विराटनगर । शनिबार कोरोना पोजेटिभ देखिएका व्यक्ति उदयपुरको मस्जिदबाटै ल्याइएका विराटनगरका व्यक्ति भएको खुलेको छ ।
शुक्रबार कोरोना पुष्टि भएका १२ जनासँगै बसेका ४ जनामध्येका ६५ वर्षीय व्यक्तिमा कोरोना पुष्टि भएको हो ।
यसअघि दुई पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएका एक व्यक्तिबारे शंका लागेपछि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको कोशी अस्पताल विराटनगरका बरिष्ठ फिजिसियन डा.दिपक सिग्देलले जानकारी दिनुभयो । उनको स्वाबको नमुना कोशी अस्पतालकै प्रयोगशालामा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।
उदयपुरको त्रियुगा स्थित मस्जिदमा रहेका ११ भारतीय र १ नेपालीमा शुक्रबार नै संक्रमण पुष्टि भएको थियो । मस्जिदमै रहेका तीन नेपाली र एक भारतीयको नतिजा नेगेटिभ देखिएपनि उनीहरुलाई टाँडी स्थित क्वारेन्टाइनमा पठाइएको थियो ।
भारतीय धर्मगुरुसँगै गएका विराटनगरका चार जनामध्ये २ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैले विराटनगर १७ घर भएको जानकारी प्रशासनलाई दिएका छन् ।
मस्जिदमा भेटिएकाहरु भारतीय सबै ४० वर्षभन्दा कम उमेरका छन् भने विराटनगरका ४ जनामध्ये दुईं जना ६५ वर्षका, एक जना ६० वर्षका र एक जना २८ वर्षका छन् ।