महेश्वर दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले देव गुरुङलाई उपाध्यक्ष बनाएर नयाँ पुस्ताका नेताहरुलाई महासचिवको नेतृत्व दिने धेरैको अनुमान थियो । तर, महासचिव पदमा देव गुरुङको चयनले धेरै आश्चर्यमा परेका छन् । यो आश्चर्य मान्ने बिषय भने होइन । बरु यस आश्चर्यभित्र माओवादी केन्द्रप्रति एक डाहभाव समेत देखिन्छ । माओवादी केन्द्रले देव गुरुङलाई महासचिव बनायो भनेर आश्चर्य मान्नेहरूले नै पदाधिकारीमा महिलाहरू खोई ? दलित खोई भन्ने हास्यास्पद आलोचना समेत गर्दैछन् ।
पार्टी–संगठनहरूमा समावेशी चरित्र त हुनैपर्छ तर कम्युनिष्ट नेतृत्व भनेको क्षमता र जनविश्वास हो । कमसेकम कम्युनिष्ट पार्टीमा केन्द्रीय समिति बाहेक पोलिट्व्युरो, स्थायी समिति र पदाधिकारीमा समेत निरपेक्ष समावेशिता खोज्नु युक्तिसंगत हुँदैन ।देव गुरुङ पुराना पुस्ताका वैचारिक नेता हुनुहुन्छ । चार दशकभन्दा बढी समयदेखि अविच्छिन्न पार्टी र कम्युनिस्ट आन्दोलनमा लागेको उहाँ एक अथक योद्धा हुनुहुन्छ । दैनन्दिनको संगठनात्मक उहापोहमा रमाउने स्वभाव उहाँको होइन । यसैले उहाँले महासचिव पदमा धेरै रुची र दाबी गर्नुभएको थिएन ।निसन्देह पार्टी र समाजको सन्तुलन माओवादी केन्द्रले नै मिलाउनु जरुरी छ । विविध मनोविज्ञान, प्रवृत्ति अनि अग्रगामी विचार, वलिदानीपूर्ण संघर्ष र योगदानको हिसाबले मूलधार रहेको माओवादीलाई संगठनात्मक र राजकीय हिसावले फेरि एक नम्बर बनाउनु पर्ने चुनौती थियो र छ ।
अध्यक्ष प्रचण्ड जत्तिको उचाइ समकालीन राजनीतिक नेतामा छैन । अग्रगामी विचार, वलिदानीपूर्ण संघर्ष र मुख्य नेतृत्वमा चुनौती वा प्रतिस्पर्धा नै नहुँदा पनि माओवादी केन्द्र संगठनात्मक र राजकीय प्रभावका दृष्टिले देशको तेस्रो शक्ति रहेको छ । यो विडम्बनापूर्ण हो । यसमा वाह्य पक्ष त दोषी पक्कै छ तर मुख्यतः माओवादी आफ्नै आन्तरिक कारणबाट समस्यामा छ ।
त्यसैले पछिल्ला दिनमा अध्यक्ष प्रचण्डबाट दूरगामी महत्व राख्ने महत्वपूर्ण कार्य भएका छन् । डा. बाबुराम भट्टराई र बामदेव गौतम नेतृत्वको पार्टीले हँसिया हथौडा चिन्हमा नै चुनाव लड्ने गरी सार्थक ध्रुवीकरण भएको छ । माधवकुमार नेपाल नेतृत्वको पार्टीसँग एकता संयोजन समिति बनाउने निर्णय भएको छ । र, पार्टी पदाधिकारीमा सबै ढंगले सन्तुलित पदाधिकारी टिम बनेको छ ।
माओवादी केन्द्रले कांग्रेससँगको चुनावी तालमेल, वाम पार्टीहरुबीचको रणनीतिक मोर्चा अनि पार्टीभित्रको सन्तुलित पदाधिकारी, नेतृत्व चयनले आगामी संघ र प्रदेशको निर्वाचनमा पार्टी र मोर्चाले सानदार जीत निकाल्ने प्रष्ट धरातल निर्माण भएको छ ।सबै प्रतिगामी र कुण्ठित तत्वहरू एकगठ भएर माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिविरुद्ध केन्द्रित भए पनि अध्यक्ष प्रचण्ड भने जोखिम उठाएर, राजनीतिक–आन्तरिक सन्तुलन निर्माण गरेर निर्वाचनको महासंग्राममा हेलिनुभएको देखिन्छ ।
राजनीतिमा उमेर हदको गोलमटोल आदर्श स्थापित गर्ने गरिन्छ । तर, प्रचण्ड जत्तिको नेतृत्व हुँदासम्म उमेर र राजनीतिक कौशलताको कुनै तुलना हुन सक्दैन । यो केवल सस्तो र चलिआएको नारामात्र हो । यो सुन्नमा मात्र आनन्द आउँछ । जनभावना र पार्टी भावनालाई समेट्नु नेतृत्व कौशलता हो । मुख्यतः जनताको भावना समेट्ने, वैज्ञानिक समाजवादी यात्रा सुनिश्चित गर्ने र पार्टी–संगठनलाई त्यही कम्युनिष्ट–बैचारिक मान्यतामा ढाल्ने ध्यानमा आजको माओवादी केन्द्र पूरै दत्तचित्त हुनु उल्लासको कुरा हो ।
जनभावनालाई कार्यक्रमिक प्रभावकारितामा पु¥याउन सबल संगठन चाहिन्छ । सफल संगठन चाहिन्छ । सफल संगठनका लागि सक्षम नेतृत्व चाहिन्छ । एक कुशल नेता बिना कुनै पनि पार्टी–संगठन प्रभावी हुनै सक्तैन । प्रचण्ड व्यावहारिक रूपमा नै अब उत्रिनु भएको देखिंदैछ । कम्युनिस्ट पार्टी, अझ क्रान्तिकारी कम्युनिस्ट पार्टी भनेको निर्दिष्ट लक्ष्यका लागि स्वयंसेवी चेतना हुन् । कुनै पनि संगठनको सफलतामा धेरै हदसम्म नेतृत्वको गुणले निर्धारण गर्दछ । विशेषगरी नेतृत्वले उत्कृष्ट व्यवस्थापन गर्न सक्यो भने, नेतृत्वले पार्टीको समग्र टिमलाई आत्मविश्वास र जोश पैदा ग¥यो भने लक्ष्य प्राप्तिका लागि सशक्त शक्ति बन्छ ।