विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतम र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालासहित ५४ जनाले मृत्युपश्चात् अङ्ग दान गर्ने घोषणा गरेका छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र इष्टपोल मिडिया प्रालिको आयोजनामा विराटनगरमा शुक्रवार सम्पन्न ‘मस्तिष्क मृत्यु पश्चताको अंगदान सम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनको अवस्था’ विषय अन्तरक्रिया कार्यक्रममा सभामुख गौतम, मेयर कोइरालाले आफ्नो मृत्युपश्चात् शरीरका केही अङ्ग दान दिने घोषणा गरेका हुन् ।
कार्यक्रममा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा.सुधा देवकोटाले पनि मृत्युपश्चात् शरीरका केही अङ्ग दान दिने घोषणा गरिन् । शुक्रवार मात्र ५४ जनाले मृत्युपश्चात् शरीरका केही अङ्ग दान दिने मन्जुरीनामा पत्रमा हस्ताक्षर गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द श्रेष्ठले जानकारी दिए । अहिलेसम्म देशभरिमा ३ हजारले मृत्युपश्चात् शरीरका केही अङ्ग दान दिने मन्जुरीनामा पत्रमा हस्ताक्षर गरेको उनले बताए ।
मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा अङ्ग झिक्न कानुनी व्यवस्था रहेको छ । जसमा दुई वटा मिर्गौला, दुई वटा फोक्सो, एक वटा कलेजो, मुटु, प्याङ्क्रियाज, एक सानो आन्द्रा पर्छन्,’ डा पुकार चन्द भन्छन्, ‘ऐनले ८ वटा अङ्ग प्रत्यारोपण गर्न मिल्ने व्यवस्था गरे पनि नेपालमा हाल मिर्गौला र कलेजोको मात्र प्रत्यारोपण हुने गरेको छ ।’ अन्य अङ्गको प्रत्यारोपण सुरु गर्न नेपालमा सोही अनुसारको दक्ष जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारको कमी छ । ‘यो चिकित्सा विज्ञानको अत्यन्तै गम्भीर जटिल प्रक्रिया हो । सिप, दक्ष जनशक्ति र पूर्वाधार उत्तिकै राम्रो हुनुपर्छ । अनि मात्र सम्भव छ,’ उनले बताए ।