अनन्तराज न्यौपाने
यस पटकको रामनवमीमा मलाई शाहीकालको रामनवमीको सम्झना आयो । शाहीकालमा रामनवमीका दिन तत्कालीन उपप्रधानमन्त्री डा. तुलसी गिरीले त्यस वेलाका राजा ज्ञानेन्द्रलाई रामसँग तुलना गर्दै भाषण गरेका थिए । प्रतिनिधि सभाको पुनःस्थापना र निरङ्कुश राजतन्त्रको अन्त्यको आन्दोलनप्रति समर्थन जनाइरहेको मलाई डा.गिरीको त्यस भाषणले अत्यन्त उद्वेलित बनायो । मैले सहन सकिन । म त्यस वेला स्थानीय दर्शन दैनिकमा हप्ताको एक दिन ‘टक अफ द टाउन’ स्तम्भ लेख्ने गर्थेँ । मैले आफ्ना पालाको ‘टक अफ द टाउन’–का दिन रामनवमी र राजा ज्ञानेन्द्र शीर्षकमा लेख लेखेँ । लेखमा राजा रामले जनभावनाअनुरूप शासन गरेको चर्चा गरेँ । एउटा सामान्य धोबीले रावणहरणका कारण सीताको सतीत्वमाथि शङ्का गर्दा रामले सीतालाई नै त्यागेको उदाहरण दिँदै सारा नेपालीले ज्ञानेन्द्रको शासनको नियतमाथि शङ्का मात्र होइन मुखर भएर प्रश्न नै उठाइरहँदा किन शासन ओगटेर बसिरहन्छन् भन्ने प्रश्न गरेको थिएँ । त्यस लेखमा दशरथका चारै छोरा भ्रातृप्रेम र त्यागका अनुपम उदाहरण भएको वर्णन थियो । राजा रामले आफूले पाइसकेको राजगद्दी कसरी भरतलाई दिन तयार भए अनि भरतले पनि कसरी गद्दीमा रामका खराउ राखेर राज्य चलाए भन्ने उल्लेख थियो । यी उदाहरणको उल्लेख गरेर मैले राजा ज्ञानेन्द्रलाई वीरेन्द्रसहित उनको वंशको विनाशका लागि जनताले दोषी ठहर्याइरहेको टिप्पणी गरेको थिएँ । वीरेन्द्रको हत्या हुँदा र ज्ञानेन्द्रले गद्दी सम्हाल्दा उनका अनुहारमा रति पनि चिन्ताको भाव नभएको स्पष्ट पार्न खोजेको थिएँ । र, खै ज्ञानेन्द्रमा दशरथका चार छोराको जस्तो भ्रातृप्रेम भन्ने प्रश्न उठाएको थिएँ ।
यो लेख तत्कालीन सिडिओ दोलखबहादुर गुरुङले बिहानै पढेछन् । उनले तत्काल मलाई फोन गरेर तपाईंलाई अब थुनिदिन्छु भन्ने धम्की दिए । मैले ‘हुन्छ, स्वागत छ । म यसमा अभ्यस्त छु’ भन्ने जबाफ फर्काएँ । तर सिडिओ गुरुङले आफूले भनेबमोजिम पक्राउ गर्न सुरक्षाकर्मी पठाएनन् । पछि थाहा भयो, सिअिडो र एसपीको सल्लाह भएछ । सल्लाहमा पत्रकारलाई चलाएपछि झन् आन्दोलन बढ्नसक्छ, केही नगरूँ भन्ने निर्णय भएछ ।
भर्खरै मात्र रामनवमी सकिएको छ । अनि सुनसरीको सदरमुकाम इनरुवामा ज्ञानेन्द्रलाई अभिनन्दन गरिएको छ । म यति वेला १७–१८ वर्षअघि मैले लेखेको त्यही टिप्पणी सम्झिरहेको छु । राजाका शासनमा उनका बारे अलिकति पनि आलोचनात्मक कलम चलाउँदा कस्तोसम्म कारबाही भोग्नुपथ्र्यो भन्ने घटनाका साक्षी पत्रकारहरू अहिले पनि देशभरि ठुलो सङ्ख्यामा जिउँदै छन् । तर आफ्नै वंशको हत्यारा भएको दोष लागेको पूर्वराजाको अभिनन्दन गणतन्त्र र लोकतन्त्रमा गर्न पाइन्छ । लोकतन्त्रको सुन्दरता नै यही हो ।
हो, २०६२–६३ को उपलब्धिपछि पनि कुनै सरकारले जनतालाई राहत दिने काम गरेका छैनन् । सबै सरकारका सबै अंशियार र मतियारहरू नीतिगत भ्रष्टाचार, कमिसनखोरी, नातावाद र ब्रह्मलुटमा मस्त छन् । आर्थिक रूपमा देशको जर्जर हालत हुनुको एउटा कारण यो पनि हो । चुनावमा टिकटवितरणमा समेत पार्टीका नेताले आर्थिक चलखेल गर्छन् भने कस्तो खालको लोकतन्त्र यहाँ मौलाउँदै छ भन्ने प्रश्न गर्न कुनै अप्ठ्यारो छैन । तीन वटै सरकारमा बस्नेहरू अनुत्पादक विकासनिर्माण गरेर त्यसबाट छिटोभन्दा छिटो कमिसन कुम्ल्याउन नै लागिपरेका छन् ।
यी आदि कारणले जनतामा घोर निराशा छ । जनताले ठुला राजनीतिक पार्टीहरू विफल भइसकेको निष्कर्ष निकालिरहेको छ । यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले आफू बडामहारानी देखिने अतृप्त उत्कण्ठाबाट गरेका हरकत र पञ्चायती राजाकै शैलीमा सरकारको नीति तथा कार्यक्रमको भाषणमा मेरो सरकार भनेका कारण जनता चिढिनु अस्वाभाविक होइन । यसरी समकालीन राजनीतिप्रति बढ्दै गएको अत्यन्त वितृष्णाका कारण केही मान्छे राजाको बाटो हेरिरहेका छन् । उनीहरूले राजा फेरि शासनमा आए त राम्रै होला भन्ने सोचेका छन् । तर कटु यथार्थ के हो भने राजा शासनमा फर्किएर यो मुलुकको हित हुनेवाला छैन । लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र कदापि हुनसक्तैन । लोकतन्त्र र गणतन्त्र बिरामी भए यसको उपचार यही पद्धतिबाट खोजिनुपर्छ ।
मूल कुरा त, राजा ज्ञानेन्द्र एक शासक होइन व्यापारी हुन् । आफू शासनमा रहँदा पनि उनले आफूलाई आर्थिक लाभका धेरै कार्यक्रमहरू ल्याए । पञ्चायत कालदेखि नै उनलाई रकमको स्वाद र चस्का छ । पञ्चायत कालमा मूर्तिचोरी र ब्राउन सुगरको धन्धा सुरु गर्ने भूमिगत गिरोह नै थियो । भूमिगत गिरोह भन्ने नाम सूर्यबहादुर थापाले राखेका हुन् । यो गिरोहमा ज्ञानेन्द्र, धीरेन्द्र, शरद्चन्द्र शाह, चिरन, दामोदर आदि थिए । गिरिजाबाबुले एक दिन झोँकैझोँकमा ज्ञानेन्द्रलाई ‘सरकार तपाईंलाई पनि त मूर्तिचोर भनेर जनताले चिन्छन्’ भन्ने उत्तर फर्काएका थिए ।
त्यसैले ज्ञानेन्द्रका अभिनन्दनकारीहरूलाई लेखक के भन्न चाहन्छ भने लाग्ने नै हो भने एउटा राम्रो पृष्ठभूमि र इतिहास भएको व्यक्तिका पछि लाग । मूर्तिचोर र ब्राउन सुगरको कारोबारी भएको अभियोग लागेको र आफ्नै दाजुभाइ र उसको वंशविनाशको आरोप लागेको कलङ्कित व्यक्तिका पछि लाग्नु उचित होइन । आजका दिनमा आम जनताले राजनीतिक पार्टीलाई तत्काल सुध्रन चेतावनी दिनसक्नु पर्छ । अनि मूर्तिचोर, हत्यारा र लागु पदार्थको कारोबारी राजा चाहिँदैन भनेर ठाडै भन्नसक्नुपर्छ ।
दलहरु का दास पत्रकार मित्र ,
लेख मा लेखियेको भाषा र शब्द हरु को चयन ले लेखक कुन स्तरका पत्रकार हुन भनेर छुटयाउन पाठक लाई गाह्रो पर्दैन ! यसमा थप टिप्पणी को आबश्यकता महशुस गरिन !