गणेश लम्साल
नगरबाट उपमहानगर अनि महानगर हुँदै प्रदेशको राजधानी बन्न विराटनगर सफल भयो । यो राजधानीमात्र नभएर देशकै दोस्रो ठूलो औधोगिक तथा प्रशासनिक सहर पनि हो । ७६ दशमलव ९९ वर्ग किलोमिटर क्षेत्रफल भएको विराटनगरमा ५० हजार हाराहारी घरघुरी छन । विराटनगरमा झण्डै ३ लाख मानिसको बसोबास छ । शिक्षा र स्वास्थ्यको हब बनिसकेको विराटनगरमा दुई ठूला मेडिकल कलेज दुई दर्जन ठूला अस्पताल, र दजनांै चर्चित शिक्षण संस्थाहरु छन् । प्रदेशको राजधानी भएकोले सरकारका मुख्य संरचना यहिँ छन् ।
विराटनगर आजकल धेरै स्तरोन्नति भैसकेको छ । यहाँ भाटभटेनी, सेन्टल मल जस्ता आधुनिक ठूला र अग्ला महल सञ्चालन भइसकेका छन् । प्रदेश राजधानी घोषणा भएपछि धेरै ठूला मल र भवनहरु निर्माण भएर सञ्चालनमा आइसकेका छन् र थप निर्माण हुनेक्रम पनि जारी छ । विराटनगरमा धेरै व्यापारिक कम्पनीका ठूला ठूला शो–रुमहरु विस्तार भैरहेका छन् । यसैगरि बासोबास र व्यापार व्यवसायको घनतत्व पनि ‘दिन दुईगुणा रात चौगुना’ले बढ्दो छ । विराटनगर महानगरभित्र र आसपास ठूला साना उद्योगहरु प्रशस्त विस्तार भैरहेका छन् । पूर्वतर्फ कटहरी औधोगिक करिडोर छ । उत्तर–दक्षिण सुनसरी मोरङ औधोगिक करिडोर अन्र्तगतका दर्जनौं ठूला उद्योगहरु छन् । महानगरमा दैनिक दर्जनांै सरकारी र र गैरसकारी कार्यक्रमहरु हुने गरेका छन् । यसले विराटनगरका घनत्वमा पनि दोब्बर बृद्धि गराएको छ । तर, जनधनत्व बृद्धि भएपनि विराटनगरमा सार्वजनिक यातायातको व्यवस्था भने अस्तव्यस्त छ ।
महानगरले नगरबस सञ्चालन गर्ने घोषणा गरिसकेको छ । तर, नगरबस सञ्चालन किन हो अझै घोषणामै सीमित छ । विराटनगर महानगरले नगर बस सञ्चालनमा ल्याउन प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल) भैसकेको छ । लगानीका लागि प्रदेश लगानी बोर्डलाई आग्रह गरिसकेको छ । तर, अझैसम्म बस सञ्चालनमा आएको छैन । कुन–कुन रुटमा कति साइज र क्षमताको बस सञ्चालन गर्न सहज हुन्छ भनेर प्रचार पनि गराएका थिए । तर नगरबस भने किन हो अझै सञ्चालन गरेनन् ?
महानगरमा धनी र सम्पन्नहरु मात्र बस्दैनन् । निम्न मध्यवर्गीय र सिमान्तकृत सहरी गरिबहरु बस्छन् । यसैले उनीहरुको दैनिक रोजगारी र आवतजावतका लागि सार्वजनिक नगरबसको अति खाँचो खडकिरहेको छ । नगरबस सञ्चालन नहुँदा अहिले आप्mनो सवारी साधान नहुने सर्वसधारणहरु महंगो भाडा तिरेर म्याजिक भेन, टेम्पो र सिटी रिक्साहरुमा असुरक्षित यात्रा गर्न बाध्य भैरहेका छन् । यसैले महानगरलाई यो पंक्तिकार आग्रह गर्छ, रुट ट्रायल गरिसक्नु भएको छ, अब चाँडै सञ्चालन गराउनुहोस् ।’ हुन त विराटनगर महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय भैसकेको र बस खरिद प्रक्रिया पनि अगाडि बढिसेको भनेको थियो । तर खै किन हो अझैसम्म नगर बस एकादेशको कथाझैं बनिरहेको हो ?
महानगरमा १९ वटा सिटी बस चल्ने कुरा चलेको थियो । ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क र विद्यार्थी र महिला यात्रुलाई सहुलियत दिने कुरा पनि थियो । तर यो कता हरायो ?
नगरबस चलाउँदा महागनरले छिमेकी पालिकाहरुलाई पनि सेवा दिन सक्नु पर्छ । त्यसका लागि बुढीगंगा, कटहरी ग्रामथान आदि पालिकासँग सहकार्यको प्रस्ताव अगाडि बढाउनु पर्छ । किनभने विराटनगर केवल बजार मात्र रहेन । यो वृहत्तर भैसकेको छ । यसैले विराटनगर महानगरले बिलम्ब नगरी नगर बस सञ्चालन गर्दा सहरको सौन्दर्यता, सुविधा र सुरक्षा सबै पक्षमा सकारात्मक योगदान पुग्ने छ ।