विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका स्थित भुल्केबाट संकलन गरेर ल्याइएको ६९ जनाको स्वाब परीक्षणको रिपोर्ट आज दिउँसोसम्मा आउने बताइएको छ ।
विराटनगरको कोशी अस्पतालमा रहेको पिसिआर ल्याबमा स्वाब परीक्षण भइरहेको छ । शनिबार ६९ जनाको स्वाब संकलन गरेर ल्याइएको भएपनि ल्यावमा केही केमिकल्स अभाव हुँदा आइतबार ढिला गरी मात्र परीक्षण थालिएको थियो ।
आइतबार ६९ जनामध्ये २० जनाको परीक्षण सम्पन्न भएको थियो । तर, एकमुष्ठरुपमा सार्वजनिक गर्न त्यसको नतिजाबारे केही बताइएको छैन । स्रोतका अनुसार परीक्षण सम्पन्न भएका सबै २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । अहिले बाँकी ४९ जनाको परीक्षण कार्य जारी रहेको छ । पिसिआर रिपोर्ट आउन करिव ७ घण्टा लाग्ने भएकोले दिउँसो १ बजेसम्ममा रिपोर्ट आउने बताइएको छ ।
भुल्के स्थित मस्जिदमा बस्दै आएका दुई नेपाली तथा ११ जना भारतीय नागरिकमा कोभिड–१९ पोजेटिभ देखिएपछि मस्जिदको निकट सम्पर्कमा रहेका थप ६९ जनाको स्वाब शनिबार संकलन गरेर ल्याइएको थियो । तिमध्ये २० जनाको स्वाब परीक्षणबाट समुदायस्तरमा संक्रमण नभएको सुखद् अवस्था पाइएको हो । थप ४९ जनाको रिपोर्ट आएपछि भुल्केको समग्र अवस्थाको बारेमा धेरै कुरा क्लियर हुने स्वास्थ्यविज्ञहरुले बताएका छन् ।
यसैगरी आइतबार नेपाली सेनाको हेलिकप्टरमा आएको चिकित्सकसहितको टोलीले त्यहाँका थप १ सय ५२ व्यक्तिको स्वाब परीक्षणका लागि संकलन गरेर काठमाण्डौ लगिएको छ । सम्भवत त्यसको रिपोर्ट पनि सोमबार साँझसम्म आउनेछ । सोमबार नेपाली सेनाको टोलीले थप व्यक्तिको पनि स्वाब संकलन गरी परीक्षणको लागि पठाउँदैछ ।