कामना गर्दैमा आउला त समृद्धि ?

 गोकुल पराजुली

नयाँ वर्ष २०८० सालको शुभकामनाका सन्देशहरु सामाजिक सञ्जालहुँदी प्रसस्त छरिए । पुरानो साललाई बिदा गरेर नयाँ सालको स्वागतमा थरिथरीका सन्देशहरु प्रवाह गर्न सामाजिक सञ्जालको राम्रै उपयोग भयो । नयाँ वर्षको स्वागत र मित्रजनहरुलाई शुभकामनासँगै वर्षको पहिलो दिन भरबाट बाहिर निस्किएर घुमफिर गरेको, विभिन्न पक्वान र परिकार खाएको आदि तस्बिरहरुले पनि वैशाख १ गते फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालहरु भरिएको देखियो ।

सन्देशमा नयाँ वर्षको स्वागत गर्दै सुख, शान्ति र समृद्धिका कामनाहरु गरिएका भेटिए । तर, देशको खस्कँदो अवस्थालाई सुधार गर्न र अहिलेको युवा पुस्ताको जिम्मेवारी बोध गर्ने ढंगका सन्देशहरु भने सामाजिक सञ्जालमा बिरलै मात्र पढ्न, हेर्न र सुन्न पाइयो । हुँदै नभएका होइनन् थिए तर निकै कम संख्यामा । उद्यमशीलता र उत्पादनबीना केवल शव्दबाट समृद्धिको कामना गर्दैमा जो कोही समृद्ध बन्न सक्दैनन् । मुलुक पनि समृद्ध हुँदैन ।

अहिले हाम्रो देशको प्रमुख चुनौती भनेको उत्पादनको हो । आन्तरिक उत्पादन निरन्तर खस्किदै जाँदा हाम्रो अर्थतन्त्र निकै कमजोर भइसकेको छ । आयातमा आधारित राजश्व प्रणाली देशका लागी सिरानी माथिको तरबार झैं हुन्छ । सबै परिस्थिति ठिकठाक रहुन्जेल त चल्दै गर्छ तर कुनै विपत्ति वा अन्तर्राष्ट्रिय राजनीति वा परिस्थितिमा प्रतिकुलता हुने बित्तिकै कुनै बेला हाम्रोजस्तो अर्थतन्त्र क्षणमै संकटमा जानसक्छ । यस तर्फ सामाजिक सञ्जालमा रमाउने युवा पुस्ताले खासै ध्यान दिएको पाइएन । उनीहरुले अबको एउटा पुस्ताले स्वदेशमै उत्पादन गर्ने प्रण गरेनन् । बरु ब्यङ्ग्यकै रुपमा किन नहोस् वैदेशिक यात्राकै शुभकामना दिनेहरु बढी भेटिए ।

नेपालको कृषि उत्पादन कृषि विभागको तथ्यांकमा मात्र बढ्ने गरेको छ । वास्तविक रुपमा कुनै पनि वस्तुको उत्पादनमा उल्लेख्य वृद्धि भएको छैन । हाम्रा खेतीयोग्य जमिनहरु वर्षेनी घट्दै गएको छ । पहाडको कृषियोग्य जमिनसँगै मानव बसोबासको घनत्व पनि घट्दै गएको छ । जङ्गल र जङ्गली जनावर बढेर गएको देखिन्छ । यसले पहाडमा हुँदै कृषि उत्पादन घटाउन योगदान गरिरहेको छ भने तराई तथा काठमाण्डौ, पोखरा जस्ता उर्बर जमिन भएका उपत्यकाहरुमा बस्ती बाक्लिएको छ । त्यसले पनि कृषि उत्पादन घटाउनमै योगदान गरिरहेको छ । एकातिर कृषियोग्य जमिनमा घर तथा अन्य संरचना बन्ने अर्कातिर कृषियोग्य जमिन जङ्गलमा परिणत हुने दुरुह अवस्था छ । साना तथा घरेलु उद्योगहरु स्थापना गरेर स्वदेशी वस्तुको उत्पादन बढाउने तर्फ पनि युवा पुस्ताको खासै ध्यान गएको देखिदैन । सरकारको असहयोगका विरुद्ध युवाहरु संगठित हुने, संघर्ष गर्ने र आन्तरिक उत्पादन बढाउनका लागि दबाबसहितको आन्दोलन गर्ने वातावरण युवापुस्ताले सञ्चालन गर्न सक्छ । तर नयाँ वर्षको शुभकामना दिँदै गर्दा युवाहरुले पनि मुलुकको यस्तो परिस्थितिमा परिवर्तन ल्याउने तर्फ खासै सन्देश प्रवाह गर्न सकेनन् ।

यस पटकको नयाँ साल आरम्भ भएको दिन वैशाख १ गते युवा पङ्तिहरुबाट एउटा सन्देश भने राम्रैसँग प्रवाह भएको पाइयो । अधिकांश तन्नेरीहरु नयाँ वर्षका दिन घुमफिर गर्न गएछन् । त्यसले नेपालको आन्तरिक पर्यटनलाई बलियो बनाउन राम्रै योगदान गरेको छ । कृषि पछि नेपालको विकास तथा रोजगारी सिर्जना गर्ने क्षेत्र भनेकै पर्यटन हो । आन्तरिक पर्यटनको विकासले बाह्य पर्यटनको आधार तयार गर्छ । त्यसको वातावरण बनाउँछ । घुमफिर गर्ने बानी क्रमश विस्तार हुँदै गएपछि पहाडी डाँडाकाँडा तथा खाली हुँदै गएका बस्तिमा पनि आर्थिक उपार्जनको सम्भावना बलियो बनाउन मद्दत पुग्छ । जसले गर्दा हाम्रो ग्रामीण अर्थतन्त्रमा टेवा मात्र पुग्दैन देशको राजश्व आयमा वृद्धि हुनुका साथै उद्यमशीलता, स्वरोजगार र उत्पादन समेत बढ्न जान्छ । त्यसैले नयाँ वर्षमा नयाँ उत्पादनका लागि, उत्पादनको वातावरणका लागि वा पर्यटनको उन्नयनका लागि युवा पुस्तालाई प्रोत्साहित गर्ने सन्देशसहित शुभकामना दिउँ । मेरो पनि सबैलाई भावनासहित नयाँ वर्षको शुभकामना ।

आइतबार, ०३ बैशाख, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर