संक्रमित सबैको आरडिटी नतिजा नेगेटिभ थियो

र्‍यापिड डायग्नोष्टिक टेस्टको विश्वसनीयतमा प्रश्न/क्वारेन्टाइनमा बस्नेको पनि स्वाब परीक्षण गर्न जोड

विराटनगर । उदयपुरको भुल्केस्थित मस्जिदमा भेटिएका कोरोना संक्रमित सबैको र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) मा नेगेटिभ नतिजा आएको खुलेको छ ।

सरकारले चीनबाट ल्याएको र्‍यापिड डायग्नोष्टिक टेस्ट किटको विश्वसनीयताबारे प्रश्न उठिरहेको बेला उदयपुरको घटनाले सबैलाई झस्काएको छ । आरडिटीमा नेगेटिभ देखिएकाहरु संक्रमित पुष्टि भएसँगै यसअघि आरडिटी गरेर क्वारेन्टाइनबाट घर पठाइएकाहरुको पनि स्वाब कलेक्सन गरी पिसिआर परीक्षण गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

उदयपुरको त्रियुगा २ भुल्केको मस्जिदमा १२ भारतीय र ४ नेपाली बसिरहेको भेटिएपछि गत मंगलबार र्‍यापिड टेस्ट गरिएको थियो । र्‍यापिड टेस्टमा नतिजा नेगेटिभ आएपछि थप यकिन गर्न सबैको स्वाब संकलन गरेर पठाउदा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । र्‍यापिड किटबाट गरिएको परीक्षणले सहि नतिजा नदिएपछि अब सबैं शंकास्पदको स्वाब नै परीक्षण गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

र्‍यापिड टेस्ट गर्दा नेगेपटिभ देखिएकाहरुको प्रयोगशालामा पोजेटिभ नतिजा आएपछि उदयपुरको भुल्केबासी त्रसित छन् । स्थानीय यदु ढकालले कोरोना संक्रमित मस्जिदका मुस्लिमहरुहरुको स्थानीयसँग पनि सम्पर्क भएकोले उनीहरुको स्वाब नै परीक्षण गर्नुपर्ने बताउनुभएको छ । स्थानीयले र्‍यापिड टेस्टको औचित्य नभएको बताएका छन् ।

मस्जिदमा रहेका १६ मध्ये ४ जनाको भने र्‍यापिड र पिसिआर दुवै परीक्षणमा नेगेटिभ देखिएको छ। यद्यपी चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

भुल्के मस्जिदमा भेटिएका संक्रमितमा कुनैपनि लक्षणसमेत देखिएको छैन । विराटनगर स्थित कोभिड १९ उपचार केन्द्रमा शुक्रबार राति भर्ना गरिएकाहरुमा कुनै पनि लक्षण नभएकोले चिकित्सकको निगरानीमा राखिएको छ । कोरोनाको कुनै औषधि नभएकोले लक्षणका आधारमा औषधि दिएर उपचार गर्ने गरिन्छ ।

यसअगाडि नै चीनबाट ल्याइएका र्‍यापिड टेस्ट किटको गुणस्तरमा विज्ञहरूले प्रश्न तेर्स्याएका थिए। विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको किट प्रयोग गरिएको भन्दै आलोचना भएपछि सरकारले देशब्यापी रुपमा सो किट पठाएर क्वारेन्टाइनमा रहेकाको परीक्षण गर्दै घर पठाएको छ ।

त्यसो त ¥यापिड टेष्टमा पोजेटिभ देखिएका झापा र मोरङका २ जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ नतिजा आउको छ । गत चैत २५ गते वीरगन्जबाट कैलाली पुगेका एक महिलाको पनि र्‍यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ देखाएकोमा स्वाब परीक्षण गर्दा कोरोना देखिएको थियो ।

र्‍यापिड टेस्टले कोरोना संक्रमित व्यक्तिमा उक्त भाइरसविरुद्ध लड्ने एन्टिबडी बनेको छ वा छैन भनेर पत्ता लगाउने विज्ञहरूले बताएका छन् । संक्रमित व्यक्तिको शरिरले आइजिम एण्टीबडी २÷३ दिनमा उत्पादन गर्ने दुई सातामा त्यो हराएपछि आइजिजी भन्ने एन्टिबडी उत्पादन गर्ने बताइन्छ । त्यसैले त्यसैले आइजिएम पोजेटिभ देखायो भने कोरोना भाइरस भर्खरै भएको रआइजिजी पोजेटिभ देखायो भने कोरोना संक्रमण भएर निको भएको मानिन्छ ।

कोरोनालाई शरिरले परास्त गरेपनि आइजिजी एन्टिबडी लामो समयसम्म रहिरहने भएकोले र्‍यापिड टेस्ट गर्दा पोजेटिभ तर पिसिआरमा नेगेटिभ देखिने बताइन्छ । तर, उदयपुरको मस्जिदमा एक महिना अगाडि नै पुगेकाहरुमा र्‍यापिड टेस्टले नेगेटिभ देखाएपछि चिकित्सक नै अलमलमा परेका छन् ।

चिकित्सकहरुले यस्ता किटको विश्वसनीयता नहुने भन्दै कोरोना यकिन गर्न स्वाब परीक्षणको दायरा नै बढाउनुपर्ने सुझाब सरकारलाई दिँदै आएका छन् । सरकारले सात करोड बढी रकम खर्चेर चीनबाट ७५ हजार यस्ता किट ल्याएको छ।

शनिबार, ०६ बैशाख, २०७७, दिउँसोको १२:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर