गोकुल पराजुली
नेपाली भाषाका दार्जिलिङे साहित्यकार इन्द्रबहादुर राईले धेरै पहिले चर्चित उपन्यास ‘आज रमिता छ’ लेखे । उपन्यासको कथावस्तुभित्र राजनीतिका थुप्रै पक्षहरू समावेश छन् । त्यसबखत दार्जिलिङको चियाकमानमा मालिक र श्रमिक पक्षबीच भएको संघर्ष, त्यसमा सहभागी नेता र श्रमिकहरुको बुझाइ आदि विषयलाई उपन्यासले उजागर गरेको छ । उपन्यासका अनुसार आन्दोलनमा एकथरी राजनीतिक रुपमा सचेत र अर्काथरी लहड र कुरा नबुझी सहभागी भएको विषयलाई प्रस्तुत गरिएको छ । आन्दोलनमा श्रमिक वर्ग अवसरवादी नेताको स्वार्थको साधन बन्छन् । ती चियाकमानका श्रमिकहरू राजनीति नै नबुझी अरूका कुरामा लागि बहकिएर, लहैलहैमा कराउँदै, ठट्टा र जोसमा जुलुसमा सामेल हुन्छन् । प्रशासनको निषेधाज्ञा तोड्न र भिड्न बहकिएर जानेहरु प्रयोग हुन्छन् । आन्दोलनमा आठ जनाको ज्यान जान्छ । सहरमा सोही प्रकारका आन्दोलनहरु निरन्तर भइरहेका छन् । यस्ता सिद्धान्त र प्रतिबद्धताहीन आन्दोलनमा होहोरीमा लागेर सहभागी हुने चलनलाई उपन्यासकारले रमिताको संज्ञा दिएका छन् ।
केही दिन यता यहाँका सहरहरुमा यस्तैखाले प्रदर्शनहरु भइरहेका छन् । सडकमा चर्का नाराहरु घन्किन थालेका छन् । आज एउटाले, भोलि अर्काले जुलुसको नेतृत्व गर्दै सडकमा नाराहरु घन्काइरहेका छन् ‘भ्रष्टाचारीलाई कारवाही गर’ –कारवाही गर ! कारवाही गर !!दृश्य बडो गजब गजबका देख्न पाइएको छ । कसैले प्ले कार्ड छातीमा टाँसेका छन्, कसैले कम्मरमाथिको भाग नाङ्गै पारेका छन् । कोही घोक्रो फुटाउन्जेल नारा लगाउँदै छन् भने कोही चाहिँ होहोरीमा साथ दिइरहेका छन् ।
कुरा भ्रष्टाचारको विरोधमा छ । भ्रष्टाचारले आक्रान्त बनाएको मुलुक र त्यसैका कारण निराश भएका जनताका लागि पछिल्लो सरकारी कदमले एउटा आशाको सञ्चार गरेको छ । सरकारप्रति विश्वास बढाएको छ र भ्रष्टाचारीलाई कारवाही गर नछोड भनेर दबाब दिन नितान्त आवश्यक छ । तर, यहाँ त्यस्तो सकारात्मक दबाब छैन बरु ‘आज रमिता छ ।’
एउटाले जुलुस निकाल्छ र भन्छ ‘त्यो भ्रष्टाचारीलाई कारबाही गर’ । अर्कोले भन्छ ‘त्यो भ्रष्टाचारीलाई कारवाही गर’ । दुबै सामुन्नेमा हुन्थे भने औंलाहरुले दुबैलाई औंल्याइरहेको हुने थियो । भलै फरक दिन र समयमा प्रदर्शनहरु भइआएका कारण त्यस्तो अवस्था आइसकेको छैन ।भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै अहिले जुलुसमा हिँड्नेहरु, धर्नामा बस्नेहरु सोच्दा हुन्, हामी निष्कलंक छौं र बाँकी सबै भ्रष्टाचारी हुन् । हामी दूधले नुहाएका छौं र बाँकी वागमतीमा बगाउन पनि नमिल्ने खालका छन् । तर, दृश्यले त्यसो भन्दैन । भ्रष्टाचारको विरोधमा उत्रिएका अनुहार हेर्दा यो आन्दोलनलाई वा अभियानलाई सफलतातिर पु¥याउँछ वा बीचैमा अलपत्र पारेर मिलिभगतमा सहभागी हुन्छन् भन्ने सन्देह गर्न सकिन्छ । यद्यपि शंकाको सुविधा दिनुपर्छ । जो कोही पनि विगत सुधारेर समुदाय र समाजमा स्थापित हुने अवसरका भागिदार हुन्छन् ।हिजो आफ्नो मनपर्ने नेताले अनियमितता गरेको टुलुटुलु हेरेर बस्ने र विरोधमा बोल्नेहरुको खोइरो उतार्नेहरु आज जुलुसमा देखिएका छन् । सहकारीमा बचत गरेका बचतकर्ताको रकम अपचलन गर्नेहरु भ्रष्टाचार विरुद्धको अभियानमा छन् । अपराध, ठेक्का, कमिशन आदिबाट नवधनाढ्य बनेकाहरु पनि भ्रष्टाचारका विरुद्धमा छन् ।
साँच्चै यस्तो दृश्य देखिदैछ कि साँच्चै यिनीहरु भ्रष्टाचारको विरुद्धमा उत्रिएकै हुन् र यो अभियानमा इमान्दारीकाका साथ लागेकै हुन् भने ठोकुवा गरेर भन्न सकिन्छ देशमा रामराज्य कायम भयो । सुशासन स्थापना भयो । अथवा त्यो बाटोमा गयो । तर, अवस्था त्यस्तै हो त ? अन्यथा सोमबार संसदमा सांसद ज्ञानेन्द्र शाहीले सुनाएको कथा जस्तै हुने हो ? उनले सुनाएको कथा अनुसार ‘एक साँझ गाउँको एउटा घरमा चोर पसेछ । घरमा चोर पसेको घरका सदस्यले चालपाएछन् र चोर–चोर भन्दै कराउन थालेछन् । गाउँलेहरु पनि भेला भएर चोर–चोर भन्दै हल्ला गर्न थालेछन् । चोरी गर्न पसेको चोर घरको पछाडिबाट भागेर त्यही भीडमा पसेर चोर–चोर भन्दै कराउन थालेछ ।’ उनको संकेत अहिले भइरहेको नारा जुलुस र प्रदर्शनप्रति परिलक्षित थियो ।
उनीहरु भन्दैछन् ‘भ्रष्टाचारीलाई कारवाही गर ! तर फलाना काण्डको मेरो मनपरेको नेताको होइन ।’ सरकारले एउटै घटनाबाट भए पनि सकारात्मक सुरुवात ग¥यो । जुलुस लगाउनेहरु सरकारलाई धन्यवाद दिने हिम्मत गर्दैनन्, बरु भन्छन् ‘लडाकु काण्ड छानविन गर्ने आँट छ ?’ यो भ्रष्टाचारविरुद्ध सहयोग गरेको हो कि अहिले बाहिरिएको काण्डको बचाउ ?
जे होस् सडकमा भ्रष्टाचारका विरुद्ध आवाजहरु उठेका छन् । जबरजस्ती भए पनि मानिसहरु बोल्न थालेका छन् । सहरमा ‘आज रमिता छ ।’ विरोध गर्नेहरुको अवस्था जे भए पनि कमसेकम विरोधका आवाज सुन्नेहरुमा पक्कै पनि भ्रष्टाचारविरुद्धको भावना पैदा त गराउला । रमिताकै बिचमा पनि यो एउटा खुसीकै कुरा हो ।