श्रीमन्त भट्टराई
शिक्षा बुझेका अनि समाजसँग थोरै पनि चासो राख्ने व्यक्तिलाई मैले सोध्ने साझा प्रश्न– सार्वजनिक शिक्षा किन ध्वस्त छ ?
सन्तानलाई निजी विद्यालय पठाउने अभिभावक भन्छन्, ‘सरकारी विद्यालयमा पढाइ नै हुँदैन, छोराछोरी बिगार्नु छ र ?’ निजी पठाउने क्षमता नभएर सामुदायिक विद्यालय पठाइरहेका (नियमित भने पठाउन नसक्ने) अभिभावक भन्छन्, ‘पढेर के गर्नु ? ।’ राजनीति गर्ने नेता कार्यकर्तालाई सोध्दा उहाँहरुको सहज जवाफ छ, ‘सरकारी स्कुल ? मास्टरले पढाउने होइनन् । अनि ध्वस्त नभएर के होस् त ?’ अनुगमन गर्ने निकायलाई सोधियो भने, ‘खै, सरहरु पढाउनुहुन्न । भन्न पनि अप्ठ्यारो छ । कारबाही गर्ने दह्रीलो आधार हुँदैन ।’
अन्त्यमा, समाज रुपान्तरणको जिम्मा पाउनुभएका शिक्षकहरुलाई सोध्यो । मिठो लवजमा निधार खुम्च्याउँदै अधिकांशले रेडिमेट जवाफ दिनुहुन्छ, ‘दलित र सुकुम्बासी मात्र छन् । पढ पढ भन्यो, पढ्ने होइनन् । उनीहरुले पढेर पनि के गर्नु ?’
करिब ७ दशक पार गरेको ‘प्रजातन्त्र’ एक रातको सपनामा आयो । ध्वस्त भएको सार्वजनिक शिक्षाको सन्दर्भमा अरुलाई झैं मैले उसलाई पनि प्रश्न गरें । हिँड्न नसकेर लाठीको साहरा लिइरहेको उ थचक्कै भूँईमा बस्यो । एकाएक उसका आँखाबाट आँशुका धारा बगे । बोल्न सकेन । म पनि मौन भएँ । न प्रश्न थप्न सकें, न त कुनै भावना साटेर उसलाई फकाउन सकें । फुट्ने जमर्को गरेजस्तो देखिने कुपोषण लागेको भुँडी । सोच्न सक्ने मानवीय चेतनाको विकास हुन नसकेको सानो टाउको । खुट्टा पनि सानै, टेक्न सक्ने औकात भएन । कठै ! प्रजातन्त्र ।
अर्कोपटक गणतन्त्र आयो सपनामा । सानोमा उसलाई लोके लोके (लोकतन्त्र) भन्थ्यौं । दुई दशकको पुग्न लाग्दा कस्तो हलक्कै बढेछ । झण्डै नचिनिएको । बाटोमा एक्लै भेटेको भए त नचिन्ने निश्चित थियो । प्रजातन्त्रभन्दा धेरै फरक । वरिपरि मान्छे लिएर हिँड्ने भएछ । उसका त फ्यानहरु पनि कस्ता कस्ता । सबैभन्दा नजिकको मित्रको नाम ‘भ्रष्टाचारी’ रहेछ । ‘तस्कर’हरु उसको दोस्रा प्यारो साथी । ‘हत्यारा’, ‘कर छल्ने’, ‘दुई नम्बरी’ उसका सल्लाहकारहरुको नाम । न कहिल्यै सुनेको । न त कहिल्यै देखेको । सबैलाई हेर्छु । त्यो समय (क्रान्ति)का साथी त कोही पनि होइनन् । आँखा जुधाएर लामो समय हेर्न कसैसँग सकिन । भित्रबाट डर पलायो । ध्वस्त भएको सार्वजनिक शिक्षाको सन्दर्भमा प्रजातन्त्रलाई जस्तो सोध्ने हिम्मत नै आएन ।
हुन त, प्रजातन्त्रसँग मेरो खास उठबस् थिएन । व्यक्तिगत रुपमा मभन्दा धेरै सिनियर पनि । त्यो लोके (लोकतन्त्र) त मभन्दा थोरै जुनियर । साथी मान्थें म । त्यसलाई मैले नै हुर्काएको । सँगै खेलाएको । छुच्चो थियो । अधिकांश समय रिसाउँथ्यो । फकाउने मै हुन्थें । आमाले दिएको चकलेट आधा दिएन भने दुई दिन बोल्दैनथ्यो । म पनि माया गरेर थपक्कै दिन्थें । उसले चोरेर ल्याएको कोदोको रोटी सँगै बसेर खाएको हिजो जस्तो लाग्छ । साइँलाघरे काका (मुखिया बा)ले दाइजो नल्याएको भन्दै बुहारी कुट्दा गर्दा सँगै गएर पिटेका थियौं । त्यो पिटाइको प्रसङ्गले बुढा पछिसम्म मलाइ धम्क्याउन खोज्थे । पहुँचमा पुगेको गणतन्त्रको नाम लिन्थें म । फेरी मौन हुन्थे उनी । म मख्ख पर्थें ।
समाज परिवर्तनका लागि हामीले लामो समय सँगै विद्रोह गरेका थियौं । अधिकांश राम्रोका लागि गरियो । अन्जानमा केहीले नराम्रो परिणाम पनि दिए । तर, नियत नकारात्मक थिएन । ‘मुखिया बा’लाई हटाउने सन्दर्भमा हामीले ठूलो आन्दोलन गर्नुपरेको थियो । लोकतन्त्र र म सँगै मिलेर सिंगो गाउँलाई उठाएका थियौं । अधिकांश विचारका हतियारहरु प्रयोग भएका थिए, औजारका केही । गाउँको मुहार फेर्नुपर्ने सवालमा हामी चिन्तित थियौं । लोकतन्त्र आफू स्वयम् घोकन्ते शिक्षाको विरोध गथ्र्यो । शिक्षामा गुणस्तर भएन भनेर चिच्याउँथ्यो । भाषण गथ्र्यो । दिनप्रतिदिन जीर्ण बन्दै गएका सामुदायिक विद्यालयको सन्दर्भमा त लोकतन्त्र सबैभन्दा चिन्तित थियो । क्रान्ति सुरु हुनुअघि केही समय विद्यालयमा पढाउने काम गरेको उसले शैक्षिक गुणस्तर सुधारको लागि योजनाहरु ल्याउँछ र त्यसले अकल्पनीय परिवर्तन आउँछ जस्तो लाग्थ्यो । उसले ‘इस्यू’ बुझेको थियो ।
हेडमास्टरको खराब आचरणका कारण गाउँको एउटा विद्यालय ध्वस्त हुँदै गएको थियो । लोकतन्त्रले उनलाई विद्यालय भित्रै मोसो दल्ने धम्की दियो । समाजको मर्यादाक्रममा सबैभन्दा माथि रहने शिक्षकलाई मोसो दल्नु त्यति सान्दर्भिक नहोला कि जस्तो पनि लाग्यो । तर, वर्षौंदेखि विद्यालयमा बसेर विद्यालयको शिक्षा ध्वस्त बनाएर सयौं विद्यार्थीको भविष्य अन्धकार बनाउने व्यक्ति त सबैभन्दा ठूलो अपराधी हो । त्यसलाई किन छोड्ने ? म आफू पनि ‘कन्भिन्स’ भएँ । तर, धम्की पाएको एक हप्ताभित्रै बुढाले जागीर नै छोडेछन् ।
जागीर छोड्ने हेडसर लोकतन्त्रका आफ्नै काका थिए । त्यो समय हामी आफ्नो अर्काको भन्दा पनि ठीक बेठीक छुट्याउँथ्यौं । न्याय अन्यायको हिसाब हुन्थ्यो । आज हेर्छु, गाउँका सबै विद्यालयहरु ध्वस्त छन् । लोकेले नै नेतृत्व गरिरहेको सरकारको एउटा निकायले गाउँका ८५ प्रतिशत विद्यालय त विद्यार्थी जानकै लागि अनुपयुक्त छन् भन्ने तथ्यांक निकाल्यो । आखिर किन यस्तो भयो ? किनभने, आज विद्यालयमा गुरू होइन मास्टर छन् । मास्टर कस्ता छन् त ? मास्टर जागीर खाने, समय बिताउने अनि तलब पचाउन जान्ने छन् । हामीलाई जागीर खाने, समय बिताउने अनि तलब पचाउने मास्टर होइन, समाजको लागि आफू जलेर अरुलाई उज्यालो प्रदान गर्ने गुरू चाहिएको छ । यसो भनिरहँदा विद्यालय भित्र रहनुभएका सबैलाई गाली गर्न खोजेको त किमार्थ होइन । तर, यो भीडमा राम्राहरु हराउनुपरेको छ । अराजक र खराबहरुको जमात बढेको छ । विविध संघर्षका बाबजुत केहीले उदाहरणीय काम पनि गरिरहनुभएको छ ।
हिजो सानो दायरा थियो । आज समाज फराकिलो भयो । अब हाम्रो गाउँमै बसेर विश्वका कुनाकुना घुम्न सकिने भयो । प्रविधि बलियो हुँदै गयो । त्यो समय हामीले पढेका पाठ्यपुस्तकहरु यतिबेला फिक्का लाग्न थाले । अब पढाउने होइन, सिकाउने समय आयो । हिजो सीप र संस्कार समाजले सिकाउँथ्यो । विद्यालयले किताबी ज्ञान मात्र दिए हुन्थ्यो । अब समय पुरानो रहेन । पाठ्यपुस्तकमा सीमित मात्र जानकारी हुन थाले । ज्ञानका नयाँनयाँ स्रोतहरु भेटिए । समाजको स्वरुप पनि फेरीयो । संस्कार विहिन भयो समाज । सीपलाई लात हानियो, अंकलाई प्यारो बनाइयो । विद्यालयले पढाउन खोज्छ । निश्चित घेराभन्दा माथि जानै सक्दैन । सीमित ज्ञान भएको पुस्तक रटाउँछ । घोकाउँछ । विद्यार्थीलाई सफल र सक्षम बनाएँ भन्छ । औपचारिक शिक्षा सकिएपछि विद्यार्थी अपांगजस्तै हुन्छ । उसँग सीप पनि छैन । संस्कार पनि छैन । कता जाने त ? जीवनको गोरेटो नै छैन ।
आफूलाई फिटिक्कै चित्त बुझ्दैन । पटकपटक लेख्छु, ‘अबको शिक्षा पढाउने नभएर सिकाउने हुनुपर्यो ।’ हामीलाई अब पढाउने होइन सिकाउने शिक्षक चाहिएको छ । सिकाउने शिक्षक भेट्नुहुन्छ त ? कठै ! कता भेट्नु नि । नेता, कर्मचारी र पहुँचवालाका श्रीमती र उनीहरुका आसेपासेले जागिर खाने थलो बन्यो सार्वजनिक शिक्षा । समय कस्तो आयो त भन्दा, समय आफ्नो आफ्नो छान्ने आयो । बेठीक बेठीक छान्ने आयो । तपाई ठीक हुनुभयो भने तपाईँको अस्तित्व सकियो है । मान्नुस् । साँच्चिकै सकियो । शिक्षामा त्यस्तै हुन खोज्दैछ ।
यस्तै प्रसंगहरु लोकतन्त्रलाई भेटेर सुनाउन मन लाग्छ । ‘ओई लोके’ भनेर चिच्याउँ कि जस्तो लाग्छ । एकपटक बडो ठूलो हिम्मत बटुलेर प्रयत्न पनि गरें । लगत्तै उसको नजिकको मित्र (भ्रष्टचारी)ले मेरो कुममा समात्यो र तान्यो । भन्छ, ‘उहाँको समय छैन । मसँग कुरा गर्नुस् ।’ अधिकार गाउँगाउँमा पुग्यो । आफ्नो गाउँको शिक्षा कस्तो बनाउने भन्ने अधिकार गाउँले नै पायो । तर, हिजोको हाम्रो गाउँ पनि टुक्रिएको छ । केही घरहरु लिएर नयाँ चोकहरु बनाइएको छ । चोकचोकमा नयाँ पुस्ताले राज गर्न थालेका छन् । कस्का सन्तान ? त्यही के त, गणतन्त्रले अवैधानिक सम्बन्ध राखेको थियो नि ‘सार्वजनिक शिक्षा’सँग । हो, तिनैका । हिजो एउटा ‘मुखिया बा’लाई हटाइएको थियो । आज नयाँ नयाँ ‘मुखिया बा’ जन्मिए । हिजो एउटा मुखिया बाले सार्वजनिक शिक्षाको इज्जत लुट्नुभयो, आज गणतन्त्रका सयौं राजाहरुले ‘सार्वजनिक शिक्षा’को इज्जत लुट्दैछन् । छातीमा हात राखेर भन्नुपर्दा, मुखिया बाले सार्वजनिक शिक्षालाई ओतसम्म त दिनुभएको रहेछ ।
हेर्नुस् त, कस्तो दोधारमा छिन् ‘सार्वजनिक शिक्षा’ । न प्रजातन्त्रले आश्रय दियो, न लोकतन्त्र र गणतन्त्रले । उनले जन्माएका नयाँ सन्तानले पनि उनलाई सम्मान गर्न सकेनन् ।
मलाई छटपटी हुन्छ । भौतारिएर यताउता हिँड्छु । कहिले मेची त कहिले काली । हिमालको चुचुरोदेखि पहाडको समथर मैदानसम्म पुग्छु । जता जान्छु, जीर्ण अवस्थामा देख्छु उनलाई । व्यक्तिले प्राण त्याग्नु अघि पानी मागेजस्तै गरेर केही माग्दैछिन् उनी । अन्तिम अवस्थामा । फरिया फुस्किएको छ । चोली पनि ध्वजा ध्वजा भइसक्यो । भित्री वस्त्रमा पनि प्वाल नै प्वाल । शरीरका गोप्य अंगहरु लाज ढाक्न नसक्ने भएपछि लाजलाई पचाउन थालिसके । के गर्नु ? विकल्पै छैन ।
पत्याउनुभएन ? तपाईको नजिकमा भएको कुनै सार्वजनिक विद्यालयमा एकपटक जानुस् र हेर्नुस् त । अधिकांशमा खानेपानी र शौचालय छैन । जस्तापातामा आकाश छर्लङ्ङ देखिने प्वाल छ । बस्न खोज्नुस् । धूलाम्मे कक्षाकोठाहरु देख्नुहुन्छ । विद्यार्थीको ड्रेसले किनेदेखि पानी देख्न नपाएजस्तो लाग्छ । सरसफाइको कुरै नगरौं । भन्दैछु त, त्यो पठनपाठनको नाम नै नलिनुस् न । मास्टरसापहरु व्यस्त हुनुहुन्छ क्या । उहाँहरु भ्याउनुहुन्न । अँ, अधिकांशलाई पढाउन आउँदैन थाहा छ त, धेरै बेइजत नगरौं ।
सीप र संस्कार ? उहिल्यै स्वर्ग पुगे । अनि भाषा ? गणतन्त्रलाई घरकी श्रीमती सोझी भइन् रे । बोल्न पनि आएन रे । खाने, हिँड्ने ढंग पुगेन रे । सँगै लिएर हिँड्न लाज हुन थाल्यो रे । पल्लो घरकी भाउजु नै प्यारो लाग्न थालेछ । उसका साथीहरु पनि त्यही पल्ली घरकीलाई नै राम्री देख्छन् रे । गणतन्त्रको एउटा साथीले भन्दै थियो, ‘ढुक्कले निर्णय गर्नुस् हजुर (गणतन्त्र), अब भाउजु (नेपाली भाषा)लाई छोड्नुपर्छ ।’
लोकेको अघि पछि हिँड्ने केहीले विशेष योजना बनाएर अस्ति भर्खरै धर्म र संस्कारलाई गाउँ निकाला गरेका थिए । अब नेपाली भाषाको पालो रे । ठूलै योजना बन्दैछ रे । छिमेकी भाउजु (अंग्रेजी)लाई भित्रयाउने कुरा चल्न थाल्यो । म अलमलमा छु । कहाँ जाने, कसलाई भन्ने अनि कसरी बुझाउने ? बुझाउन पनि सक्छु कि सक्दिन होला । ओहो, शरीर नै काप्न थाल्यो । अब यस अघि कलम चलाउन पनि सक्दिन होला । शब्दहरुलाई बीट मानैपर्ने भयो । तर, मनमा अझै पनि गणतन्त्रसँग एकपटक भेटेर सबै बेलिविस्तार लगाउने इच्छा मरेको छैन । आशा छ उसले बुझ्छ । बुझ्नु पनि पर्छ ।
कसैले उसका आँखा छोपिदिए अनि कान थुनिदिए । अहिलेलाई उ अन्धो भयो होला, बहिरो भयो होला । तर उसका आँखा खुल्ला भएको दिन, कानले सुन्न थालेको दिन, उ पनि किमार्थ सार्वजनिक शिक्षाको यो हाल स्वीकार्न सक्दैन होला । मलाई अझै पनि विश्वास छ । किनभने, ‘सार्वजनिक शिक्षा’सँग उसको प्रगाढ सम्बन्ध छ । त्यो मलाई मात्र थाहा छ ।