र्‍यापिड टेष्मा कोरोना देखिएका ६ जनाको थप परीक्षण हुँदै

काठमाडौं । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)मा कोरोना पोजेटिभ देखिएका ६ जनाको बुधबार थप परीक्षण भइरहेको छ ।

काभ्रेका २, सप्तरीका २ तथा धादिङ, गोरखा र सप्तरीका १/१ जनामा मंगलबार गरिएको र्‍यापिड टेष्मा कोरोना संक्रमण देखिएपछि थप परीक्षण भइरहेको छ ।

यसअघि र्‍यापिड टेष्मा पोजेटिभ देखिएका काठमाडौंको सनसिटी अपार्टमेन्टमा तीन जनामध्ये २ जनामा कोरोना पुष्टि भइसकेको छ भने एक जनाको थप परीक्षण भइहरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एकै परिवारका तीन जनामा र्‍यापिड टेष्मा कोरोना देखिएपछि पीआरसी परीक्षण गरिएको थियो ।

भारतबाट चैत ९ गते आएको काभ्रेको बेथानचोक ५ च्यासिङखर्कका २८ वर्षीय युवकको आरडिटीका क्रममा कोरोना पोजेटिभ पाइएको छ । ती युवकलाई धुलिखेल अस्पतालमा राखिएको छ ।

यस्तै मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवकको मंगलबार आरडिटी परीक्षण हुँदा शंकास्पद नतिजा आएपछि धुलिखेल अस्पतालमै भर्ना गरिएको छ । उनी चैत ७ गते दुबईबाट फर्केका थिए।

उता धादिङका २७ वर्षीय एक पुरुषमा पनि कोरोना पोजेटिभ भेटिएको छ। ज्वालामुखी गाउँपालिका ३ स्थित मैदी स्वास्थ्यचौकीमा मंगलबार गरिएको आरडिटीले ती युवकमा कोरोना पोजेटिभ देखाएको हो। उनी गत फागुन २० गते दक्षिण कोरियाबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका थिए।

उता गोरखाको आरुघाट गाउँपालिकामा एक युवकमा पनि आरडिटीले कोरोना पोजेटिभ देखाएको छ। विदेशबाट फर्किएका २० जनाको आरडिटी गर्दा एक युवकमा कोरोना पोजेटिभ देखिएको हो। ती युवक चैत १ मा बहराइनबाट फर्केका थिए।

यसैगरी सप्तरीमा पनि दुईजनामा आरडिटीले कोरोना संक्रमण देखाएको छ। दिल्लीको निजामुद्दिनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका ८ जनामध्ये दुईजनाको संक्रमण देखिएको हो।

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख चुमनलाल दासका अनुसार सबैको थ्रोट स्वाब पिसिआर टेस्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान पठाइएको छ भने संक्रमण देखिएका दुवैजनालाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनीहरु गत मार्च ८ र ९मा नयाँदिल्लीको निजामुद्दिन मस्जिदमा आयोजित मर्कज (धार्मिक भेला)मा सहभागी भएर फर्किएका थिए । उनीहरु सबै घरमै बसेका थिए ।

सप्तरीका ८ जना जमातीमध्ये खड्ग नगरपालिकाका तीनजना, राजविराज नगरपालिका, सुरुंगा नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका एक/एक जना रहेका छन्।

बुधबार, ०३ बैशाख, २०७७, बिहानको ०८:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर