विराटनगर । उदयपुरको मस्जिदमा रहेका सबै १२ जनामा कोरोना रहेको पुष्टि भएको छ ।
विराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा संक्रमण देखिएकोमा उनीहरुसहित नेगेटिभ देखिएकाको स्वाब पनि काठमाडौंमा परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार संक्रमितहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका छन् ।
कोसीको प्रयोगशालामा ८ जना भारतीयमा कोरोना देखिएपनि अन्य पनि शंकास्पद देखिएपछि बिहीबार राति थप परीक्षणको लागि उनीहरुसहित थप १० जनाको स्वाबको नमुना काठमाडौं पठाइएको थियो । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १२ जनामा कोरोना रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना रहेको पुष्टि गरेको हो ।
भुल्केको मस्जिदमा मस्जिदमा १२ भारतीय र ४ नेपाली बस्दै आएका थिए । उनीहरु सबैको पीसीआर परीक्षण गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ आएपछि उनीहरुलाई राति नै उदयपुरबाट विराटनगर स्थित कोरोना विशेष अस्पतालमा ल्याउन लागिएको छ । उक्त अस्पतालमा चिकित्सक टोली तथा सम्पूर्ण उपकरण तयारी अवस्थामा राखिएको प्रदेश सरकारले जनाएको छ ।
यसैगरी शुक्रबार नै चितवनको राप्ती नगरपालिका ८ का दुई जनामा पनि कोरोना पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको स्वाब परीक्षणमा पनि कोरोना देखिएपछि थप परीक्षणको लागि नमुना काठमार्डौं पठाइएको थियो । उनीहरु एक महिना अगाडि बेलायतबाट आएको बताइएको छ ।
शुक्रबार एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरुमध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।