प्रकृतिमाथिको अक्षम्य प्रहार

 सम्पादकीय

प्राकृतिक स्रोतहरुको संरक्षणबारे बहस चलेको लामो समय भइसकेको छ । खासगरी ढुंगागिटी, माटो, जल, जंगललगायतका स्रोतहरुको उपयोगबारे मन्थन पनि धेरै भइसकेको छ । यद्यपि छलफल हुन थालेको लामो समय भइसकेको यो बेलासम्म पनि प्राकृतिक स्रोत दोहन रोकिएको छैन । झनै बढेको छ । अझ पछिल्लो समय भारतलाई ढुंगागिटी बेच्ने निर्णय भएपछि यसको मात्रा अझै बढ्ने चिन्ता बढेको छ ।
यो चिन्ता दूर गर्न बलियो राजनीतिक प्रतिबद्धताको खाँचो छ । हरेकपटकको निर्वाचनमो प्राकृतिक स्रोत दोहन रोक्ने, तिनको संरक्षण गर्ने मुद्दा अघि सर्छ ।

जसै चुनाव सकिन्छ, एजेण्डा अलपत्र जस्तै पर्छ । हामीकहाँ सधैं भनाइ एकातिर र गराई अर्कातिर हुँदा प्राकृतिक स्रोत दोहन रोकिएको छैन । खोलाजन्य पदार्थको अबैध उत्खनन् र तस्करीको घटना हरेक वर्ष बढिरहेको छ । स्थानीय तहको अधिकारक्षेत्रमा खोलाजन्य पदार्थ भएपछि त्यसको दोहन बढेको बारम्बार सार्वजनिक भइरहेको छ । मोरङ, झापा, उदयपुर, सुनसरी लगायतका जिल्लाको चुरे क्षेत्र र राजमार्ग आसपासका पुल नै जोखिममा पर्नेगरी उत्खनन्को काम भइरहेको छ । निश्चित परिमाण मापदण्डको आधारमा निकाल्नेगरी ठेक्का लगाइएको भएपनि ठेकेदारले जथाभावी उत्खनन् गर्ने गरेका छन् । त्यसको प्रभावकारी अनुगमन र गलत काम गर्नेलाई कार्वाही नहुँदा मनपरीतन्त्र हाबी छ । प्राकृतिक स्रोतमाथिको यस्तो जथाभावी रोक्ने योजना बलियो रुपमा कार्यान्वयन टड्कारो भइरहेको छ ।

केही समय अघि पेश भएको बजेटले यो मुद्दाबारे उच्च चासो प्रकट गरेको छ । तर, यो चासो मैदानमा अभिव्यक्त भइरहेको छैन । पैसा र बाहुबलको आडमा चलेको स्रोत दोहनको धन्दाले चुरे क्षेत्र र राजमार्गका पुलहरूलाई नै जोखिममा पारिरहेको छ । निश्चय नै खोलाजन्य पदार्थको उत्खनन् आवश्यक हुन्छ । विकास निर्माणको कामको लागि ढुंगागिटी र बालुवा आवश्यक नै पर्छ । त्यसमाथि खोलामा हरेक वर्ष उत्पादन हुने ढुंगागिटी निकालिएन भने खोला उकासिएर आसपासको खेतीयोग्य जमिनभन्दा माथि पुग्ने र त्यसबाट डुवानको खतरा पनि हुन्छ । त्यसैले उत्खनन् गरिनुपर्छ । तर, उत्खननको लागि पनि वातवरणीय प्रभाव मूल्यांकन गरी निश्चित मापदण्ड पालना गरिएको हुनुपर्छ । यद्यपि त्यसो भएको छैन । ग्रामीण र दुरदराजको क्षेत्रमा मात्र नभएर चौबीसै घन्टा सुरक्षा निगरानी उपलब्ध हुने सहर नजिकै पनि यस्तो धन्दा चल्ने गर्छ । के यो गलत काम रोक्ने् दायित्व स्थानीय सरकारको होइन ? तसर्थ स्थानीय सरकार चलाइरहेकाहरुले कम्तीमा प्राकृतिक स्रोतको दुरुपयोग नगर्ने, गर्न नदिने प्रण गर्नुपर्छ । सोही अनुसारको योजना कार्यान्वयन पनि गर्नुपर्छ ।

प्राकृतिक स्रोतको जथाभावी दोहनले अनेकौं समस्या निम्त्याएको छ । धेरै ठाउँ सिञ्चाई समस्या सिर्जना गरेको छ भने धेरैैतिर खानेपानीको स्रोत सुकाइदिएको छ । निरन्तरको जथाभावी दोहनले निम्त्याएको कटानको समस्याले बर्सेनि हजारौं विघा खेतीयोग्य जमिन बगरमा परिणत भइरहेको छ । यसरी पारिस्थितिक प्रणाली नै बिगार्ने गरी नदीनालाहरुमा भइरहेको स्रोत दोहनलाई स्थानीय सरकारले नियन्त्रण गर्नैपर्छ । निर्वाचित भएपछि ठेकेदारसँग मिल्ने, ठेकेदारहरु स्वयम् स्थानीय तहमा निर्वाचित हुने हुँदा पनि समस्या दोहोरिएको छ । यो समस्यालाई देखेको नदेख्यै नगरौं । तीनै तहको सरकारको ध्यान जानैपर्ने विषय हो यो ।

मङ्गलबार, ३० जेठ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर