खेलाडीलाई सम्मान गरी विराटनगरले दिएको सन्देश

  पुण्य पी अधिकारी

‘राज्य प्रणाली प्रभावकारी नभएका कारण युवापुस्तामा राज्यप्रति अत्यधिक वितृष्णा छाएको छ ।’ भन्दा फरक नपर्ला । अझ भनौँ आमनागरिक नै राज्यप्रति वाक्क भएका छन् । धेरै नेपालीको मन देशको चिन्ताका कारण भारी भएको छ ।

देशको चिन्ताले सताइरहेका आम नेपालीलाई पछिल्लो समय क्रिकेटले भने सुखद समाचार दिएको छ । हरेक क्षेत्रबाट निराशाले गाँजिएका नेपालीलाई क्रिकेटमा नेपालले प्राप्त गरेको सफलताले भने आशावादी बनाएको छ । अझ भनौँ, नेपालको पहिचान विश्वभर छाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली राष्ट्रिय टिमले विगतका प्रतियोगितामा जीत मात्र हासिल गरेको छैन । नेपाल क्रिकेट प्रतियोगितामा क्षमतावान छ भन्ने सन्देश विश्वलाई दिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिया कप खेल्ने पाउने सुनिश्चितता गरेपछि मुख्य रूपमा क्रिकेटमा आगामी दिनमा उदयीमान राष्ट्र नेपाल हो भन्ने बलियो सन्देश भारतलाई दिएको छ ।

हरेक कुरामा निराशामा बाँचिरहेका नेपालीलाई खुसीको सञ्चार गराउने क्रिकेटका राष्ट्रिय टोलीका खेलाडीलाई वैशाख २६ गते विराटनगरमा गरिएको सम्मानले एउटा महत्वपूर्ण सन्देश विराटनगरले सिङ्गो देशलाई दिएको छ । खेल क्षेत्रका जानकार र राज्यको आधिकारिक निकायमा बसेर खेल राजनीति गर्नेहरूलाई नेपाल उद्योग वाणिज्य महासङ्घ, कोशी प्रदेश, उद्योग सङ्गठन मोरङ र मोरङ्ग व्यापार संघले खेलाडीलाई सम्मान गरी एउटा गतिलो जवाफ दिएको छ ।

खेलाडीको मासिक पारिश्रमिक १८ हजार रुपियाँ हुँदा खेलपदाधिकारीको तलव लाखमा हुने र खेलाडीको पसिनामा राजनीति गर्नेहरूलाई विराटनगरले खेलाडीलाई गरेको सम्मानले केही जवाफ पक्कै दिएको हुनुपर्छ । राष्ट्रिय टोलीका खेलाडीलाई नागरिकसँग प्रत्यक्ष साक्षात्कार हुने गरी विराटनगरमा गरिएको नगरपरिक्रमाले खेलाडीलाई मनोबल र हौसला पक्कै दिएको छ । खेलाडीप्रतिको यो हार्दिकता विराटनगरले सधैँ उच्च राख्न जरूरी छ ।

राष्ट्रिय क्रिकेटमा विराटनगरका खेलाडीको योगदान उच्च छ । तर, विराटनगरमा एउटा लायक क्रिकेट स्टेडियम भने हालसम्म निर्माण हुन सकेको छैन । फुटबल प्रतियोगिताका लागि सहिद रङ्गशालाले थोरबहुत इज्जत धानेकै छ । अब क्रिकेटको इज्जत विराटनगरले धान्नका लागि एउटा क्रिकेट रङ्गशालामा तीन ओटै सरकारको ध्यान जान जरूरी देखिन्छ ।

बिहिबार, २८ बैशाख, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर