कोशीमा शैय्या अभावको सकस, झ्यालमा राखेर विरामीको उपचार

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा शैय्या अभावको पिरलो यति उच्च भएको छ कि भर्ना भएका विरामीलाई झ्यालमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।

यतिमात्रै होइन, एउटै बेडमा दुई जनासम्म विरामी राखेर पनि उपचार भइरहेको अस्पतालमा ह्वीलचियर, ट्रलीमासमेत विरामी राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ । विरामीको चाप बढेको बढ्यै हुँदा शैय्याको भने उच्च अभाव हुँदा ज्यादै कठिन रुपमा विरामी उपचार गराउन बाध्य छन् ।

विराटनगर – ३ का ७० वर्षीय हेमराज मगरलाई आइतबार विहान बारीमा घाँस काटन गएका बेला सर्पले डस्यो । दायाँ हातमा सर्पले डसेपछि उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याइयो । उनी अस्पतालको आकस्मिक कक्षमा भर्ना भए । आकस्मिक कक्षको ४० शैय्या विरामीले भरिभराउ थियो । शैय्या नपाएपछि उनलाई आकस्मिक कक्षको झ्यालमा बसेर उपचार गर्ने प्रबन्ध अस्पतालले मिलाएको छ । ‘सलाइन झ्यालमा झुण्ड्याएर हातमा चढाएको छ । आकस्मिक कक्षमा शैय्या नभएपछि यहाँका स्वास्थ्यकर्मीले पनि झ्यालमा राखिदिए,’ उनले भने, ‘२४ घण्टा यही झ्यालमा बसेर उपचार गर्ने भनिएको छ । हैरान हुने भयो । मज्जासँग अडेस पनि लाग्न मिल्दैन । कलिकति हलचल भयो भने भुर्इँमा लडिहालिन्छ ।’

मोरङको जहदा गाउँपालिका ४ की २१ वर्षीया जानुकाकुमारी ऋषिदेवलाई पनि सर्पले टोकेपछि आइतबार दिउँसो १ बजे कोशी हस्पिटल लिएर आफन्त आए । उनले पनि कोशीको आकस्मिक कक्षमा शैय्या नपाएपछि हेमराजभन्दा अगाडिको झ्यालमा राखेर उपचार सुरू गरिएको छ । जानुकासँगै छेउमा अर्का ४० वर्षीय विराटनगर ७ का पुष्कर पोखरेललाई पनि सँगै राखिएको छ । पोखरेललाई पनि आइतबार दिउँसो बैंक जान साइकल लिएर घरबाट निस्कँदा बाटोमासर्पले डसेको थियो । कतै ठाउँ नपाएपछि उनलाई पनि झ्यालमा राखेर उपचार सुरू गरिएको छ ।

पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा जनरल, आइसियू र आकस्मिक कक्षको शैय्या बिस्तारमा अस्पताल विकास समिति र प्रशासनले ध्यान नदिँदा विरामीले पाएको सास्ती दर्दनाक छ । आकस्मिक कक्षमा आएका विरामीलाई शैय्या अभाव भएपछि यहाँका स्वास्थ्यकर्मीहरू एउटै शैय्यामा दुई जना, झ्याल, ट्रली, र स्टे«चरमा राखेर उपचार गर्न बाध्य छन् ।

कोशीको आकस्मिक कक्षमा ४० शैय्या छ । अधिकांश समय यी सबै बेड विरामीले भरिभराउ हुन्छन् । ३ सय ५० शैय्याको कोशी अस्पतालमा मेडिकल वार्डमा ३२ शैय्या, आइसियूमा १२ शैय्या, र एचडीयूमा ५ शैय्या छ । ‘आकस्मिक कक्ष, आइसियू, मेडिकल वार्ड र एचडियुमा शैय्या थप गरिदिए विरामीलाई सहज हुनेथियो । यो तीन वटा वार्डमा नयाँ आएका मेसु र विकास समितिले शैय्या थप गरिदिए आकस्मिक कक्षमा आएका विरामी झ्याल र एउटै बेडमा दुईसम्म राखेर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य हुने थियो,’ उपचारमा खटिएका एक जना चिकित्सकले भने, ‘हामीले धेरै सुझाव दिइसक्यौं । तर, इच्छाशक्ति भएका मेसु अहिलेसम्म पाइएको छैन । भएको जनशक्तिलाई राम्रोसँग परिचालन गर्ने र शैय्या विस्तारमा ध्यान दिए अहिलेको यो झ्याल र एउटै बेडमा दुई जनासम्म राखेर उपचार गर्नु पर्दैनथ्यो ।’

कोशी अस्पतालमा दैनिक कम्तीमा १ हजार देखि १ हजार ५ सय जनासम्म विरामी ओपीडि र आकस्म्कि कक्षमा सेवा लिन आउने गरेका छन् । करिब १ सयदेखि १ सय १५० जना विरामी भर्ना हुने गरेका छन् । भर्ना भएका विरामीले शैय्या नपाएपछि झ्याल र चिसो भुइँमा छटपटाउँदै उपचार लिन बाध्य छन् ।

‘विरामी भएपछि हस्पिटलमा आरामले उपचार पाइन्छ भनेर आउने गरिन्छ । तर, कोशी अस्पतालको आकस्मिक कक्षमा आइपुग्दा झन विरामी भइन्छ जस्तो भइयो,’ झ्यालमा बसेर उपचार गर्दै आएका ७० वर्षीय हेमराज मगरले भने, ‘शैय्यामा बसेर उपचार पाए आराम हुने थियो । यहाँ झ्यालमा बसेर उपचार गर्दा शरीरलाई पूरा सास्ती भएको छ । असहज महसूस भयो ।’

अहिले कोशीको आकस्मिक कक्षमा सर्पले डसेका, ज्वरो, डायरिया, पेट र किड्नीमा समस्या भएका विरामी धेरै आउने गरेका छन् । विरामीले बेड भरिएपछि झ्यालमासमेत बसेर उपचार गर्नुपर्ने बाध्यता छ । कोशीमा आएका विरामी आर्थिक रूपमा विपन्नहरु आउने गर्दछन् । आएका विरामीलाई उपचार गरेर पठाउने गरेको कोशी अस्पतालको आकस्मिक कक्षको इन्चार्ज गजेन्द्रप्रसाद यादवले बताए । ‘आएका जति विरामीलाई शैय्या भएसम्म राखेर उपचार गरिन्छ । नभएपछि पनि यही उपचार गरिदिनु भनेपछि हामी पनि बाध्य भएर झ्याल र एउटा बेडमा दुई जनासम्म विरामी राखेर उपचार गरिनुपर्ने बाध्यात्मक अवस्था छ,’ उनले भने ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर चन्द्रभाल झाले जनशक्ति अभावका कारण समस्या आएको बताए । ‘अहिले एक जना स्वास्थ्यकर्मीले ३० जनासम्म विरामी हेर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘जनशक्ति थप गरेपछि शैय्या पनि विस्तार गर्ने योजना छ । केही दिन भित्र यो समस्याको हल हुनेछ ।’ अहिले अस्पतालको विकास समिति पनि नयाँ आएकोले केही दिन भित्रै बैठक बसेर जनशक्ति थप गरी अगाडि बढ्ने उनले बताए । ‘हाम्रो प्राथमिकता भनेको एनआइसियू संचालन गर्ने र आकस्मिक कक्षलाई व्यवस्थित गर्ने भन्ने छ,’ उनले भने, ‘केही दिन भित्रमा सुधार हुनेछ ।’

सोमबार, ०१ साउन, २०८०, बिहानको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर