‘चिकित्सक उपचाररत अवस्थामा रहेकाले त्यो सम्भव भइरहेको छैन ।’ विवाहपूर्व को सम्बन्धबाट जन्मिएको बच्चा गायब बनाइएको भनेर युवतीले कारबाहीको माग राख्दै चिकित्सक र प्रेमविरुद्ध किटानी जाहेरी दिएको उनले बताए ।
युवतीले मिलेमतोमा बच्चा गायब बनाइएकाले खोजी पाउँ भनेर माग पनि गरेकी छन् । उनले बच्चा नर्सहरूले लिएर गएको र त्यसपछि आफूले नदेखेको बताइन् । ‘बच्चा जन्मिएपछि नर्सहरूले लिएर गएको थाहा छ । अरू थाहा छैन,’ उनले भनिन्, ‘मैले जन्माएको बच्चा आजसम्म पाइन ।’ उनले गोविन्दसँग २ वर्षदेखि आफू प्रेम सम्बन्धमा रहेको र बिहे गर्ने योजनामा रहेको पनि सुनाइन् ।
पक्राउ परेका चिकित्सक र गोविन्दविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ । अस्पतालका अध्यक्ष कृष्ण खवासले अस्पतालमा ९ सय ५० ग्रामको बच्चा जन्मिएको बताए । ‘सामान्य प्रसूतिमार्फत बच्चा जन्मिएको हो । तौल कम र स्वास्थ्य अवस्था नाजुक रहेकाले उपचार गर्न सक्ने अवस्था भएन,’ उनले भने, ‘एनआईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएकाले ग्रीनक्रसबाट रेफर गरियो । सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर बच्चा अभिभावकलाई नै जिम्मा लगाएका हौँ ।’
खवासले उपचार हुन नसकेपछि रेफर गरिएको बच्चा कसले कता लग्यो भन्ने थाहा नभएको बताए । उनले अस्पतालबाट कुन चिकित्सकले रेफर गरेका हुन् र बच्चा जिम्मा लिने अभिभावक को हुन् भन्ने खुलाएनन् । ‘हामीले उपचारका लागि अन्यत्र लैजानु भनेर रेफर गरेका हौँ,’ खवास भन्छन्, ‘अरू कुरा थाहा भएन ।’