मेरा हजुर बा र घण्टी

 लीलावल्लभ घिमिरे

मेरो हजुर बाले राणा शासनलाई नजिकबाट निहाल्नु भएको थियो । हजुर बाको व्यवहार बोलिचालि देख्दा हामीलाई पनि राणा सासनको केही अंश भोगेको महसुस हुन्थ्यो । बाको बोल्ने शैली गाउँमा अरुलाई गर्ने व्यवहार हामीले किताबमा पढेको श्री ३ हरुको व्यवहारसँग मिल्दोजुल्दो थियो । तर, बाले तीनवटा शासन व्यवस्थामा आफूलाई अभ्यस्त गर्न सक्नुभएको थियो । जति व्यवस्था परिर्वतन भएपनि हजुर बा को व्यवहारमा कहिल्यै परिर्वतन देख्न पाएनौं । बरु ती व्यवस्थाहरु हजुर बाकै शैलीमा चलेको देख्दा मलाई निकै आश्चर्य लाग्थ्यो । हजुर बा पञ्चयातकालमा धेरै पटक प्रधानपन्च बन्नुभो । प्रजातन्त्र आएपछि पनि बा गाउँको अध्यक्ष बन्नुभो ।

हाम्रो घरमा हजुर बाले बोलेपछि कोही बोल्दैनथ्यौं । यहाँसम्म कि घरको कामकाज र खानपान समेत बाकै प्रत्यक्ष निगरानीमा चल्थ्यो । बाले परिवारभित्र नै कसैलाई काख र कसैलाई पाखा गर्नु हुन्थ्यो । बाका जस्तासुकै नराम्रा कुरा भएपनि सहि हो भनेर भजन गाउँने छोरानाति बाका प्यारा बन्थे । अलिकति बालाई मन नपर्ने कुरा ग¥यो भने त्यो बाको नजिकसम्म जान पाउँदैनथे ।

हजुर बाको उमेरले नेटो काट्दै थियो । गाउँमा फेरि चुनाव आयो । बिरामले समेत च्यापेका कारण बालाई हामीहरुले चुनावमा नउठ्न भन्यौं । बाको जिद्धिका अगाडि कसको के पो लाग्थ्यो । पार्टीमा धेरै युवा साथीहरु थिए । म पनि विद्यार्थी राजनीति गरेका कारण सबैसँग राम्रो सम्बन्ध थियो । पार्टीमा धेरै युवा पुस्तालाई अघि बढाउनु पर्छ भन्ने जनमत निकै बलियो थियो । तर, लामो समयसम्म मेरा हजुर बाको हैकममा चलेको हाम्रो पार्टीमा विद्रोह नै गर्ने हिम्मत धेरै जनासँग थिएन् । राणाकालीन विचार व्यवहार भएको अस्ताउन लागेको बुढोलाई दिएर गाउँलाई अझ कुरुप बनाउनु भन्दा युवालाई अघिसार्ने कुरामा सबै जना थिए । त्यसमा पनि मेरो नै नाम अघि सार्दा बाले नातिलाई त कसो नछोड्लान् भन्ने अनुमान सबैले गरेर मलाई उमेद्वार बनाउने निर्णय पार्टीले ग¥यो । तर बा को हुकुमी शासनमा कसैको केही लागेन अन्त्यमा मलाई उमेर छ यो अन्तिम पटक हो भने बालाई नै गाउँको अध्यक्ष पदको उम्मेदवार बनाउन पार्टी बाध्य भयो ।

हामी चुनावी मैदानमा घरले जा जा र घाटले आइज आइज भनेका वृद्धलाई अघि लाएर होमीयौं । हाम्रो पार्टीभित्रबाट विद्रोह गरेर म भन्दापनि कान्छो माथिल्ला घरको भाइ घण्टी चुनाव चिन्ह लिएर स्वतन्त्र उमेदवार बन्यो । बा ले चुनाव लड्न गौरी खेत बेच्नुभयो । घरमा भोज सुरु भयो । प्रचारमा जानेहरुलाई सुत्केरी महिलालाई खुवाउँदा जस्तै तीनछाक खुवाउनु पथ्र्यो । कार्यकर्ताहरु तिर्खा लागे भने पानी हैन बियर पिउन थाले । साँझ पर्न नपाउँदै बाका भोट माग्नेहरुको भट्टीमा सभा सुरु हुन्थ्यो । सबैका मुखमा एउटै कुरा सुनिन्थ्यो पाँच वर्ष बाले लुट्छन् यीलाई हामीले लुट्ने भनेको यही चुनावमा त हो नि ! खर्च बढ्दै गयो । बाले अर्को खेत पनि बेच्नुभयो । यहाँसम्म कि मतदान हुने अघिल्लो दिन मात्र घरको लैनो भौंसी समेत बेचियो बालाई जिताउनका लागि । तर, परिणाम उल्टो भयो । बाले बुरी तरिकाले हार्नुभयो । माथिल्लो घरको घण्टी चुनाव चिन्हमा उठेको भाइले ७५ प्रतिशत मत ल्याएछ ।

मत परिणमपछि बा पुरै जंगबहादुरको शैलीमा उत्रन थाल्नुभयो । घरकै सबै मत आएन भन्ने कुरामा बा बढी रिसाउनुभयो । अब बालाई चुनावको परिणामले घण्टी फोविया भएछ क्यारे घण्टी बजेको सुनो कि बा को सनक चढी हाल्ने हुन थाल्यो । हाम्रो घरमा बिहान र बेलुका हजुरआमाले सधंै पूजा गर्ने गर्नुहुन्थ्यो । चुनावको परिणाम आएको तस्रो दिन बिहान हजुरआमा पूजा सकेर घण्टी बजाउदै हुनुहुन्थ्यो बा एक्कासी गएर यो घण्टी नबजा भनेको सुनिनस् भन्दै झम्टन थाल्नुभयो । आमाको हातबबाट घण्टी खोसेर बाहिर फ्याँकी दिनुभयो । हाम्रो घरमा घण्टी बजाउन प्रतिबन्ध नै लाग्यो । घरको पूर्वतर्फ एउटा शिवजीको मन्दिर थियो । त्यहाँ नित्य पूजा हुन्थ्यो । परापूर्व कालदेखि पूजा हँुदै आएको शिव मन्दिरका सबै घण्टी बाले निकल्नु भयो र बाकसमा ताल्चा लगाउनु मात्र भएन पुजारीलाई पूजा गर्दा घण्टी नबजाउन चेतावनी दिनुभयो । त्यति मात्र हैन नजिकै रहेको विद्यालयमा पालेले घण्टी बजाइरहन्थे त्यहाँ पनि बाको आदेशमा पालेले घण्टी ठोक्न छोड्यो । शिक्षकहरु घडी हेरेर ४५ मिनेटमा कक्षावाट बाहिरन थाले ।

कहि कतै झुक्किएर कसैले घण्टी बजायो भने बाको पारो तातीहाल्थ्यो । हाम्रो घर अगाडिवाट सडक थियो । त्यहाँ कुद्ने रिक्सा साइकलले पनि घण्टी बजाउँथे । बाले घरको एक किलोमीटर वरपर घण्टी बजाउन निषेधित क्षेत्र भनेर सडकमा बोर्ड नै लागाउनु भयो । बालाई हामीले धेरै सम्झाउन खोज्यौं तर, सम्भव भएन । घण्टीकै पीरले बा अलिपछि थलिनु भयो । मृत्युसँग पौठेजोरी खेलिरहेका बाले अन्त्यमा हामी छोराहरुसँग एउटा कुरा माग्छु मर्ने बेलामा मान है भन्नुभयो । हामी सबैले हुन्छ भन्यौं । बाले भन्नुभयो ‘म मरेर गएपछि मेरो काजकृया गर्दा र पछि श्राद्ध गर्दा पनि कहिल्यै घण्टी नबजाउनु ल ! हामी छक्क प¥यौं । वास्तवमा धेरै वर्ष पहिलाको यो मेरा हजुर बाको घण्टीले फेरि यतिवेला आएर धेरै हजुर बाहरुलाई झस्काइरहेको छ । मेरो मानसपटलमा मेरा हजुर बाको घण्टी फोविया घुमिरहेको छ । सम्झन्छु मेरा बा कै जस्तो हातल कति जना बाहरुको भयो होला ? फेरि २०८४ सालमा कतिको हुन्छ होला । अनि मनमनै सम्झन्छु आफू र आफ्नो व्यवहार परिर्वतन नगर्ने व्यवस्था मात्र परिर्वतन गर्ने बाहरुको चेत कहिले फर्केला ?

आइतबार, ३१ बैशाख, २०८०

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर