संक्रमितसँगै आएकाहरुले कोरोना परीक्षण गर्न प्रहरीको आग्रह

विराटनगर । उदयपुरका संक्रमित १३ जनाको सम्पर्कमा आएकाहरूलाई कोभिड–१९ परीक्षणका लागि सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालय, मोरङले संक्रमित भारतीय नागरिक २६ मंसिरमा भारतबाट नेपाल आएको बुझिएको भन्दै संक्रमणको जोखिममा रहने सम्भावना भएकोले उनीहरूलाई परीक्षणको लागि प्रहरीमा सम्पर्क गर्न भनिएको हो।

मोरङ प्रहरी प्रवक्ता, डीएसपी मानबहादुर राईका अनुसार उनीहरूको ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’को लागि अहिले सुरक्षा संयन्त्र परिचालन भएको छ।

संक्रमित भेटिएका उदयपुर त्रियुगा नगरपालिका–३ का अध्यक्ष अवधेशकुमार चौधरीले चैतको दोस्रो साता उनीहरू उदयपुर आएको र आफूले १२ चैतमा स्थानीय प्रशासनलाई नाम नामेसीसहित जानकारी गराएको बताएका छन्।

लकडाउनअघि नै भारतबाट नेपाल छिरेका उनीहरू मोरङ, सुनसरी र सप्तरीको बोदेबरसाइन, राजविराज, फत्तेपुर हुँदै उदयपुर आएको खुलेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।

नुरी मस्जिदमा रहेका १२ जनालाई दुई दिनअघि, ५ वैशाखमा कोभिड–१९ पुष्टि भएको थियो। त्यसको भोलिपल्ट हिजो थप एकजना पोजिटिभ थपिएका थिए।

संक्रमित कूल १३ मध्ये दुई नेपाली र ११ भारतीय नागरिक रहेको प्रदेश १ मुख्यमन्त्री कार्यालय कोरोना सूचना डेस्कले जनाएको छ।

उनीहरू विराटनगरस्थित् कोशी अस्पतालको आइसोलेसनमा उपचाररत् छन्। मस्जिदमा रहेका बाँकी तीन जनालाई मोरङको टाँडीस्थित् क्वारेन्टाइनमा राखिएको छ।

हिजोदेखि भुल्केबस्तीलाई सिल गरेर वरपरका वासिन्दाको र्‍यापिड टेष्‍ट शुरू भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनु भयो ।

आइतबार, ०७ बैशाख, २०७७, रातीको ०८:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर