लीलावल्लभ घिमिरे
केहि दिनअघि काठमाडौको माहोल निकै तातो थियो । यति बेला काठमाडौं सेलाएको छ अनि तराई तातेको छ । यो तताइको फरक काठमाडौैं राष्ट्रद्रोहको मुद्दाले तातेको थियो । अहिले तराई घामले तातेको छ । हुन त जेठ महिना यसरी नै तराई अरु वर्ष पनि तात्ने गथ्र्यो । असार लागेस“गै पानी पथ्र्यो अनि सेलाउ“दै जान्थ्यो । काठमाडांैको तताइ पनि त्यस्तै खालको देखियो । एकहात मान्छे थुने जस्तो गर्ने अनि सवै ढाक छोप हुने यसपाली पनि त्यस्तै हुनेमा कुनै शंका छैन ।
यदि मलाई सुनाउनेहरु गलत छैनन् भने शेरवहादुर देउवा मात्र यस्ता नेता हुन् जो वीपी कोइरालाका अघि ठिङ्ग उभिएर सिधा आँखा जुधाएर चित्त नबुझेको कुरा प्रष्टसँग राख्न सक्थे । त्यति मात्र हैन उनले वीपीकै कान्छो भाइ गिरिजाप्रसादसँग असहमत राखे । पार्टीभित्र धेरै विरोध गरेर अन्त्यमा पार्टी नै फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रीक गठन गरे । यसबाट पनि के प्रष्ट हुन्छ भने शेरबहादुर देउवा एक निडर नेता हुन् । त्यसैले यो देशको पा“च पटकसम्म प्रधानमन्त्री मात्र बनेनन् आफैले फुटाएको पार्टीलाई फेरि नेपाली कांंग्रेसमा समाहित गरेर दुइ पटक त्यही पार्टीको सभापति पनि बने ।
यी सब कुरा मैले यहाँ किन उठाइरहेको छु भने पछिल्लो समय नेपाली कांग्रेस पार्टीभित्र एक खालको मुर्दा शान्ति देखिएको छ त्यसै कारण शेरबहादुरको पुरानो इतिहास सम्झन मन मात्र लागेको हो । यो देशमा धेरै काण्डहरु भएका छन् । कति काण्ड मान्छेले बिर्सिसके कति सम्झनामा मात्र छन् । तर, पछिल्लो पटक जुन काण्ड आइरहेको छ । त्यसले नेता पार्टी मात्र हैन देशको शिर निहुरीएको छ । नेपालीलाई भुटानी बनाएर तेस्रो मुलुक लाग्ने प्रपञ्चमा कांग्रेस र एमालेका उच्च ओहोदासँगै कर्मचारी सयन्त्रको समेत संलग्नताले देशको वास्तवमा नै शिर निहुरीएको छ ।
यो काण्डसँग जोडीएर धेरै कुरा बाहिर आएका छन् । कांग्रेसका एक प्रभावशाली (नेता निर्वतमान गृहमन्त्री बालकृष्ण खाँड यति बेला जेलमा छन् । नेकपा एमालेका सचिव टोपबहादुर रायामाझी मात्र हैन तत्कालीन गृह सचिव टेकनारायण पाण्डे समेत जेलमा छन् । यस गिरोहका नाइके समेत पक्राउ परी सकेका छन् । पक्राउ परेकाहरुलाई सरकारले कारबाही गर्ने पाटो एउटा भयो तर पार्टीहरुमा देखिएको मुर्दाशान्तिको पार्टी भयानक छ ।
आज यो देशमा आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने र देशको शासन सत्ता सबै भन्दा बढी चलाएको नेपाली कांग्रेस मौन छ । पार्टी सभापति शेरबहादुर देउवाका कुनै बेलाका दाहिने हात बालकृष्ण खाँड पक्राउ परे होलान् । आरजु भाउजूको नाम आयो होला । देउवाका हातमा देशको सासन सत्ता हातमा हुँदा यस्तै नभएपनि धेरै भ्रष्टाचारका काण्डहरु आइरहने हँुदा उनका लागि यो सामान्य विषय बन्न पुग्यो होला तर कांग्रेसभित्र अरु कुनै नेता छैन त यसलाई सार्वजनिक बहस गर्न सक्ने ? जसरी वीपीका अगाडि उभिएर सिधा उनै विरोध शेरबहादुर देउवाले गर्थे त्यसै गरि आज शेरबहादुरका अगाडि उभिएर किन कांग्रेसका नेताहरुले प्रश्न गर्न सकिरहेका छैनन् । के कांग्रेसभित्रको प्रजातन्त्र मरिसकेको हो त ? आज एउटा सानो झुण्ड लिएर गुरुराज घिमिरे दौडिरहेका छन् । उनका पछि खै त हिजोका ठूला नेताहरु ? कि सबै कांग्रेसका नेताहरुलाई भ्रष्टाचारविरुद्ध बोल्यो भने आफूलाई पनि पोल्छ भन्ने चिन्ता छ । यदि त्यसो हो भने मैले केही भन्नुछैन । नत्र भने हरेक कांग्रेसका नेताहरुबाट आज जनताहरुले यही प्रश्नको उत्तर खोजिरहेका छन् । यदि यो प्रश्नको उत्तर नलिइ २०८४ सालको निर्वाचनले सबैको चेत खुलाउने छ ।
अब कांग्रेस जनले मात्र हैन हरेक पार्टीका इमान्दार कार्यकर्ताहरुले एक पटक सोच्ने बेला आएको छ । अब दुईओटा बाटा प्रष्ट छन् । हरेक कार्यकर्ताहरुले अब व्यवस्था रोज्ने कि व्यक्ति रोज्ने भन्ने निर्णय लिने बेला आएको छ । बा, दाइ, भाउजू राज्ने हो भने अब व्यवस्था जान सक्छ । यति बा दाइ र भाउजू छोडेर व्यवस्था रोज्ने हो भने सडकमा उनीहरु विरुद्ध आवज उठाउनु पर्छ । भ्रष्टहरुलाई जेल हाल्नु पर्छ । सबै नेता र उच्च पदस्त कर्मचारीहरुको सम्पत्ति छानविन हुनु पर्छ । यसको आवज हामीले सिमायलका रुपमा उठाउन सकेनौ भने यो धेरै लामो संर्घष गरेर ल्याएका उपलब्धीहरु गुम्ने कुरामा शंका छैन् ।
आज देश आर्थिक रुपमा टाट पल्टेको छ । देशमा भएका युवा र दक्ष जनशक्ति खाडीमा छन् । यसको जिम्मा कसले लिने ? खाने र पाउने जति सबै नेताहरुले नै गरेका छन् । देश चलाउनेले नै बिगारेका छन् । तर, पार्टीका कार्यकर्ताहरु बोल्दैन् । नेताका झोला बोक्ने मात्र हैन भाउजूका पेटिकोट बोकेर भएपनि लाभ लिनका लागि कार्यकर्ताहरु लालायित देखिन्छन् । यदि त्यसो नभए किन आज कुनै पार्टीमा भ्रष्टाचार, अनियमिताको चर्को रुपमा आवाज उठ्न सक्दैन त ? के सबै दलहरुभित्रको लोकतन्त्र मरिसकेको हो ? कि कुनै नेताको विरोध ग¥यो भने आफ्नो पनि दानापानी बन्द हुन्छ भन्ने चिन्ता सबैमा परेको हो ? मैले आज मूल रुपमा कांग्रेसजनहरुलाई अलि बढी प्रश्न गर्नुका पछाडि धेरै कारण होलान् तर, मूल कारण भनेको कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र किन यति कमजोर भयो भन्ने विषयका कारण नै हो । वीपीले भनेको कुरा सबैले पढेका छन् तरपनि उनीहरु बोल्न चाहँदैनन् वीपी भन्नुहुन्थ्यो । प्रजातन्त्र प्राप्तिपछि पार्टीमा सुकिलामुकिलाहरुको हाबी हुन्छ । त्यस बेला वास्तविक कार्यकर्ताहरुले अन्तर संघर्ष गर्नुपर्छ । यो पार्टी आज वीपीले भने झैं तिनै सुकिलामुकिलाहरुको कब्जामा छ । उनीहरुलाई जस्तो मर्जी हुन्छ त्यसैगरि पार्टी चल्छ । त्यही कारण आज बजारमा जति ठूला काण्डहरु आएपनि हात्ती आयो, हात्ती आयो फुस्सा.. भने जस्तै हुन्छ । यो भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक लैजाने देशद्रोहको अर्को श्रृङ्खला पनि त्यही हो ।