खवरदार ! भ्रष्ट जोगाउने खेल बन्द गर

  विमल लामिछाने

अहिले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका जाने र लानका लागि किर्ते गरेर करोडौं कुम्ल्याउनेहरुदेखि साक्षी किनारा बस्नेहरुको पर्दाफास भइरहेको छ । हिजो युद्धमा बम, गोला र बारुदसँग खेलेका कमाण्डरहरु आज मानव तस्कर बनेका छन् । हिजो देश बनाउने, संसारलाई चिनाउने, मरे सहिद बन्ने जिते संसार जित्ने आदर्श लिएर हिँडेकाहरु विचौलीया र तस्कर बनेका छन् । जसले गर्दा हाम्रो देश संसारमा दलाली, तस्कर र भ्रष्टाचारले आक्रान्त देaशको रुपमा चिनिदै गएको छ ।

नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणले हाम्रो देशको राज्य संयन्त्रको उपल्लो तहमा बस्नेहरुबाटै भएको गम्भीर राष्ट्रघात र अपराधिक मानसिकताको पर्दाफास पनि भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौँ रुपैयाँ असुलेको गिरोहलाई राजनीतिक नेतृत्वदेखि गृह मन्त्रालयका सचिवसम्मले सहयोग गरेको आरोप लाग्नु जोकको विषय होइन ।
हालै पर्दाफास भएको नक्कली भुटानी शरणार्थी प्रकरणले यो देशमा कुन स्तरको र कति निकृष्ट तहको भ्रष्टाचारसमेत हुन्छ भन्ने सबैका सामु घामझै छर्लङ्ग बनाइदिएको छ ।

भ्रष्टाचार एक यस्तो महाअपराध हो, जसमा संलग्न अधिकारीलाई जतिसुकै दण्ड दिए पनि कम नै हुन्छ । तर, दुर्भाग्य आज देश त्यसैको दुश्चक्रमा फसेको छ । नेपालको गरिबी, अल्पविकास, बेरोजगारी, असमानता र सामाजिक विभेदका अरु पनि कारण होलान, तर एउटा मुख्य कारण भने भ्रष्टाचार नै हो ।

गरिब र भ्रष्ट राज्यमा आर्थिक असन्तुलनको समस्या सधैं हुन्छ । किनकि, भ्रष्टाचारले स्रोत र साधनलाई, गैरकानुनी र प्रतिउत्पादक क्षेत्रमा परिणत गरिसकेका हुन्छन् । भ्रष्टाचार रोकिने हो भने राष्ट्रहरू धनी हुन कत्तिबेर पनि लाग्दैन । विकासको पारो उच्च्तम विन्दुमा पु¥याउन एउटै मानिस वा पुस्ताको जीवनकालमा सम्भव हुने कुरा हो । विकसित मुलुकहरुलाई हेर्ने हो भने यो केही दशकमा नै सम्भव भएको पाउन सकिन्छ ।
जहाँ भ्रष्टाचार धेरै हुन्छ, त्यहाँ आर्थिक विकास, मानवीय जीवन गुणस्तर र सामाजिक न्याय र सामञ्जस्यता कमजोर हुन्छ । जहाँ भ्रष्टाचार कम हुन्छ वा हुँदैन तिनै देश सभ्य, सुशासित, सुसंस्कृति, विकसित, समृद्ध, समावेशी र बलियो भएका उदाहरणहरु विश्वको राजनीतिक अभ्यासले पनि पुष्टी गरिसकेको विषय हो ।

जुन देशमा बढी भ्रष्टाचार हुन्छ जहाँ गरिबी बढी छ र तिनै देश गरिब छन् । जहाँ भ्रष्टाचार बढी छ । भ्रष्टाचार कमजोर राजनीतिक, प्रशासनिक, संस्थागत र सामाजिक प्रणालीको द्योतक हो । सतहमा हेर्दा भ्रष्टाचारले निश्चित शक्तिशाली परिवार र वर्गलाई फाइदा पु¥याइरहेको देखिएपनि समग्र मुलुक र वर्गीय श्रमजीवीहरु नजानिदो तवरले दिन दिन कंगाल बनिरहेका हुन्छन् । भ्रष्टाचारले प्रकारान्तले कसैलाई पनि कुनै फाइदा गर्दैन । किनकि, भ्रष्टाचारले गरिबलाई व्यापक बनाउँदै लान्छ र समग्र अर्थतन्त्र र राज्य प्रणाली नै त्यसको शिकार हुने स्थिति आउँछ । नेपाल यसैको उदाहरण बनेको देखिन्छ । यदि भ्रष्टाचार नहुँदो हो भने विकासले गति लिन समय लाग्दैन ।

हाम्रोमा अझैपनि असली रुपमा खेती किसानी गर्ने र उद्यमशील मानिससँग पैसा छैन । त्यो वर्गीय मान्छसँग राज्यकोषको कुनैपनि नाममा विनियोजित रकम नै पुग्दैन । काम नगर्ने, अनुत्पादक, विचौलिया र तस्करसँग किसान र मजदुरका नाममा विनियोजित पैसा पुगेको छ । ताकि सरकारले पनि सिधै किसान र मजदुर वा श्रमजीवी वर्गको हातमा पैसा पुग्ने गरि योजना नै दिन सकेको छैन । हरेक योजनामा विचौलीया र तस्करकै राज हुँदै गएको छ । यो हुनु पनि घुमाउरो भाषामा कमिशन र घुसखोर र भ्रष्चाचारकै पक्षपोषण गर्नु हो । भ्रष्टाचारले विपन्न वर्ग र सीमान्त समुदायमाथि दोहोरो मार पर्दछ । एकातिर उनीहरूसमक्ष पुग्नपर्ने, उनीहरूको अधिकार लाग्ने राज्यको स्रोत, साधन र सुविधा पुग्दैन, अर्कोतिर राजनीतिक तथा प्रशासनिक प्रणालीले उल्टै उनीहरूको श्रम तथा आर्थिक शोषण गर्दछ । तसर्थ, भ्रष्टाचारले गरिबलाई झन् गरिब, शक्तिहीनलाई झन शक्तिहीन बनाउँदै लगेको छ ।

शक्ति र पहुँचका आधारमा भ्रष्टाचार पचाएकाहरूले सामाजिक स्वीकृति पाउने र उनीहरूले उल्टै ठूला कुरा गर्दै हिँड्ने वातावरण कायम रहेसम्म सामाजिक नैतिकता र सदाचारको स्तर उकासिन सक्दैन ।

तर अहिले मुलुकमा समातिएका आरोपीहरु चोख्याउन केही दलहरु खुलेआम रुपमै कम्मर कसेर गहुँत छर्कन लागिपरेको पाइन्छ, तर आम जनताको चाहना मुलुक बनाउँने हो । संविधान, कानुनद्वारा भ्रष्टाचारविरुद्ध विश्वसामु प्रस्तुत नेपाल राष्ट्रिय नीति र कार्ययोजना बनाउन पछाडि परेको छैन तर कानुन कार्यान्वयन गर्ने, गराउने राजनीतिक एवं प्रशासनिक जिम्मेवारीमा रहेकाहरू नै यसरी इमान जमानको हेक्का नराखी मुलुककै छविमा धब्बा लगाउँछन् भने यस्ता ब्याक्ति चाहे जो भएपनि कानुनी कठघरामा ल्याउनै पर्छ । सरकार नर्धमराओस् जनता साथमा छन् । खवरदार ! भ्रष्ट जोगाउने खेलमा कसैले कसरत नगरोस् । भ्रष्ट जोगाउने खेल तुरुत्न बन्द गर ।

शुक्रबार, ०५ जेठ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर