धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत इन्टर्न डाक्टरहरु भत्ता बढाउन माग गर्दै आन्दोलित भएका छन् ।
इन्टर्न संघर्ष समिति र विद्यार्थी कल्याण समाजले दिएको २४ घण्टे अल्टिमेटम सकिएपनि व्यवस्थापन पक्षले माग सम्बोधन नगरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिष्ठानमा १४२ इन्टर्न डाक्टर कार्यरत छन् । उनीहरुले जीवन निर्वाह भत्ता मासिक २३ हजार रुपैयाँ पुर्याउनुपर्ने माग गर्दै चार बुँदे ज्ञापनपत्र व्यवस्थापन पक्षलाई बुझाएका थिए । प्रतिष्ठानले इन्टर्न डाक्टरलाई मासिक १८ हजार ५ सय रुपैयाँ भत्ता दिँदै आएको छ ।
इन्टर्न संघर्ष समितिका संयोजक डा.मोहम्मद अफरोज खानका अनुसार माग सम्बोधन नगरेपछि इन्टर्नहरूले आफ्नो नियमित ड्युटी छाडेर उपकुलपति कार्यालयमा बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म धर्ना बसेका छन् । इन्टर्न डाक्टरहरु धर्नामा बसेपछि प्रतिष्ठानको आकस्मिक कक्ष, सघन उपचार कक्ष र दर्जन बढी ओपीडी, वार्ड, प्रतिष्ठानहाताभित्रैका विभिन्न रोगसम्बन्धी क्लिनिक प्रभावित भएका छन् ।
प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले इन्टर्नहरूको जीवन निर्वाह भत्ता बृद्धि गर्ने प्रयासमा आफू पनि रहेको बताएका छन् । इन्टर्नहरूसँग छलफल गरि प्रतिष्ठानले समस्याको समाधान गर्ने उनको भनाइ छ ।