विराटनगर । एलिट क्लब विराटनगरका पदाधिकारी र सदस्यहरुले आधुनिक सूचना प्रविधिको प्रयोग गरेर समसामयिक विषयमा छलफल गरिरहेका छन् ।
लामो लकडाउनको अवस्थामा रहेका बुद्धिजीवीहरुको सहभागितामा शुक्रबारबाट प्रारम्भ भएको छलफल आइतबार र सोमबार पनि कायम रहेको महासचिव यज्ञप्रसाद शर्माले बताउनु भयो ।
समय सामायिक विषयमा छलफल र अनुसन्धानको माध्यमबाट विचार निर्माण गर्ने थलोको रुपमा चिनिएको एलिट क्लब विराटनगरका पदाधिकारी तथा सदस्यहरुले मुलुकको प्रतिकूल अवस्थामा राज्य र जनताका बीचमा सहजकर्ताको रुपमा भूमिका निर्वाह गर्नुपर्ने सोचका साथ भच्र्युअल छलफल सुरु गरिएको क्लबका अध्यक्ष विश्वनाथ रिजालले बताउनु भएको छ ।
शुक्रबारको छलफलमा एलिट क्लबका पदाधिकारी तथा सदस्यहरुलाई कसरी अनलाइन छलफमा सहभागी बनाउने भन्ने विषयमा छलफल भएको थियो । लामो मसयदेखि लक डाउनको अवस्थामा गुम्सिएर घरमा नै सीमित भएर रहेका बौद्धिक व्यक्तित्वहरुलाई मुलुकको संकटकालीन अवस्थामा बौद्धिक ज्ञानको आधारमा सहयोग गर्नका लागि अग्रसर गराउने उद्देश्यले भने आइतबार समसामयिक विषय कोरोना भाइरसले निम्त्याएको महामारीमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट भइरहेका काम र अन्य सेवा प्रदायक निकायहरुको काम तथा सेवाको अवस्थाको बारेमा छलफल भएको थियो ।
खासगरी आम नागरिकको स्वास्थ्य सेवामा पहुँचको अवस्था कुण्ठित हुन नदिन बौद्धिक क्षेत्रबाट खबरदारी गर्नुपर्ने विषयमा आइतबारको छलफल केन्द्रित भएको थियो । छलफलमा प्रा.डा. खगेन्द्र आचार्य र डा. भेषप्रसाद धमलाले विचार राख्नुभएको थियो ।अन्य सहभागीले टिप्पणी मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सोमबारको छलफलमा कोरोना भइरसको प्रकोपका विषयमा छलफल हुँदाहुँदै राष्ट्रिय राजनीतिमा उक्कासी देशखापरेको राजनीतिक दल सञ्चालन सम्बन्धी अध्यादेशको विषयमा छलफल केन्द्रित भएको थियो । सोमबारको छलफलमा प्राध्यापक कृष्ण पोखरेल, डा. चन्द्र तिम्सिना र पत्रकार यज्ञप्रसाद शर्माले विषयमा केन्द्रित भई छलफल गर्नुभएको थियो । उक्त अवसरमा प्रा.डा. मीनराज ढकाल र स्वयम्भुनाथ कार्कीले टिप्पणी गर्दै मन्तव्य व्यक्त गर्नुभएको थियो ।
छलफलमा कोरोना भाइरसको आक्रमणले मुलुकको अर्थतन्त्र, सामाजिक अवस्था र जनजीवन अस्तव्यस्त भइरहेको बेलामा आएको यो अध्यायदेशको औचित्य र नेपाली राष्ट्रिय राजनीतिमा यसले पार्ने प्रभावका विषयमा केन्द्रित भएर विचार व्यक्त गरिएको थियो ।
घरबाट बाहिर जाने र निश्चित स्थानमा भेला हुने अनुकुल अवस्था नभएको बेला आधुनिक सूचना प्रविधिको प्रयोग गरेर गरिने बौद्धिक छलफल आगामी दिनमा अझ प्रभावकारी बनाइने र अझ व्यापक दायरामा छलफल गर्दै सरकोकारवालालाई समेत सहभागी गराउने सोच रहेको एलिट क्लबका महासचिव यज्ञप्रसाद शर्माले बताउनु भएको छ ।