आँखाको संक्रमण प्रकोपको रुपमा फैलिदै

विराटनगरको अस्पतालमा बढ्यो आँखाका विरामी, आँखा पाक्ने रोगले सबैभन्दा बढी साना विद्यार्थी प्रभावित

विराटनगर । आँखा पाक्ने रोगको प्रकोपले विराटनगरको आँखा अस्पतालहरूमा सातायता बिरामीको चाप बढेको छ । मौसम परिवर्तन र दूषित वातावरणले गर्दा आँखा पाक्ने रोगका बिरामी बढेका हुन् । यहाँका विराटनगर आँखा अस्पताल, दिव्य ज्योती, विराट, गोल्सा, तापडियालगायतका आँखा अस्पतालहरूमा आँखा पाक्ने रोगका विरामी बढेको अस्पतालले जनाएको छ ।

भाइरल र ब्याक्टेरियाको सम्मिश्रणले आँखा पाक्छ । यो सरुवा रोग हो । गर्मी मौसममा आँखाको समस्या बढी देखिने हुनाले अस्पतालमा बिरामीको संख्या वृद्धि भएको दिव्य ज्योती अस्पतालका पाइन्छ । प्रायःजसो बिरामीहरु आँखा रातो हुने समस्या लिएर अस्पताल आउँने बिरामी बढेको विराटनगरस्थित दिव्य ज्योती अस्पतालका नेत्ररोग विशेष डा.अभिषेक सुवालले बताए ।

‘आएका बिरामीहरुमा कन्जन्टेभाइटिस, आँखा चिलाउने रोग र सुख्खा आँखा जस्ता समस्या पाइने गरेको छ,’ उनले भने ,‘ कन्जन्टेभाइटिस अर्थात् आँखा पाक्ने रोग गर्मी मौसममा बढ्ने गरेको पाइन्छ । कन्जन्टेभाइटिसमा आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुन्निन्छ । यसमा आँखाबाट आँसु बग्ने चिप्प्रा लाग्ने परेलीको डिल सुन्निे हुन्छ । जसले गर्दा घाममा आँखा खोल्न गाह्रो हुने, आँखा दुख्ने आदि समस्या हुन्छन् । कन्जन्टेभाइटिस प्रायःजसो ब्याक्टेरिया र भाइरसको संक्रमणले गर्दा हुने गर्दछ ।’

आँखा पाक्ने रोगले सबैभन्दा बढी साना विद्यार्थी प्रभावित छन् । उनीहरूको आँखा पाकेकै कारण नियमित पठनपाठन तथा काममा असर परेको छ ।
पढ्नलाई विद्यालय जाने बालबालिकादेखि उपचारका लागि अस्पताल पुग्नेहरूबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको छ । तर, यसको रोकथामका लागि कुनै उपाय अवलम्बन गरिएको छैन ।

विद्यालयदेखि सरकारसम्म मौन छन् । मानव शरीरको महत्वपूर्ण अंगमध्येको आँखा जोगाउन अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जनचेतामूलक कार्यक्रम सञ्चालन गरिएको छैन । अनियन्त्रित बनेको संक्रमण फैलन नदिन सतर्कता अपनाइएको छैन । विद्यालयहरूमा विद्यार्थीको आँखा पाक्ने समस्या प्रकोपजस्तै देखिएको प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवालले बताए । ‘एउटा विद्यालयमा दैनिक १५ जनाभन्दा बढी विद्यार्थी आँखा पाक्ने समस्या लिएर आउँछन् । सामान्य समस्या हुने विद्यार्थीलाई चश्माको प्रयोग गर्न आग्रह गरिएको छ,’ उनले भने, ‘आँखा पाकेर पोल्ने तथा दुख्ने समस्या भएकालाई दुई–चार दिन विद्यालय नआउन आग्रह गर्ने गरिन्छ । विद्यार्थीमा व्यापक फैलिइरहेका कारण अब कसो गर्नेभन्ने छलफल प्याब्सनमा गरेर निर्णय लिन्छौं ।’

आँखाको संक्रमण भीडभाडका कारण एकबाट अर्कोमा चाँडो सर्ने दिव्य ज्योती अस्पतालका निर्देशक देवा यादवले बताए । ‘परिवारमा एउटालाई समस्या हुँदा अर्कोलाई चाँडो सर्छ । विद्यालयमा समूहमा पढाइ हुने हुँदा बालबालिकामा तीव्र गतिमा फैलिइरहेको छ,’ यादवले भने, ‘सार्वजनिकस्थलमा सावधानी नअपनाउँदा झन् समस्या बढ्दो छ । संक्रमण हुन नदिन र आँखाको सुरक्षामा सबैले ध्यान दिनुपर्छ ।’
यसरी गर्ने उपचार

एलर्जीक कन्जन्टेभाइटिसको उपचार भनेको रोगबाट बच्ने उपायको अवलम्बन गर्नु नै प्रमुख उपाय भएको ज्योती अस्पतालका नेत्ररोग विशेष डा. अभिषेक सुवालले बताए । चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग गर्नुपर्ने उनले बताए । ‘ब्याक्टेरीयल संक्रमणमा भने एन्टिबायोटिकको प्रयोग गरिन्छ । आँखा चिलाउने तथा सुख्खा भएमा कृतिम आँसुको प्रयोग गरी शितल र ओसिलो बनाउन सकिन्छ । सामान्यतया चिसो पानी वा बरफले रुमाल भिजाएर आँखा सेक्नु लाभदायक हुन्छ । एलर्जिक कन्जन्टेभाइटिसबाट पीडित केटाकेटीहरुलाई बढी घाम, धुलो र धुँवाबाट जोगाउनु उपयुक्त हुन्छ,’ डा. सुवालले भने, ‘यसको लागि कालो चस्माको प्रयोग गर्न सकिन्छ । केटाकेटीहरुलाई नियमित चिसो पानीले अनुहार र आँखा धुन सिकाउनु पर्दछ ।’

एलर्जिक कन्जन्टेभाइटिसको उपचारको लागि फार्मेसीमा विभिन्न किसिमका औषधिहरु उपलब्ध रहेको उनले बताए ।

मङ्गलबार, १६ साउन, २०८०, बिहानको ०७:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर