गर्मीले बढाएको जोखिम

 सम्पादकीय

झण्डै एक सातायता विराटनगरसहितको तराई क्षेत्रमा अत्यधिक गर्मी बढेको छ । दिनहुँजसो अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस र कहिलेकाहीँ त्योभन्दा माथि पनि पुगिरहेको छ । केही दिनअघि विराटनगरको अधिकतम तापक्रम ४१ डिग्रीसम्म मापन भएको छ । यसरी तराईका क्षेत्रमा गर्मी ह्वात्तै बढेको मात्रै छैन, लु जस्तो तातो हावा पनि चलिरहेको छ । यसले जनजीवनलाई प्रभावित तुल्याएको छ । गर्मी याममा हुने स्वास्थ्य समस्याका घटनाहरु बढिरहेका छन् । यसबाट जोगिन सबैथरी सजगता अपनाउन आवश्यक छ । खासगरी अत्यधिक गर्मी र त्यसको प्रभावबाट जोगिन सर्वसाधारणले पर्याप्त सावधानी अपनाउन आवश्यक छ ।

केही दिनअघि सरकारले गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्नसक्ने भन्दै सतर्क रहन आग्रह गरेको थियो । एउटा सूचना मात्रै निकालेर सजग रहन आग्रह गरेर सरकारको दायित्व पूरा हुँदैन । सरकारले सर्वसाधारणलाई निन्तर सजग रहन घच्घच्याइरहने, विद्युत आपूर्ति कटौती नगर्न सजगता देखाउने तथा स्वास्थ्य संस्थाहरुमा चुस्त व्यवस्थापन बनाइराख्ने काममा आफूलाई लगाउनुपर्छ । एउटा सूचना जारी गरेकै भरमा प्रचण्ड गर्मीको समस्याले जनताले भोग्ने समस्या दूर हुँदैन ।

जनस्वास्थ्यका विज्ञहरुका अनुसार गर्मी याममा चल्ने तातो हावा अथवा लुले स्वास्थ्यमा प्रतिकुल असर पार्नसक्ने सम्भावना हुन्छ । जल तथा मौसम विज्ञान विभागले तापक्रम बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा लु चल्न सक्ने सम्भावना रहेको उल्लेख गरिरहेको छ ।  यसले मानव स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सचेत रही सुरक्षाका उपायहरू अपनाउन कसैले पनि आनाकानी गर्नु हुँदैन । लु लाग्दा हृदयको गति तीव्र हुन्छ भने श्वासप्रश्वास र रक्तचाप कम हुनेगर्छ । यस्तै शरीरबाट पसिना ननिस्कने, चक्कर लाग्ने, अचेत हुने जस्ता लक्षण पनि देखिन्छ । लु को कारण शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने जस्ता असर पनि लु लाग्दा देखिने हुन्छ  । तातो हावा वा लुबाट जोगिन दिउँसो घरबाट बाहिर ननिस्कने, फलफूलको रस र प्रशस्त पानी पिउने लगायतका उपाय अवलम्बन गर्न सकिन्छ ।

यसबाहेक गर्मीका धेरै पसिना आएमा कहिलेकाहिँ जीवनजल पिउने गर्नुपर्छ ।  बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न सकिन्छ ।  चिसो पानीले नुहाउन, मदिरा सेवन नगर्न, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने सल्लाह जनस्वास्थ्यका जानकारहरुले दिँदै आएका छन् । जानकारहरुको सुझाव पालनामा सर्वसाधारणले तत्परता देखाउन जरुरी छ । गर्मीकै कारण स्वास्थ्यमा आउने समस्या बढ्न सक्ने भएका कारण यो याममा पर्याप्त सजगता देखाउन पनि उत्तिकै जरुरी छ ।

आइतबार, ३१ बैशाख, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर