गणेश लम्साल
प्रदेश १ सरकारले गौरबका आयोजना अन्तर्गत राखेर चार वर्षअघि निर्माण सुरु गरेको विराटनगरको पुष्पलाल चौकदेखि विराटचौकसम्मको सडकको स्तरोन्नती कार्य लगभग पुरा भएको छ । पूर्वपश्चिम लोकमार्गसँग सोझै प्रदेशको राजधानी विराटनगरसँग जोडिने यो सडक चार लेनमा विस्तार भएको छ । जम्मा २३ किलोमिटर दुरी रहेको यो सडक निर्माण सुरु भएपछि अब बैकल्पिक रुपमा उपयोग गर्न पनि सहज भएको छ ।
विराटचौक–घिनाघाट मार्गका रुपमा चिनिने यो सडकले पूर्वका जिल्लाहरुलाई प्रदेश राजधानी विराटनगरसँग जोड्दछ । प्रदेश सरकारले वैकल्पिक उपयोगका लागि गौरबका आयोजनामा राखेर दुईलेनको उबडखावड सडकलाई चारलेनमा स्तरोन्नती गराएको हो । यद्यपी स्रोत सुनिश्चता नहुँदा भुक्तानी समस्या र कोरोनाले गर्दा दुई वर्षमा निर्माण भइसक्नुपर्ने सडक सम्पन्न हुन लगभग चार वर्ष लागेको छ । अझै घिनाघाटको सिँघीया खोलामा फराकिलो नयाँ पुल निर्माण गर्ने काम बाँकी नै छ । तर, पनि लगभग कालोपत्रे गर्ने काम सकिएकोले अब यो सडक विराटनगरदेखि झोराहाट, नेताचौक, हरैचा, विराटचौक हुँदै पूर्व जाने निजी र सार्वजनिक सवारी साधनहरुलाई सहज र सुक्षित मार्ग बनेको छ ।
सडक निर्माणको कार्य लगभग सकिएपनि यो मार्ग हुनुपर्ने जति उपयोग हुन सकेको छैन । अझै यो मार्ग भएर सुरक्षित रुपमा निजी र सार्वजनिक यातायातहरु प्रशस्त कुदिरहेका छन् । अझै यो सडक ढुंगागिट्टी ओसार्ने ट्रिपरहरुका लागि मात्र सजिलो मार्ग बनिरहेको छ । यो रुटमा केही निजी सवारी बाहेक वर्षौदेखि विराटनगर–विराटचौक चल्दै आएका थोत्रा पुराना बसहरु मात्र कुदिरहेका छन् । जसले सडकको स्तरोन्नती भएपनि यात्रुहरुको यात्रा सहज र सुविधाजनक हुन सकेको छैन । यो रुटमा खै किन हो म्याजिक भेनहरु पनि उति चलेका छैनन् ।
सायद यो सडकको स्तरोन्ती भएको धेरैलाई थाहा नभएर पनि हुनसक्छ । अझै पनि एकदमै व्यस्त कोशी राजमार्गको विराटनगरदेखि दुहबी ईटहरी हुँदै पूर्वको दमक, विर्तामोड, भद्रपुर र काँकडभिट्टा जाने बाध्यता कायमै छ । जसले गर्दा यात्रुहरुले समय धेरै खर्चनु परिरहेको छ भने सडकको चापले गर्दा दुर्घटनाको जोखिममा पनि रहनु परिरहेको छ ।
मध्यदुरीका यात्रुवाहक बस व्यावसायीहरुले विराटचौक–घिनाघाट सडक प्रयोग गर्ने हो भने यात्राको समय छोट्टिने, यात्रा सुरक्षित हुने मात्र नभएर यात्रा गर्ने यात्रुहरुले पनि सुबिधा महशुस गर्नेथिए । किनभने विराटनगरबाट दमक, विर्तामोड, भद्रपुर र काँकडभिट्टा, इलाम, पाँचथर, ताप्जेजुङ जानेआउने यात्रुले इटहरी पुग्नैपर्ने बाध्यता किन भोग्नुपर्ने ?
विराटनगर विराटचौक मार्ग भएर मध्यदुरीमा पूर्वतर्फ चल्ने सवारीहरु मात्र नभएर विराटनगरबाट हरैचा–विराटचौक इटहरी हुँदै काठमाडौंलगायतका स्थानमा लामो दुरीका बस र हायसहरु पनि चल्न सक्छन् । किनभने यहाँको ग्रामिण क्षेत्र निक्कै फराकिलो छ । यदि विकल्पका रुपमा यो सडकलाई ‘रुट’ नै बनाएर प्रयोग गर्ने हो भने यहाँको ग्रामिण क्षेत्रको आर्थिक उन्नती र साना बजारहरुको सहरीकरणमा पनि ठूलो सहयोग पुग्नेछ । यसैले अब यात्रुहरुलाई सुविधाजनक, सुरक्षित र भरपर्दो यात्राको सेवा दिन चाहने नागरिक, सगरमाथालगायतका ठूला बस कम्पनीहरुले यो सडकलाई अब रुटकै रुपमा यो मार्गलाई प्रयोग गर्न ढिलाई गर्नहुदैन । बरु यसबारे यातायात व्यावसायी, स्थानीय पालिका, सांसद र प्रदेश सरकारले प्रयास थाल्नुपर्छ । यसो भएमा विराटनगर–इटहरी सडकखण्डमा हुने सवारीको अत्यधिक चाप घट्ने र दुर्घटनाको जोखिम पनि कम हुनेछ ।