मेरो नाम प्रसिद्धि श्रेष्ठ हो । म फ्रान्सको युनिभर्सिटीमा पढ्छु । म चैत ४ गते दोहा हुँदै कतार एयरलाइन्सबाट घर आइपुगेको थिएँ । मलाई सुरुमा संक्रमण भएको पत्तो थिए । घर आएको चौथो दिनमा टेष्ट गर्न अस्पताल गएको थिएँ । दुई दिनपछि रिपोर्ट आउँदा पोजेटिभ आयो । अहिले २७ दिनपछि घर फर्कदैछौं ।
म जहाजमा रहँदा पनि अलग्गै अरुसँग नजिक नपर्ने गरी बसेकी थिएँ, कोरोनाको महामारी चलिरहेकाले मैले जहाजमै सजगता अपनाउँदै आएँ । शौचालय पनि प्रयोग गरिनँ । त्रिभुवन विमानस्थलमा ओर्लिएदेखि घरमा आएपछि पनि मैले आफूलाई सेल्फ आइसोलेसनमा राखेकी थिएँ । त्यहीकारण मेरो परिवारका अरु कुनै सदस्यलाई कोरोना सर्न पाएन।
घरमै सेल्फ आइसोलेसनमा बसेपनि आफूलाई कोरोना भएको अनुमान गरेको थिइन । ुमैले आफूलाई कोरोना भएको ठानेकी थिइनँ, तर सजगता चाहिँ अपनाएकी थिएँ। घर आएको चौथो दिनमा भितनामकी साथीले आफूलाई कोरोना भएकाले परीक्षण गर्न खबर पठाइन्। त्यसपछि मैले टेकुमा गएर परीक्षण गर्दा कोरोना देखियो। सुरुमा मलाई कोरोनाका कुनै पनि लक्षण देखिएका थिएनन् । बरु अस्पताल भर्ना भएपछि मैले कठिन चुनौतीको सामना गरेँ। आफूलाई कोरोना पुष्टि भएपछि शुक्रराज ट्रपिकल अस्पतालले घरैमा एम्बुलेन्स पठाएर उपचारका लागि भर्ना गरेको थियो ।
दोस्रो कोभिड १९ पोजिटिभका रुपमा मलाई यहाँ उपचार थालिएको थियो। अस्पतालमा २७ दिन बस्दा डाक्टरहरुको सहयोगले नै म अहिले ठीक भएँ । डा. अनुप बाँस्तोलाले सुरूबाटै नआत्तिनु ठीक हुन्छ भनेर दिनुभएको हौसलाले ठूलो काम गर्यो। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीसहितले व्यवसायिक सहयोग मात्रै होइन, व्यक्तिगत रुपमा सहयोग पनि गर्नुभएको छ। सागरराज भण्डारी र अनुप बाँस्तोलाको भूमिका प्रशंसनीय छु । अस्पताल आएपछि मलाई कोरोना संक्रमणको लक्षण देखिन थालेको थियो। मैले निकै कठिन अवस्थाबाट गुज्रिँदा डाक्टरहरुले दिएको हौसलाले मेरा लागि यसरी निको हुने बाटोका रुपमा काम गर्यो।
कोरोना संक्रमण भएपछि स्वास फेर्न एकदमै अफ्ठ्यारो हुने रहेछ । पेटमा दुखाई पनि चर्को थियो। थकाई एकदमै धेरै लाग्थ्यो । कोरोनासँग जुधिरहँदा समाजमा हुने टिप्पणीले पनि मनोबलमा असर गर्दो रहेछ। कतिले सत्य कुरा बोल्नुभएको थियो भने केहीले कुरै नबुझी चित्त दुख्ने कुरा गर्नुभयो। पत्रकारहरुले पनि राम्ररी नबुझी गरेको टिप्पणीप्रति मेरो गुनासो छ। कोरोना फैलिन नदिन संक्रमित र आशंकितका लागि सेल्फ आइसोलेसन एकदमै महत्वपूर्ण हुने रहेछ । सेल्फ आइसोलेसन एकदमै महत्वपूर्ण छ। धेरै हिँडडुल गर्नु भएन । अरुलाई जोगाउनु छ भने तोकिएका सबै नियम आफूले पालना गरिदिनु पर्छ।
अन्य संक्रमितलाई कोरोनासँग जुध्न सबैभन्दा ठूलो धैर्यता र आत्मबल चाहिने अनुरोध गर्दछु । संक्रमितहरु धैर्यताका साथ बस्नुहोला। कोरोना निको हुन लामो सयम पनि लाग्न सक्छ । मलाई पनि एकैचोटी सन्चो भएको होइन, लगातार परीक्षणपछि नेगेटिभ आएको हो। कोरोना मनलाई अत्याउने खालको रहेछ। लक्षण देखिएसँगै आत्मबल बलियो चाहिन्छ। यो रोगलाई पराजित गर्न आफ्नो आत्मबललाई कमजोर हुन नदिनुस्, डाक्टरको सल्लाह मानेर धैर्यताका साथ बसिदिनुस्।
मलाई सञ्चो भएको छ । म कोरोनाबाट रिकभरी हुनासाथै प्लाज्मामा एन्टीबडी भएकाले अब यो दान गर्न तयार छु। मैले दान गरेको प्लाज्माले अरु बिरामीलाई सहयोग गरोस्ु । मलाई यो जटिल अवस्थामा हौसला दिएर साथ दिनुभएका बाबा, ममीसहित परिवारका सबै सदस्यसँग आभारी छु, डाक्टरहरुप्रति म सधैँ ऋणी रहनेछु। सरकारले कोरोना संक्रमितको उपचारका लागि पर्याप्त तयारी गरेको छ । धेरै मानिस अझै आइसोलेसन र क्वारेन्टाइनमा पुग्न नपाएकोतर्फ ध्यान दिनुपर्छ । सबैसम्म सुविधा पुगेको रहेनछ । सरकारले त्यसमा ध्यान दिनुपर्छ । संक्रमण फैलिन नदिन सेल्फ आइसोलेसन बस्नुपर्छ। मैले त्यही गरेकैले कोरोना फैलिएन। तपाईंहरुले पनि परिवारमा बाहिर आएको भए परीक्षण गर्नु होला। सकेसम्म महामारीको बेला आफैं सजग रहनुस्।
(२७ दिन लामो उपचारपछि शनिबार अस्पतालबाट डिस्चार्ज भएकी नेपालकै दोस्रो कोरोना संक्रमित श्रेष्ठले नेपाल टेलिभजनसँग गरेको कुराकानीको संपादित अंश)