जाबो मोही ! बजारमा खोई ?

  गोकुल पराजुली

मधेशको गर्मीमा चिसो पेय पदार्थको महत्व बयान गरिरहनै पर्दैन । गर्मीमा रापिएर आउनेहरुको पहिलो डिमाण्डनै चिसो हुन्छ । ‘खै चिसो पिउँ न’ वा ‘चिसो पानी छैन ?’ आदि । पानी माग्नेलाई मोही दिँदा त अमृत बराबर ठान्छन् । केही दिनयता गर्मी निकै बढेको छ । असार १५ पछि पूर्वी मधेशमा राम्ररी पानी परेको छैन । खेतमा धान सुक्न थालेको छ । मानिसहरु गर्मीले आकुल भएका छन् ।

‘भदौको घाम’को चर्चा आजमात्र होइन उहिलेका बुढापाकाले पनि चलाउदै आएका छन् । भदौको घाममा छाला सुकाउनु पर्छ भन्ने भनाइनै थियो । अचेल छाला सुकाउने गरिकै घाम चर्केको छ । यस्तो चर्को गर्मीमा मानिसको आँत कति हरहर हुन्छ हामीले भोगेकै छौं । गर्मीले हरहर भएकोबेला मोही पिउँदा औधी आनन्द आउँछ ।

बाल्यकालमा मोही अन्तिम छनौटको वस्तु थियो । दूध नभेटे दही, त्यो पनि नभेटेमा मात्र मोही खाने बाध्यतामा परिन्थ्यो । अहिले रहर लाग्दा पनि मोही खान नपाइने अवस्था आयो । यो चर्को गर्मीमा मोहीको सम्झना आउने अस्वभाविक पनि होइन ।आजभोलि बजारमा विभिन्न प्रकारका चिसो पेय पदार्थहरु पाइन्छ । तर ती वस्तुहरु स्वास्थ्यका दृष्टिले त्यति हितकर हुँदैनन् । महंगो पनि पर्छ । त्यसैले सकेसम्म चिसो पेयको रुपमा मोही खाने बानी गर्नेहरु बढेका छन् ।

केही समय अघि दुग्ध विकास संस्थानले चिसो पेयको रुपमा ‘फ्रेस मिल्क’ बजारमा ल्याएको थियो । अहिले फ्रेस मिल्कको उत्पादन विराटनगरमा बन्द छ । डिडिसीले पाउचमा मोही पनि बेच्ने गथ्र्यो प्रतिलिटर ५० रुपैयाँमा । दूध नबिकेपछि वस्तु विविधीकरण गर्ने भन्दै तीन चार वर्ष अघिबाट डिडिसीले यस्ता थुप्रै वस्तुहरु उत्पादन थालेको थियो । बजारमा दुई लिटरको जम्बो कोकाकोला वा स्प्राइटको मूल्य अचेल २६० रुपैयाँ पर्छ । त्यति पैसामा कमितमा ५ लिटर मोही आउँछ । यो मोही पिउनुको अर्को फाइदा पनि हो । तर के गर्नु अचेल बजारमा मोहीको अभाव छ । माग बढी भएर अभाव भएको होइन उत्पादन नभएर । डिडिसीलाई किसानले दूध बिक्री गर्नै छोडे । दूध नभएपछि मोही बनाउने कुरै भएन । मुस्किलले दैनिक १० हजार लिटर दूध संकलन गर्ने डिडिसीले दूधको माग धान्नै नसक्ने अवस्था आएपछि घ्यू बनाउनै छोडेको छ । घ्यू नबनाएपछि मोही बन्ने कुरै भएन ।

मंगलबार मोहीको खोजीमा दुई चार ठाउँ पुगें । बुढीगंगाको सीमानामा रहेको शिवम् डेरीमा प्रायः मोही पाइन्थ्यो । त्यहाँ पनि उस्तै समस्या रहेछ । बजारमा खोजेको धेरै वस्तु सहजै भेटिन्छ । तर अचेल मोही पाउन मुस्किल हुन थालेछ । हामी कृषिप्रधान देशका नागरिक हौं । हाम्रो प्रदेश दूध उत्पादनमा आत्मनिर्भर छ भनिन्छ । यी कुराहरु हो कि होइन मलाई थाहा भएन । तर बजारमा जाबो मोही त पाइदैन भने कस्तो कृषिप्रधान मुलुक । अनि कसरी दूध उत्पादनमा आत्मनिर्भर । गर्मीमा मोही पिउन नपाएर आँत भिजाउनै कठिन हुनुलाई आत्मनिर्भर भएको मानिन्छ भने भन्नु केही छैन ।

मङ्गलबार, ०७ भदौ, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर