विमल लामिछाने
पत्रकारिता शुद्धीकरण विषयले बहसको रुप लिइरहेको छ । महासंघका फोरमहरुमा यो विषयले स्पेस पाइरहँदा पेशागत मर्यादा र व्यवसायिक हितका कुरा धेरै उठ्ने गरेका छन् । यो स्वभाविक पनि हो । शुद्धीकरण आफैंमा निर्मम र असहज विषय पनि हो । हरेक कुरालाई पेशागत संस्थाको ऐन र विधि विधानले बाँधेर मात्रै निकास निकाल्न सकिन्छ भन्ने हुँदैन । कतिपय विषयहरु निष्ठा, त्याग र नैतिकतामा पनि अढिएका हुन्छन् । अहिले महासंघले उठाइरहेको र वहस चलिरहेको विषय पनि यही निष्ठा, त्याग र नैतिकतासँग गाँसिएको विषय हो भन्न सकिन्छ ।
तर, मेरो व्यक्तिगत धारण के हो भने पत्रकारको संख्या घटाउनु वा बढाउनुले पत्रकारिता शुद्ध हुन्छ भन्ने होइन, पत्रकारिता शुद्ध गर्न त हरेक पत्रकारको आचरणमा भर पर्छ भन्ने लाग्छ । पछिल्लो समय पत्रकारितामाथि विभिन्न कोणबाट प्रश्न पनि उठ्ने गरेका छन् । तर आचरणमा उठेका प्रश्नको जवाफ आचरण सुधारेर मात्रै दिन सकिन्छ, संख्याको जोड या घटाउबाट दिन सकिँदैन ।
समग्र पत्रकारितालाई हेर्ने हो भने यहाँ यतिवेला उठेको प्रश्न संख्याको जोड र घटाउको मात्र होइन, आचरण र व्यवहारको पनि हो । पत्रकारिता स्वतन्त्र, व्यवसायिक र मिसनमा वर्गीकृत हुँदै जाँदा उठ्ने गरेका यी प्रश्नले बेलाबेला ठूलै वहसको रुप लिने गरेको छ । सतही रुपले हेर्दा एउटै जस्तो देखिए पनि विशेषताका आधारमा पत्रकारिता दुईधार बनाएर दौडिएको स्पष्ट देख्न सकिन्छ । एउटा धार अझै पनि यथास्थिति, चाकडी र मुनाफालाई सर्वोपरी राखेर परिवर्तनको विरोधी गतिविधिबाट प्रेरित रहेर पत्रकारिता गरिरहेको छ भने अर्को धारले जनपक्षीय र वर्गीय पत्रकारिताको पक्षपोषण गर्दै आएको छ ।
नेपाललगायत विश्वका मुलुकहरुमा पत्रकारिताको प्रारम्भ नाफा कमाउन, उद्योग व्यवसाय वा व्यापार धन्दाको रुपमा भएको होइन, अपितु राजनीतिक, धार्मिक वा सामाजिक उद्देश्य पूरा गर्नका लागि भएको पाइन्छ । पत्रकारिताको शुरुआत देखिनै नेपालमा दुईथरिका पत्रकारिता भएको पाइन्छ । राणाकालीन समयमा पनि एकथरी राणा शासनको पक्षपोषणमा र अर्को त्यो व्यवस्थाको विरुद्ध घुमाउरो भाषामा भए पनि उभिएको पाइन्छ । पञ्चायत कालभरी पनि दुईधार नै थियो, एउटाको उद्देश्य पञ्चायती व्यवस्थालाई हरेक उपायले जोगाउनु र अर्कोको उद्देश्य निरंकूश व्यवस्थालाई फालेर प्रजातन्त्रको स्थापना गर्नु थियो ।
दुवै खालको पत्रकारिता एउटा निश्चित उद्देश्य लिएर चलेका हुनाले त्यसवेला पश्चिमी मुलुकमा स्थापित स्वतन्त्र वा व्यावसायिक मान्यताका अनुसार पत्रकारिता चल्नु सम्भव थिएन । केहीले रहर गरे पनि दीर्धकालीन रुपमा टिकाउ हुन सकेनन् । पञ्चायतकालमा असंलग्न राष्ट्रहरुको आन्दोलनको प्रभाव स्वरुप र बहुदलीय राजनीतिमुखी पत्रकारिताको विरोधको निकासको रुपमा पनि तत्कालीन राज्यव्यवस्थाले विकास पत्रकारितालाई प्रोत्साहन गरेको पाइन्छ । यो पञ्चायत विरोधीहरुका लागि हरियो घाँस थियो । व्यावसायिक पत्रकारिताको अभ्यास गर्न चाहने कतिपय पत्रकारहरु यसैमा भुले भने कतिपय पत्रकारहरु राजनीतिक वा मिसन पत्रकारितामा लागे । कोही कोही भने दुवैतिर कलम चलाउँदै दुवैका साँचिला भएर बसे । बहुदलीय व्यवस्थाको स्थापनापछि मात्र नेपालमा वर्गीय मिसन पत्रकारिता वा व्यावसायिक पत्रकारिताको सम्भावना मात्र होइन यसको अपरिहार्यता नै महशुस भएको र क्रान्तिकारीहरुले त्यसको पक्षमा कलम चलाएको पाइन्छ ।
पत्रकारिताको इतिहासमा दशक पहिलेकै अवस्था हेर्ने हो भने अहिलेको भन्दा फरक थियो । केहि मिडिया थिए । ती मिडियाहरु मार्फत नै जनमानसमा विचारको सिर्जना हुन्थ्यो । त्यसवेला न त अहिलेको जस्तो अनलाइन मिडियामा वर्षायामको भेल आए जस्तै गरी समाचार आउँथ्यो, न त नागरिकहरुले कुनै पनि विषय वस्तुलाई लिएर सार्वजनिक रुपमा सहजै सोसल मिडिया मार्फत विचार दिन सक्थे । त्यसैले पहिलेको पत्रकारिता एकोहोरो थियो । तर अहिले प्रविधिसँगै तीब्र गतिमा पत्रकारिता भइरहेको छ । पहिला सिधै टीभी, रेडियो वा पत्रिकाबाट मात्र समाचार आउँथ्यो । त्यसको लागि निश्चित समयसम्म कुरेर बस्नु पर्ने हुन्थ्यो । तर, अहिले आफ्नो वरिपरि, जतिबेला पनि आफूले चाहेपछि समाचार सुन्न, हेर्ने र पढ्न पाइन्छ ।
पत्रकारिता प्रविधिमैत्री र सहज भएसँगै चुनौती पनि उत्तिकै छन् । यी चुनौतीहरुलाई सामना गर्दै आजको पत्रकारिता कसका लागि किन गर्ने भन्नेमा प्रष्ट हुन जरुरी छ । बजारमा देखिएका नयाँ नयाँ, आकर्षण पत्रपत्रिका र अनलाइनहरुले नेपाली मिडिया मार्केटमा व्यावसायिकताको प्रवेश कसरी भइरहेछ भन्ने देखाइरहेको छ । विश्वव्यापीकरणको दौड, सञ्चार प्रविधिको अभूतपूर्व विकास, उदार संवैधानिक व्यवस्था आदिले गर्दा पनि नेपालमा पत्रकारिताको विकासमा तीब्रता र नयाँ मोड आएको स्पष्टै छ ।
पत्रकारको धर्म भनेको लोक शिक्षणको भूमिका निर्वाह गर्नु पनि हो । यदि पत्रकारिता समाजप्रति जिम्मेवार छैन भने त्यस्तो पत्रकारिता अराजकता मात्र हो । असल चरित्र बिनाका पत्रकारिता विचार शून्य आवाज मात्र हो । त्यस्तो पत्रकारिताले सदाचारको सट्टा दुराचार र अनाचार फैलाएर मुलुकमा विग्रह नै पहिल्याउँछ । पत्रकारले पेशाको दुरुपयोग गरेर निहित स्वार्थवश धन, वैभव आर्जन गर्नु दलाली र व्यापार हो । त्यस्तो पत्रकारिता कदापी जिम्मेवार पत्रकारिता हुन सक्दैन् ।
प्रगतिशील भनिएकाहरुले गर्ने पत्रकारिताले आवाजविहीनहरूको आवाज बोल्नु पर्छ भने आफ्नो वर्गप्रति सधैँ इमानदार बन्न सक्नु पर्छ । जनताले न्याय र समानताको आस गरेको हुन्छ, त्यसमाथि पनि विश्वास जगाउन श्रमजीवि पत्रकार सधैँ जनताको बिचमा हुनै पर्छ । त्यसले वर्गीय पक्षधरतालाई थप मजबुत बनाउनुका साथै जनतामा थप भरोसा पैदा गराउँछ ।
पछिल्लो समय परिवर्तनका विरोधी शक्ति केन्द्रका एजेन्टका रुपमा पत्रकारिता गर्नेहरु बढ्दै गएका छन् । उनीहरुले बाहिर बाहिर पत्रकारिता स्वतन्त्र हुनुपर्छ भन्छन् र भित्रभित्र घरानीयाँ र उही पुरानै सामन्तवादको पक्षपोषण गरिरहेको पाइन्छ । स्वतन्त्रताको नाममा अराजकतालाई कहिल्यै प्रश्रय दिनुहुन्न । महासंघको नेतृत्वदायी भूमिका निर्वाह गरिहनुभएकाहरुले पनि यो कुरालाई मध्यनजर गर्न सक्नुपर्छ । अनि मात्रै पत्रकारितालाई शुद्धीकरण गर्न सकिन्छ ।
अब रह्यो स्वेच्छिक अवकासको कुरा । अरु पेशा वा व्यवसायमा जागिरेलाई जागिरपछि पेन्सन वा सेवा सुविधा लिएर जीवनको उत्तरार्ध व्यतित हुन्छ । राज्यले निश्चित अवधिको समयसिमा पछि कर्मचारीलाई सहयोग गर्छ । राजनीति गर्नेले अन्तिम लक्ष्य सांसद, मन्त्री र पार्टीकै अध्यक्ष वा संसदीय दलको नेता रहेछ भने प्रधानमन्त्री र राष्ट्र नायककै पदको इच्छा राख्ला । तर, एउटा पत्रकारले पत्रकारिता गरेको ६० वर्षसम्म उसको नत पेन्सन छ, न त उपचार खर्च कतै पाउँछ, न त आर्थिक सहायता सहज पाउँछ । राज्यको सेवा जीवनभर गरेको छ । जनचेतना जगाएको छ । समाजका विकृति, विसंगतिको चर्को विरोध गरेकै छ । राज्यलाई असल राज्य बनाउन सघाएकै छ, तर पनि त्यो वर्ग सत्ताका लागि उपयोगी हुन सकेको छैन । एउटा अग्रज पत्रकारिताको लामो इतिहास बोकेर पनि सन्तुष्ट हुने ठाउँ पाएकै हुँदैन । उसको जीवनको लाइसेन्स भनेकै महासंघको सदस्य हो । यस्तो अवस्थाका अग्रज पत्रकारलाई पनि बाध्य भएर महासंघ भनिरहेको छ, स्वेच्छिक अवकास लिनुहोस् । अब स्वेच्छिक अवकास लिने आग्रजहरुसँगै महासंघले स्वेच्छिक प्याकेजिङ सेवाको योजना पनि ल्याउन तयारी हुने किन हुने यो पनि वहसको विषय बनाइनु पर्छ ।
अर्कोतर्फ अब स्वतन्त्र पत्रकार, पेशामा समेत टिक्न नसक्ने अवस्था आउँदैछ । स्वच्छ पत्रकारिता गरेर मात्र बाँच्न सक्ने अवस्था कमै छ । कि महासंघले पत्रकारिताभित्र बाँच्न सक्ने ज्ञारेण्टी लिने साहस राख्न सक्नु पर्छ कि मुख्य पेशा र सहायक पेशा भन्ने विषयमा लचकता अपनाउन सक्नुपर्छ । यो सन्दर्भमा उसको मुख्य पेशा पत्रकारिता हो कि होइन त्यो मुख्य कुरा हो । यहाँ अर्को विषय पनि खड्किएको छ । अहिले कुनै संगठनको साथ बिना जतिसुकै पुरानो, निडर पत्रकार होस् उसले ठाउँ पाउँदैन । चाहे पत्रकार महासंघले दिने सम्मान होस् वा प्रेस काउन्सिलको पुरस्कार वा सरकारले दिने राष्ट्रिय पुरस्कार तथा महासंघले छान्ने स्वतन्त्रता सेनानी सम्मान वा राष्ट्रपतिबाट दिलाइने पदक तथा विभूषणहरूको विवरण नै किन नहोस् यी सबै निष्पक्ष छैनन् ।
अराजकता सबैतिर छ । त्यो अराजकतालाई नसच्याई गणितीय शुद्धता खोजेर मात्र शुद्धीकरण हुँदैन । पत्रकार शुद्धीकरणमा सम्बन्धित व्यक्ति आफै शुद्ध हुन संकल्प गर्न सक्नुपर्छ । महासंघले हटाए संगठनको बलमा सदस्यता प्राप्त गरिहाल्छु नि ! भन्ने भावना अब कसैले पनि नराखौं । पत्रकारितामा शुद्धिकरणको जरुर खाँचो छ ।
bmllamichhane@gmail.com